Comments Add Comment

‘शारदासँग बिहे हुनुअघि कविता लेख्थेँ’

'लेखपढको बानी नभएको भए म फर्कन थिइँन होला'

२१ वैशाख, काठमाडौं । बिरामी भएर ओच्छ्यान परेको तीन वर्ष, तीन महिना र तीन दिनको दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले आफूद्वारा लिखित पुस्तक ‘गणतन्त्रको यात्रा’ विमोचन गरे । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको मृत्युपछि श्रद्धाञ्जली दिन पुगेका आचार्य हृदयघात भएर शोकसभामै ढलेका थिए ।

त्यसको तेस्रो वर्ष, तेस्रो महिना र तेस्रो दिन बुधवार पुस्तक बिमोचन गर्दा पनि उनी पुरै सञ्चो नभएको प्रस्ट देखिन्थ्यो । उनको शरीरको दाहिने भाग अझै राम्रोसँग चल्दैन । दाहिने हात पूर्णरुपमा असक्त छ भने दाहिने गोडाले भर दिँदैन । उनले बिमोचन गर्दा पनि उनले पुस्तक उठाएर दर्शकदीर्घातिर देखाउन सकेनन् ।

कृष्ण पहाडी, कृष्ण खनाल, देवेन्द्रराज पाण्डे र जीवनसंगीनी एवं लेखक शारदा शर्मासँग उभिँदा उनी निकै आत्मविश्वासी देखिन्थे । विमोचित साढे छ सय पृष्ठको पुस्तकमा शाही शासनकालमा उनले बिताएको बन्दी जीवनका दैनिकी उल्लेख छन् ।

कांग्रेस नेता आचार्यले त्रिभुवन विश्विद्यालयमा १८ वर्ष नेपाली साहित्य पढाए । ०४६ सालमा जनआन्दोलन हुँदा उनी प्राध्यापक संघका महासचिव थिए । प्रजातन्त्र स्थापनाका लागि पुर्‍याएको योगदानको कदर स्वरुप नेपाली कांग्रेसले राष्ट्रिय सभामा सदस्य बनाएपछि उनी मूलधारको राजनीतिमा पूर्णकालीन बने ।

बौद्धिक क्षेत्रबाट आचार्यको सुझावलाई पार्टीले पहिल्यैबाट गम्भीरतापूर्वक लिन्थ्यो । यो छविका कारण पार्टीमा उनले राम्रो प्रगति गरे । उनले महत्वपूर्ण मन्त्रालयहरु त सम्हाले नै सर्वशक्तिमान पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई नेतृत्वमा चुनौतीसमेत दिए । त्यसबाट उनी नेपाली कांग्रेसका आम कार्यकर्ताभन्दा फरक रहेको सन्देश पनि प्रवाह भयो ।

रोगबाट तंग्रिदै गर्दा उनले राजनीतिमा पुनः सक्रिय हुने संकेत पनि दिएका छन् । एक महिनाअघि पार्टी कार्यालय पुगेर उनले सभापति शेरबहादुर देउवालाई समयअनुसार परिवर्तन हुन सुझाव दिए ।

नेता आचार्यसँग उनको पुस्तकका विषयमा कुरा गर्दा राजनीतिक सक्रियताको कुरालाई पनि जोडियो ।

पार्टी सभापतिलाई समयअनुसार बदलिन सुझाब दिँदा कांग्रेसमा तपाईंको आलोचना भएको सुनियो नि ?

म मूलतः राजनीतिक प्राणी हुँ । निको भएपछि राजनीतिमै सक्रिय हुने हो । आलोचना गर्नेहरुले नकारात्मक रुपमै आलोचना गरेका हुन् भन्ने मलाई लाग्दैन । अझै आराम गरेर, पूरै निको भएर सक्रिय भए हुने भन्ने कामना पनि हुन सक्छ ।

राजनीतिमा आउँदा कतिपयले आफ्नो भाग खोसिने डर पालेका पो हुन् कि ?

मलाई त्यस्तो लाग्दैन । सबैले आफ्नो क्षमताले राजनीति गर्ने हो । मेरो बानी चाहीँ के छ भने पार्टी बैठकमा जाने वित्तिकै म चुप लागेर हाजिरी मात्रै बजाउँदिन । भरसक सामायिक टिप्पणी गर्छु, सुझाब राख्छु । त्यसबाट केही न केही तरङ्ग उठ्ने गर्छ । लामो समयपछि पार्टी कार्यालय गएकाले केही समाचार आउनु पनि स्वभाविक हो । यसलाई मैले सामान्य मानेको छु  ।

नेपाल गणतन्त्र बनेको छ, सन्तुष्ट हुनुहुन्छ नि ?

