Comments Add Comment

‘मेरो सरकार’ भन्ने शब्दले नीति तथा कार्यक्रम ओझेलमा !

२० वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्द पटक–पटक प्रयोग गरिन् । यही शब्दका कारण नीति तथा कार्यक्रममाथिको प्रतिक्रिया पनि विषयान्तर भएको छ ।

नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिलाई थप विवादमा फसाउने र संस्थाप्रतिको मान सम्मान घटाउने गरी सरकारले गम्भीर त्रुटि गरेको बताए । नेकपा सांसद सुरेन्द्र पाण्डेले पनि ‘मेरो’ भन्ने शब्दमा नेपाल सरकार भनिदिएको भए हुन्थ्यो’ भने ।

‘मेरो सरकार’ संविधान र जनताको सम्मान राख्दैन : कांग्रेस

नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै देउवाले आश्वासनको पुलिन्दामात्र भएको बताए । प्रमुख सचेतक बालकृष्ण खाँडले राष्ट्रपतिले ‘मेरो सरकार’ शब्द प्रयोग गरेकोमा आपत्ति जनाए । ‘मेरो सरकार भन्नुले संविधान र जनताका प्रति सम्मान रहेन’, उनले भने, यसलाई सच्याएर नेपाल सरकार या हाम्रो सरकार भन्नुपर्दछ ।’

नीति र कार्यक्रम जनतालाई राहत पुर्याउने भन्दा पनि नेकपाको चुनावी घोषणा पत्र जस्तो भएको उनले टिप्पणी गरे ।

कांग्रेसका सांसद गगन थापाले ‘मेरो सरकार’ शब्द प्रयोगले राष्ट्रपतिलाई विवादमा पार्ने बताए । ‘राष्ट्रपतिजीलाई थप विवादमा फसाउने र संस्थाप्रतिको मान सम्मान घटाउने गरी गम्भीर त्रुटी सरकारले किन गर्यो ?’ उनले प्रश्न गरे ।

सरकारले नीति तथा कार्यक्रम ल्याउँदा अघिल्लो वर्षको समीक्षा नगरेको थापाले बताए । ‘जनताले यो वर्ष यति धेरै सरकारबाट आनन्दित भएका छन् भन्ने बारेमा ठूलो भ्रम छ । अहंकार छ । भय छैन । आफ्नो प्रशंसा छ । आत्मसमीक्षा कहिँ पनि छैन’ उनले भने ।

नीति तथा कार्यक्रम यथार्थमा आधारित नभएको पनि थापाले बताए । ‘गएको वर्ष १० प्रतिशत आर्थिक बृद्धि गर्छु भनेको थियो । तर, त्यो खुम्चियो । फेरि आगामी बर्ष दोहोरो आर्थिक बृद्धि गर्छु भन्यो तर, आधार दिइएन’ उनले भने ‘त्यसकारण यो झुटको, अहंकारको, भ्रमको पुलिन्दा भयो । यो खोक्रो छ ।’

सुन्दर निबन्ध प्रस्तुत भयो : बाबुराम भट्टराई

नयाँ शक्ति नेपालका सांयोजक बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने सुन्दर निबन्धको संज्ञा दिए । ‘सुन्दर निबन्ध छ । कर्णमधुर छ । लय मिलेको छ । जस्तो, बारीका पाटा खेत गरा र हामी बनाउछौं हराभरा’ उनले भने ।

उनले अघि भने ‘हामीले खोजेको सुशासन र समृद्धिको फड्कोको अपेक्षा गरेको हो । यस्तो गरिन्छ, उसो गरिन्छ भन्ने त सुनेकै हो । राम्रो लेखकले लेख्न सक्छ । तर, नयाँ कुरा आएन । भ्रष्टाचार नियन्त्रण नगरेसम्म विकास गर्न सकिन्न । यसलाई रोक्ने आधार छैन ।’

