+
+
Shares

‘प्रवासी नेपाली’ अमेरिकामा मैले देखेको अवसाद र एक्लोपनको कथा : निर्देशक क्षेत्री

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते २१:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'प्रवासी जीवन'ले प्रवासी नेपालीको संघर्ष, मानसिक स्वास्थ्य र पहिचानलाई केन्द्रमा राखेको छ।
  • निर्देशक श्याम क्षेत्रीले आफूलाई नेपाली संस्कारसँग जोडिएको र विदेशमा नेपालीपनको अर्थ गहिरो महसुस भएको बताए।
  • फिल्म १५ फागुनदेखि नेपालभर प्रदर्शन हुने र राजेश हमाललगायत कलाकारको सहभागिता रहेको छ।

काठमाडौँ । नेपाली फिल्ममा मनोरञ्जनसँगै समाजका गहिरा यथार्थ उजागर गर्ने कथा विरलै आउँछन् । विदेश जाने सपनाभित्र लुकेको यथार्थ, मानसिक स्वास्थ्यको मौन पीडा र नेपालीपनको खोजलाई एउटै कथामा समेटिएको फिल्म ‘प्रवासी जीवन’ त्यस्तै एउटा प्रयास हो ।

नेपाली भाषी कलाकार श्याम क्षेत्रीको परिकल्पना, निर्देशन तथा अभिनयमा बनेको फिल्मले प्रवासी नेपालीको संघर्ष, पहिचान र मानसिक अवस्थालाई केन्द्रमा राखेको छ । अमेरिकामा बसोबास गर्दै आएका निर्देशक क्षेत्री शरणार्थी शिविरमा हुर्किएका हुन् ।

कानुनी रूपमा नेपाली नागरिकता नभए पनि उनले आफूलाई नेपाली संस्कार, भाषा र संस्कृतिसँग गहिरो रूपमा जोडिएको बताउँछन् । ‘म भुटानी मूलको नेपाली भाषी हुँ । मेरो जन्म झापामै भयो, शरणार्थी शिविरमा हुर्किएँ । वैधानिक रूपमा नेपाली नागरिकता नभए पनि म आफूलाई नेपाली नै मान्छु’, क्षेत्रीले भने ।

अमेरिकामा पुनस्र्थापित भएपछि पनि उनले नेपालीपन नछाडेको र त्यही भावनाले कलाकारितातर्फ आकर्षित भएको बताए । ‘विदेशमा रहँदा नेपाली हुनुको अर्थ अझ गहिरो महसुस भयो । कलाकारितामा करिअर बनाउने सोचले अन्ततः फिल्म निर्माणसम्म आइपुगेँ’, उनले भने ।

क्षेत्रीका अनुसार प्रवासमा बसेर कला क्षेत्रमा सक्रिय रहनु चुनौतीपूर्ण हुन्छ । समय, आर्थिक जिम्मेवारी र कामको चापबीच सिर्जनात्मक काम गर्नु कठिन भए पनि सपनालाई जीवित राख्न सकिने विश्वास उनले व्यक्त गरे । फिल्म ‘प्रवासी जीवन’मा उनले अभिनयसँगै निर्देशनको जिम्मेवारी पनि सम्हालेका छन् ।

फिल्ममा उनले मानसिक स्वास्थ्य समस्याबाट ग्रसित पात्रको भूमिका निर्वाह गरेका छन् । नेपालबाट ठूलो सपना बोकेर अमेरिका पुगेको युवाको कथा फिल्मले प्रस्तुत गर्छ । नयाँ परिवेश, भाषा, संस्कृति र एक्लोपनले मानिसलाई मानसिक रूपमा कसरी कमजोर बनाउँछ र त्यसबाट बाहिर निस्कने संघर्ष कस्तो हुन्छ भन्ने कथालाई फिल्मको मुख्य विषय बनाइएको छ ।

क्षेत्रीका अनुसार नेपालमा बस्ने तथा विदेश जाने सोच बनाइरहेका दुवै वर्गका दर्शकका लागि यो फिल्म महत्वपूर्ण छ । ‘विदेश जाने सोच बनाइरहेका युवाले यो फिल्म हेर्नुपर्छ । प्रवासमा रहेका नेपालीले हेरे भने आफ्नै कथा देखेजस्तो अनुभूति हुनेछ’, उनले भने ।

मानसिक स्वास्थ्यलाई मुख्य विषय बनाउनुको कारण आफ्नै अनुभव भएको उनले बताए । अमेरिकामा १७ वर्षको बसाइमा अवसाद, आत्महत्या र एक्लोपनका धेरै घटना देखेपछि यस विषयमा कथा भन्नैपर्छ भन्ने महसुस भएको उनको भनाइ छ ।

फिल्ममा अभिनेता राजेश हमाललगायत कलाकारको सहभागिता छ । हमालले कुनै सर्तविना प्रवासी नेपालीको संघर्षको कथा बुझेर परियोजनामा साथ दिएको क्षेत्रीले बताए । भविष्यमा पनि नयाँ स्क्रिप्ट लेखिरहेको र नयाँ परियोजनाको तयारीमा रहेको उनले जानकारी दिए ।

निर्देशक तथा कलाकार क्षेत्रीका अनुसार ‘प्रवासी जीवन’ केवल एक फिल्म होइन, हजारौँ प्रवासी नेपालीको साझा अनुभवको सिनेम्याटिक अभिव्यक्ति हो । विदेश जाने सपना, मानसिक स्वास्थ्य र नेपाली पहिचानजस्ता प्रश्न उठाउँदै दर्शकलाई सोच्न बाध्य पार्ने उद्देश्य फिल्मको रहेको उनले बताए ।

१५ फागुनदेखि नेपालभर प्रदर्शन हुने उक्त फिल्ममा नेपालबाट आफ्नो उज्वल भविष्य र स्थायित्वका लागि अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने संघर्षको कथा यसमा छ । फिल्मलाई क्षेत्रीसँगै राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

उनले भने, ‘प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ । हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौँ तर मानसिक रुपमा भोहिरहेको यातनालाई बेवास्ता गर्ने गरेका छौँ । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौँ ।’

फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।

‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको फिल्ममा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन् ।

अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेसनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेका हुन् । ‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ फिल्म निर्माण गरेका छायांकार रविन आचार्यले यस फिल्मलाई निर्माण गरेका हुन् ।

पटकथा तथा संवाद क्षेत्रीले नै तयार गरेका हुन् । यसमा अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्वसङ्गीत, देवी खतिवडाले श्रृंगार, राज शङ्कर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले सङ्गीत सिर्जना, मुख्य सहायक निर्देशन लक्ष्मण अधिकारीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?