मैले सधैं विचारको राजनीति गरेँ । गणतन्त्र पनि विचार हो । मेरो पुस्तकको भूमिकामा प्राध्यपक कृष्ण खनालले लेख्नुभएको छ- ०४६ पछि काग्रेसको राजनीतिमा नरहरि एउटा नयाँ प्रयोग हो । समाज र पार्टी दुबै तहमा उहाँ नवीन विचारको मन्थन र प्रयोग गर्न कहिल्यै पछि पर्नुभएन । नरहरिजी आफैं पार्टी हाँक्ने नेतृत्व तहमा पुग्नुभएन तर उहाँले अघि सारेका गणतान्त्रिक विचार पार्टीमा स्थापित भएको छ । खनालको यो विचार मलाई सही लागेको छ ।

माओवादीका पुस्तक र भाषणहरुमा पनि नेपाल आफ्नो कारणले गणतन्त्र बनेको दाबी पाइन्छ । तपाईंले पनि पुस्तकमा आफूले मात्रै गणतन्त्रको कुरा उठाएको उल्लेख गर्नुभएको छ नि ?

कसैले गणतन्त्र हाम्रो मुद्दा थियो भन्छ भने भन्नलाई छुट छ, तर म त्यसो भन्दिनँ । गणतन्त्रमा कसको कस्तो योगदान छ भन्ने कुरा मैले स्पस्ट र बिना पूर्वाग्रही भएर लेखेको छु । तपाईंले पुस्तक पुरै नपढी टिप्पणी गर्न पाउनु हुन्न, कसैले पनि पाउँदैन ।

पुस्तक मोटो छ । सबै पाना पढेपछि कसको अडान के थियो सबै छर्लङ्ग हुन्छ । एक दशकदेखि यो डायरीको रुपमा सुरक्षित थियो । बिरामीबाट उठेपछि मलाई यसको सम्झना आयो र यसलाई प्रकाशन गर्नुपर्छ भन्ने लागेर प्रकाशन गरेको हुँ ।

यो पुस्तक पढ्दा विपी कोइरालाको ‘जेल जर्नल’ को सम्झना हुन्छ । त्यस्तै बनाउन खोज्नुभएको हो ?

बिपीको छाप पनि पर्‍यो होला, तर जेलमा बस्दा लेखिएका डायरीका प्रकृति यस्तै हुन्छन् । मैले मात्र होइन, अरुले लेख्दा पनि यस्तै हुन्छन् होला । यसमा ८० प्रतिशत राजनीतिक कुरा छ बाँकी घर-परिवार र समाज छन् ।

तपाईं पहिल्यैदेखि साहित्यिक मान्छे हो । लामो समय नेपाली साहित्य पढाउनु पनि भयो, तर साहित्यका पुस्तक कम लेख्नुभयो, किन होला ?

म दैनिक डायरी लेख्छु । तीमध्ये धेरैमा पुस्तक बनाउन योग्य विषयवस्तु छन् । तर, लेखेका सबै कुरा निकाल्नु पर्छ भन्ने छैन । मलाई तत्कालीन आवश्यकता अनसार पुस्तक प्रकाशन गर्नुपर्छ भन्ने लाग्छ ।

मैले लेखेका छवटा पुस्तकमध्ये चारवटा राजनीतिक छन् । ति नेपाली कांग्रेसमा लोकतन्त्र, संविधानसभा, नेपालको राजसंस्था र राज्य पुर्नसंरचनाका बिषयमा छन् । पार्टीमा सकृय रहेको बेला लेखिएकाले ति राजनीतिक भए । आवश्यकता भएर ती लेखिए र प्रकाशन भए ।

प्राध्यापन गर्दा समालोचनासम्बन्धी पुस्तक लेखेँ । महाकाब्यकार सोमनाथ र उनका साधना र परिशिलन शिक्षक जीवनका देन हुन् ।

कविता लेख्न चटक्क छाड्नुको कारण चाहिँ के होला ?