आज विचित्रको भाषा प्रयोग भएको छ : कर्ण

राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले पनि नीति तथा कार्यक्रममाथिको टिप्पणी भन्दा पनि राष्ट्रपतिले मेरो सरकार भनेकोमा नै असन्तुष्टि बढ्ता पोखे ।
‘राष्ट्रपतिको भाषणमा मेरो सरकार भन्दाखेरि फेरि राजा बन्न खोज्या देखिन्छ । यो सरकार राष्ट्रपतिको सरकार होइन । संसदको सरकार हो । जनताको सरकार हो’, उनले थपे, ‘ यसलाई मेरो सरकार मेरो सरकार भनेर आज एउटा बडा बिचित्रको भाषा प्रयोग भएको छ ।’

सरकारले नीति तथा कार्यक्रममा सामान्य विषय राखे पनि त्यसैलाई पनि कार्यान्वयन गर्न नसकेको बताए । ‘झिनामसिना कार्यक्रम ल्याएको छ । जुन कुरा यो सरकारले बोले पनि गर्दैन । सक्दैन ।’

विकासले फड्को मार्छ : सत्तारुढ

सत्तारुढ दलका सांसदहरुले भने आगामी वर्ष विकासको गति फड्को मार्ने गरी सरकारको नीति तथा कार्यक्रम आएको दाबी गरेका छन् । केही सत्तारुढ नेकपाका सांसदहरुले पनि राष्ट्रपतिले मेरो सरकार भनेकोमा असन्तुष्टि ब्यक्त गरे ।

नेकपाका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे प्रस्तुत नीति तथा कार्यक्रम नीतिगत कुरा मात्रै भएको हो बजेटले यसलाई पुष्टि गर्ने बताए । राष्ट्रपतिले मेरो सरकार शब्द प्रयोग गरेमा भने उनले पनि असन्तुष्टि ब्यक्त गरे । ‘मेरो नभनेर नेपाल सरकार भनिदिएको भए हुन्थ्यो । पहिला श्री ५ को सरकार भन्ने हुन्थ्यो । श्री पाँचको सरकार भएको हुनाले मेरो सरकार भनेको हो । अहिले राष्ट्रपतिको सरकार पनि हुँदैन । नेपाल सरकार भनेको भए ठिक हुनथ्यो भनने लाग्छ’ उनले भने ।

सत्तारुढ नेकपाकै सांसद योगेश भट्टराईले आगामी वर्ष विकासको गति फड्को मार्ने गरी सरकारको नीति तथा कार्यक्रम आएको दाबी गरे । ‘कार्यक्रममा पनि प्रष्ट भनिएको छ । यो चालु बर्ष आर्थिक समृद्धिको आधार बर्ष हो र आउने बर्ष विकासको गति फड्को मार्नेछ । त्यसकारण अघिल्लो वर्षको नीति तथा कार्यक्रमको विकशित रुप नै अहिलेको नीति तथा कार्याक्रम हो’ भट्टराईले भने ।

महिला तथा बालबालिकामन्त्री थममाया थापाले पहिले भन्दा धेरै विषय समेटिएर सरकारको नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिइन् ।

सरकारले गणतन्त्रमा सामन्तबाद प्रवेश गरायो : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपतिले मेरो सरकार भनेर गणतन्त्रमा सामन्तबाद प्रवेश गराएको आरोप लगाए । ‘मेरो सरकार भनेर गणतन्त्रमा सामन्तबाद प्रवेश गरायो ।’ उनको प्रतिक्रिया थियो ।

सरकारको नीति तथा कार्यक्रम काठमाडौं केन्द्रित भएको उनले बताए ।‘विकास काठमाडौंमा केन्द्रित हुने खालको कुरा आएको छ । जोत्नेलाई जमिन दिने कुरा आएन । युवाहरु विदेशिएकालाई स्वदेश फकाउने विषय आएको छैन् । मंहगी घटाउने कुरा पनि आएको छैन । शिक्षा निशुल्क हुने कुरा पनि आएन’ उनले भने ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment