+
+
Shares

वातावरण बने जन्मभूमिमा लगानी गर्न इच्छुक छौं : प्रवासी नेपाली व्यवसायी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको टेक्ससमा बस्ने नेपाली मूलका व्यवसायीहरूले स्वदेशमा लगानी गर्न अनुकूल वातावरणको माग गरेका छन्।
  • गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीले नेपालमा निर्धक्क लगानीका लागि सरकारी संवेदनशीलता आवश्यक रहेको बताउनुभयो।
  • उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीकर्ताको मनोबल उच्च राख्न सहजीकरण गर्न तयार रहेको उल्लेख गर्नुभयो।

९ कात्तिक, अमेरिका । अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका व्यवसायीहरूले अनुकूल वातावरण बने स्वदेशमा लगानी गर्न तयार रहेको बताएका छन् ।

जन्मभूमिको आर्थिक रुपान्तरणका लागि आफूहरु नेपालको उद्योग व्यवसायमा लगानी गर्न इच्छुक रहेको बताउँदै उनीहरूले लगानीमैत्री वातावरणका लागि सरकारसँग आग्रह गरेका छन् ।

अमेरिकाको डालसमा हिमालय खबर अनलाइनले गरेको ‘व्यापार तथा लगानी सम्मेलन २०२५’ सहभागी नेपाली मूलका व्यावसायीहरुले उक्त कुरा बताएका हुन् । देशको आर्थिक समृद्धिका लागि विदेशमा कमाएको पैसा लगानी गर्न तत्पर रहेको तर नीतिगत सहजीकरण आवश्यक रहेको उनीहरूको भनाइ छ ।

गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीले नेपालमा निर्धक्क लगानी गर्ने वातावरणका लागि सरकारी संवेदनशीलता आवश्यक रहेको बताए। ‘प्रतिफल सुरक्षासहित लगानी गर्ने वातावरणका लागि लामो समयदेखि डायस्पोरामा रहेका नेपालीहरुले आग्रह गर्दै आएका छौं’ सम्मेलनमा जोशीले भने ‘नेपालमा अहिले देखिएको उतारचढावको व्यवस्थापनसहित व्यापार व्यवसायका लागि चाँडै नै आशाको सञ्चार हुने हाम्रो विश्वास छ ।’

अर्का व्यवसायी बासुदेव भण्डारीले नेपालमा लगानी तथा व्यवसायको वातावरण सहज नभएको बताए। उनले लगानीको वातावरणका लागि निजी क्षेत्रले समेत सहजीकरण गर्नुपर्ने बताए।

टेक्ससका विभिन्न स्थानबाट सम्मेलनमा सहभागी नेपाली समुदायका व्यवसायीहरुले स्वदेशमा लगानीका लागि देखिएका कानुनी अड्चनको अन्त्य, लगानी र व्यवसायको सुरक्षाका लागि आग्रह गरेका छन् ।

सम्मेलनका मुख्य वक्ता उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका बारेमा नकारात्मक धारणा बन्दै गएको भएपनि प्रचुर सम्भावनालाई नर्कान नमिल्ने बताए । उनले लगानीकर्ताको मनोबल उच्च राख्न आवश्यक रहेको भन्दै आफूहरु सहजीकरण गर्न तयार रहेको बताए ।

पछिल्लो जेनजी आन्दोलनका कारण पुगेको क्षतिका कारण उद्योगी व्यवसायीको मनोबल खस्केको उल्लेख गर्दै ढकालले उद्योग व्यवसायमा भौतिक क्षति पुर्‍याउने र लुटपाट गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आफूहरुको स्पष्ट माग रहेको उल्लेख गरे ।

उनले नेपालको पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि उपयुक्त रहेकाले डायस्पोरा समुदायलाई ती क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

टेक्ससस्थित नेपाल सरकारका वाणिज्यदूत प्रविण भट्टराईले लगानीको वातावरण निर्माण गर्ने कुरामा आफूहरु प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?