
२२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला जोड्ने कर्णाली करिडोरको पुल उद्घाटन गर्दैछन् ।
करिडोर अन्तर्गत निर्माण भएको खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निर्माणाधीन बेलिब्रिज उद्घाटन भएपछि हुम्ला जिल्ला औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुलको उद्घाटन गर्न जानुअघि आफू उत्साहित भएको बताएका छन् । उनले हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएपछि एक युवाले एआईमार्फत बनाएको भिडियो सामग्री सेयर गर्दै उत्साहित भएको उल्लेख गरेका छन् ।
‘आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ’, उनले लेखेका छन्, ‘यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ हुन्छ र हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ ।’
बाँकेको जमुनियाबाट हिल्सासम्म यो सडकको दूरी ५१० किलोमिटर रहेको छ । यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ । यसपछि वैदेशिक व्यापारलाई पनि सहयोग पुग्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।
२६ वर्षदेखि निर्माण भएपनि यो सडकले पूर्णता पाएको थिएन । यो पुल सञ्चालनमा आएसँगै सडक हुम्ला सदरमुकाम जोडिनेछ । र, सडक नजोडिएको एउटामात्रै हुम्ला जिल्लामा पनि राष्ट्र सडक सञ्जाल पुग्नेछ ।
प्रतिक्रिया 4