Comments Add Comment

यो झूठको पुलिन्दा, अहंकारको पुलिन्दा !

यो नेपाल सरकारको कार्यक्रम हो वा महामहिम राष्ट्रपतिज्यूको निजी सरकारको कार्यक्रम हो ? प्रश्न यहीँबाट सुरु हुन्छ । मैले प्रधानमन्त्रीलाई आग्रह गरेको छु- यो सरकारको नीति तथा कार्यक्रम हो भने राष्ट्रपतिलाई थप विवादमा फसाउने र यो संस्थाप्रति मानसम्मान घटाउने गरी यत्रो गम्भीर त्रुटी सरकारले किन गर्‍यो ?

जहाँसम्म नीति तथा कार्यक्रमको अरु विषय छ, यसको आधार भनेको संविधान हो, दिगो विकास लक्ष्य हो र १५ औं योजना हो । यसको परीक्षण गर्ने भनेको अघिल्लो वर्ष पेश भएको ४८ पृष्ठको नीति तथा कार्यक्रमका आधारमा हो ।

गत वर्ष सरकारले जेजे गर्छु भनेर संकल्प गर्‍यो, आश्वासन दियो, त्यसको आलोकमा यो वर्षभरि के कस्ता कार्यक्रम सम्पन्न भए भन्ने सन्दर्भमा सरकारले गरेको समीक्षा करिव २५ मिनेट गर्नुभयो । समीक्षा गर्दैगर्दा कहीँ पनि आत्मालोचना छैन । आत्मास्लागा छ, आत्म प्रशंसा छ । जनताले यो वर्ष सरकारको उपलब्धीबाट यति धेरै आनन्दित भएका छन् भन्ने भ्रम छ । जनता निराश भएको भन्ने भय छैन । भ्रम छ, भय छैन । अहंकार छ, आत्मप्रसंशा छ, आत्मसमीक्षा छैन ।

यसको अर्थ सरकारको दाबी हो, गएको वर्ष नेपाली जनताले राम राज्य देखिसके । राम राज्य देखिसकेको भनेको आगामी आर्थिक वर्ष रामले पनि नदेखेको राज्य देखाउँछौं भन्ने आश्वासन लिएर आएको छ ।

यो वर्ष मैले यो यो काम गरेँ तर, यो यो क्षेत्रमा गर्न सकिनँ भन्ने सन्दर्भमा जम्मा एक ठाउँमा त्यो पनि पुँजीगत खर्च मैले भनेको जस्तो गर्न सकिनँ । राष्ट्रिय गौरबको आयोजना समयमा सम्पन्न हुन सकेन भन्ने बाहेक कुनै पनि ठाउँमा एउटा पनि त्रुटी नभएको, समीक्षा गर्नुपर्ने ठाउँ नै नभएको भन्ने प्रस्तावनामा टेकेर नीति तथा कार्यक्रम प्रारम्भ भएको छ । यसले सही दिशामा पुर्‍याउन सक्दैन । नीति तथा कार्यक्रममा यति लामो भाषण गरिएको छ, यसले कहीँ पुर्‍याउने आधार भेटिँदैन ।

एकातिर जहाँ-जहाँ ठूलो उपलब्धी भएको छ, मेरो सरकारले गरेको काम भनेर दाबी गरेको छ, अघिल्ला सरकारहरुलाई सम्भिmएको छैन । संघीयताका सन्दर्भमा यो वर्ष यति धेरै फितलो वर्ष रहृयो । तर, संघीयता कार्यान्वयनमा कहाँ कमजोरी भयो र अब के सुधार गर्छु सरकार भन्दैन । यस्तो प्रत्येक क्षेत्रमा हेर्न सक्छौं ।

किनभने, अघिल्लो वर्षको नीति तथा कार्यक्रमसँगै राखेर विषयगत रुपमा टिपोट गर्दै थिएँ । वीचमा गएर टिपोट गर्न पनि छाडेँ । सरकारले अहिले कृषि बाली लगाउनुभन्दा पहिला नै न्यूनमत समर्थन मूल्य घोषणा गर्छु भन्यो । यो भन्दा अघिल्लो वर्ष भनेको किन पूरा गर्न सकेन, यो वर्ष त्यही दोहोर्‍याउँदै गर्दा के नयाँ गर्छु भनेन । यस्तो प्रत्येक क्षेत्रमा भन्न सक्छ ।

पछाडि जाँदा त सरकारले ५ वर्षको कुरा गरेको हो कि यो वर्षको कुरा गरेको हो, मेसो पाउन सक्दैनौं । ५ लाख रोजगारी सिर्जना गर्नु भनेको सरकारले गत वर्ष के भयो भन्दैन तर, पहिलो पटक नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्छ । यसले पनि सरकारले यो बेलामा निराश भएको नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता बढाएर आकषिर्त गर्छु भन्ने बुझेको छ । तर, मैले गल्ती कमजोरी गरेँ भन्ने मान्दैन ।

त्यसैले नीति तथा कार्यक्रमको गहिरो विश्लेषण पनि गर्नुपर्छ भन्ने लाग्दैन । यसमा नयाँ कुरा त केही छैन, पुरानो निरन्तरता नै रहृयो । सबैभन्दा ठूलो गएको वर्ष जुन-जुन नीति सरकारले अवलम्वन गर्‍यो, त्यसमा कुन सफल भयो । कुन क्षेत्रमा अपेक्षित परिणाम आएन, त्यसको आत्मालोचना गरिएन । पुरानो र नयाँ कार्यक्रमलाई मिसमास गरिएको छ, नयाँ नाराहरु राखिएको छ ।

त्यसैले यो झूठको पुलिन्दा भयो, अहंकारको पुलिन्दा, भ्रमको पुलिन्दा भयो, आश्वासनको पुलिन्दा भयो । यो खोक्रो छ । आधारहीन कार्यक्रमले हामीलाई कहिँ पनि पुर्‍याउँदैन । गएको वर्ष निराश बनाएको सरकारले गल्ती कमजोरी स्वीकार गरेर यो वर्ष आशाको सञ्चार गर्छ भन्ने आश थियो तर, नीति र कार्यक्रमले निराश बनाएको छ । बजेट हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment