
२५ वैशाख, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बैंकरहरूको मनोमानीले बैंकहरू अस्तव्यस्त भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बैंकरहरूको लुटको मनोमानीले आज बैंकरहरू अस्तव्यस्त भएको छ,’ उनले भने, ‘एकातिर आम जनताले कर्जा पाइरहेको छैन र अर्कोतिर बैंकमा पैसा थुप्रिएको छ ।’
तरलता प्रशोधनको नाममा राष्ट्रबैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको उनको भनाइ छ । जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसाबाट बैंकलाई ब्याज दिनुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
सरकारले गर्भनर समेत नियुक्त गर्न नसकेकोमा उनले खबरदारी गरे । सत्तारुढ पार्टीहरूको आन्तरिक द्वन्द्वका कारण गर्भनर नियुक्त हुन नसकेको भनेर टिप्पणी भइराखेको पनि उनले स्मरण गराए । यस्तो परिस्थितिले देशको अर्थतन्त्रलाई असर गर्ने उनको भनाइ छ ।
अर्थतन्त्र सुधार गर्न बैंकिङ अवस्थामा समेत सुधार आउन आवश्यक रहेको बताएका सांसद साहले बैंकरहरूले विदेशमा पैसा लाने गरेको आरोपसमेत लगाए ।
ब्याज र सेवा शुल्कका नाममा बैंकले आफूखुसी निर्णय लिने गरेको बताए । एउटा बैंकको वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्दा झण्डै १२ रुपैया लाग्ने गरेको भन्दै उनले यस्तो कार्य बन्द गरिनुपर्ने माग गरे ।
प्रतिक्रिया 4