बाल संघठनको राष्ट्रब्यापी कविता प्रतियोगितामा म प्रथम भएको थिएँ । त्यसपछि पनि नियमित कविता लेख्थेँ, साहित्यिक पत्रिका सम्पादन गर्थे । १७  वर्षको हुँदा म ‘उन्मेश’ पत्रिकाको सम्पादक थिएँ । पत्रिकामा वालकृष्ण सम र पूर्णप्रकाश ब्राम्हणका कविता मागेर छापेको सम्झना छ । त्यसपछि ‘विवेक, ‘विन्दु’ र ‘भोलि’ को सम्पादक भएँ ।

शारदासँग विवाह हुनुअघिसम्म म खुब कविता लेख्थेँ । विवाह गरेर आउँदा उनले पनि माइतीका कोशेलीसँगै आफूले लेखेका कविताका ठेलीहरु पनि ल्याएकी रहिछन् । उनलाई आफूले लेखेको कविता ठीक छ कि छैन भन्ने लाग्दो रहेछ, तर देखाउने कोही थिएन । नेपाली साहित्यको शिक्षकसँग विवाह भएपछि एक दिन उनले लजाइ-लजाइ आफ्ना सिर्जनाहरु देखाइन् । ती कविता पढेपछि मलाई महसुस भयो, मलाई कविता लेख्न आउँदैन । त्यही दिनदेखि मैले कविता लेख्न छाडिदिएँ ।

फेरि, एउटा घरमा दुईजना कवि हुन आवश्यक पनि थिएन ।

१५ वर्षको उमेरदेखि थालेको डायरी लेखन चाही लतमा परिणत भयो । आफूले बाँचेको जीवन महसुस गर्न डायरी लेख्नुपर्छ भन्ने मान्यता भयो । अहिले मसँग विद्यार्थी जीवनका ६-७ वटा, प्राध्यापनकालका २-३ वटा र राजनीतिकालमा २५-२६ वटा डायरी छन् । ती सबैले मैले बाँचेका समयको बर्णन गर्छन् । तीमध्ये धेरैजसो प्रकाशन योग्य छन् । केही पुस्तक निस्कने सम्भावना पनि छ  ।

बिरामी भएर लेखपढ गर्न नसक्ने हुँदाका दिनहरुको अनुभव कस्तो रहृयो ?

दुई महिना निकै कठिन रह्यो । किनभने, मेरो अवस्था के हुने भन्ने मलगायत कसैलाई थाह भएन । शरीर नचले पनि पुस्तक पढ्न सक्ने भएपछि चाही राहत मिल्यो ।

बिरामी भएपछि पढेको पहिलो पुस्तक चन्द्रशमशेरको दैनिकी थियो । करिब सय पृष्ठको उक्त दैनिकी पढ्दा ममा पढेर पनि बाँच्न सक्छु भन्ने विश्वास पलायो । त्यो बेला बोली थिएन, तर पुस्तक पढ्दा पढ्दै म सस्वर वाचन गर्न सक्ने भएँ । शारदालाई पनि पढेर सुनाउँन थाले ।

अलि सञ्चो भएपछि थप उपचारका लागि भारतको केरला गयौं, आर्युवेदान्त अस्पतालमा । त्यहाँ ४२ दिन बस्दा पढ्ने भोक बढ्न थाल्यो । पुस्तक दोहोर्‍याएर पढ्दा पनि आनन्द लाग्यो । त्यसपछिका तीन वर्ष पढेरै बित्यो । सम्भवतः लेखपढ गर्ने बानी नभएको भए म यसरी फर्कने थिइँन ।

दाहिने हात नचल्दा दैनिकी लेख्ने बानी छुटेको हो ?

मानिसले चाहेपछि जसरी पनि आफ्नो रुची पूरा गर्छ । देब्रे हातले कम्प्युटरमा दैनिकी टाइप गर्न तीन महिना अभ्यास गरेपछि अहिले पुरानै लयमा आएको छु । अब डायरी पनि नियमित लेख्न थालेको छु ।

सक्रिय राजनीतिमा पनि र्फकनुभएको छ । यो ‘सक्रिय राजनीति’लाई कसरी बुझ्ने ?

सक्रिय राजनीति भनेको सांसद, मन्त्री हुने वा पार्टी सभापतिको दौडमा लाग्ने भन्ने होईन राजनीतिमा आफूले सक्ने योगदान गर्ने हो । यसको अर्थ म कुनै पद लिन्न भन्ने पनि होइन ।

फेरी म योजनाबद्ध काम गर्ने मानिस होइन । मैले नेपाली साहित्यको प्राध्यापक हुन्छु भनेर सोचेको थिइँन, तर नेपालीमा प्रथम श्रेणीमा प्रथम भएपछि स्वतः पढाउने जागीर हात लाग्यो । राजनीतिमा चासो भए पनि राजनीति गर्छु भन्ने कहिल्यै सोचिन, तर अचानक राष्ट्रियसभा सदस्य हुने भएपछि पढाउने जागीर छाडेँ । राजनीति गर्दा गर्दै मन्त्री पनि भइयो । यी उद्देश्यले प्राप्त भएका कुरा होइनन् ।

भोलिका दिनमा पनि म आफ्नो काम गर्दै जान्छु । तर, पदका लागि नै गर्दिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment