+
+
Shares

इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

‘हामीले ट्राभल एडभाइजरी जारी गरेर सम्भव भएसम्म सुरक्षित स्थानमा लाग्नुस् भनेका छौं । यो भन्दैमा फेरि असुरक्षित तरिकाले हिँड्न पनि भएन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते ९:५३

१९ माघ, काठमाडौं । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गरेर इरानमा रहेका नेपालीलाई तत्काल सुरक्षित स्थानमा जान भनेको छ । साथै इरान जाने तयारीमा रहेकाहरुलाई पनि यात्रा स्थगित गर्न भनेको छ ।

यसै सन्दर्भमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीसँग अनलाइनखबरले कुरा गरेको छ ।

इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला नेपाल सरकारले ट्राभल एडभाइजरी जारी गरेर इरान छाड्न भन्यो । इरानको पछिल्लो अवस्थाबारे तपाईंहरुको विश्लेषण के हो ?

इरानमा तनावको अवस्था छ कि छैन भन्ने भन्दा पनि हामीले हाम्रो नागरिकको सुरक्षालाई मध्यनजर राखेर ट्राभल एडभाइजरी जारी गरेका हौं, त्यहाँको कुनै सूचना प्राप्त गरेको हिसाबले होइन ।

अलिकति सुरक्षात्मक उपाय अनुसार हामीले ट्राभल एडभाइजरी जारी गरेका हौं । त्यहाँ के हुन्छ, कसो हुन्छ भन्दा पनि आफ्ना नागरिकहरु सुरक्षित होउन् भन्ने राष्ट्रको दायित्वको हिसाबले एडभाइजरी जारी गरेर सुरक्षित हुनुस् भन्ने हो । त्यहाँ रहेका नेपालीहरुको सुरक्षा नै सबैभन्दा ठूलो विषय भयो ।

इरानमा कति छन् नेपाली ? हाल उनीहरुको अवस्था कस्तो छ ?

हाम्रो जानकारीमा आएअनुसार इरानमा १० जना नेपालीहरु हुनुहुन्छ । अहिलेसम्म सबै सकुशल हुनुहुन्छ । उहाँहरु सबै हाम्रो सम्पर्कमा हुनुहुन्छ । उहाँहरु दशैजना एकअर्कामा जोडिनु पनि भएको छ ।

हामीले ट्राभल एडभाइजरी जारी गरेर सम्भव भएसम्म सुरक्षित स्थानमा लाग्नुस् भनेका छौं । यो भन्दैमा फेरि असुरक्षित तरिकाले हिँड्न पनि भएन ।

तपाईंहरुको यो कुरामा इरानमा रहेका नेपालीहरु के भन्नुहुन्छ ?

उहाँहरुले हामी अहिलेसम्म सुरक्षित नै छौं, सरकारले जारी गरेको सूचना, एडभाइजरी फलो गर्छौं र हामी हाम्रो व्यवस्थापन गर्दैछौं भन्नुभएको छ ।

उहाँहरु वैध हो कि अवैध तरिकाले जानु भएको हो ? अहिले इरानको कुन ठाउँमा हुनुहुन्छ ?

उहाँहरु लिगल्ली (वैध) तरिकाले नै बसिरहनु भएको छ । इरानको अन्त होइन, तेहरानमै हुनुहुन्छ । अघिल्लो पटकको लडाइँ हुँदाखेरि केही नेपालीहरु जेलमा पनि हुनुहुन्थ्यो । अहिले चाहिँ त्यस्तो छैन ।

उहाँहरु केको सिलसिलामा इरान जानु भएको हो ? महिला-बालबालिकाहरु पनि छन् कि ?

उहाँहरु कामको सिलसिलामा जानु भएको हो । उहाँहरुमध्ये एक-एक फेमिलीसहित पनि हुनुहुन्छ । अरु चाहिँ इन्डिभिजुअली हुनुहुन्छ ।

उहाँहरु सुरक्षित ठाउँमा जाने भनेको कहाँ हो ? कसले समन्वय गर्छ ?

खासगरी कतारमा रहेको हाम्रो नेपाली राजदूतावासले नै इरानलाई पनि हेर्छ । त्यो भाको हुनाले नजिक, सरल, सहज जता पहुँच छ त्यता जानुहुन्छ । हवाई सम्पर्कको हिसाबले वा जलमार्गको हिसाबले गल्फ कन्ट्री नै नजिक हुन्छ ।

तपाईंहरुले इरान नजान पनि सल्लाह दिनु भएको छ । यताबाट त्यता जाने तयारीमा पनि कोही हुनुहुन्थ्यो ?

त्यो त स्पष्ट जानकारी भएन । अध्यागमन कानुन नियमहरु थोरै परिवर्तित छन् । अग्रिम जानकारी गराउने सिस्टम पनि छैन । तर पनि हामीले कोही जाँदै हुनुहुन्छ भने नजानु होला भनेर केही हप्ता अगाडि नै जानकारी गराइसकेका थियौं । यसपालि जान लागेको विषयमा हामीलाई त्यस्तो जानकारी त छैन तर कोही जान लागेको अवस्था हो भने यात्रा स्थगित गर्न सल्लाह दिन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?