+
+
Shares

भारत र पाकिस्तानलाई संयम अपनाउन जनमोर्चाको आग्रह

आणविक शक्ति राष्ट्रबीचको युद्धले मानवजातिलाई विनाशको बाटोमा लैजाने भन्दै राष्ट्रिय जनमोर्चाले भारत र पाकिस्तानलाई संवादबाट समाधान खोज्न आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १३:१२
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी । फाइल फोटो ।

२६ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानबीचको बढ्दो तनावले मानवजातिलाई विनाशको बाटोमा लैजान सक्ने भन्दै संयम अपनाउन आग्रह गरेको छ ।

भारत र पाकिस्तानबीचको तनाव बढ्दै गएर युद्धमा परिणत भए आणविक अस्त्रहरूको प्रयोगको खतरा बढ्ने र त्यसले मानवजातिलाई विनाशको बाटोमा लैजाने जनमोर्चाको भनाइ छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै आपसी मतभेद र विवादलाई परस्परमा छलफल र संवादबाट टुंग्याउन दुवै देशलाई आग्रह गरेका छन् ।

साथै, जनमोर्चाले तनाव अन्त्यका लागि पहल गर्न संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय संघ–संस्थाहरूको ध्यानाकर्षण गराएको छ ।

‘भारत र पाकिस्तान दुवै आणविक शक्ति सम्पन्न राष्ट्र हुन् र उनीहरू बिचको युद्धमा आणविक अस्त्रहरूको प्रयोग भएमा त्यसले मानवजातिलाई विनाशको बाटोमा लैजाने छ,’ जनमोर्चाले भनेको छ, ‘त्यस प्रकारको परिस्थिति आउन नदिन आपसी मतभेद र विवादका विषयलाई दुवै देशले परस्परमा छलफल गरेर टुुंग्याउनुपर्दछ र त्यसका लागि हामीले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय संघ संस्थाहरूको समेत ध्यान आकर्षित गर्न चाहन्छौं ।’

जनमोर्चाले जम्मु–कश्मीरको पहलगाममा २६ जनाको ज्यान लिने गरी भएको घटनालाई आतंकवादी घटना भन्दै त्यसपछि भारतले गरेको कारबाहीले कयौं निर्दोष महिला, बालबालिका र जनताको हत्या भएको दावी गरेको छ ।

पहलगाम हत्याकाण्डको नाममा कुनै देशमाथि आक्रमण गर्नु र युद्धको लागि स्थिति तयार पार्नु कुनै पनि अवस्थामा सही हुन नसक्ने जनमोर्चाको भनाइ छ ।

‘पहलगामको घटना निश्चय पनि आतंकवादी घटना हो र त्यसमा निरपराध जनताको हत्या भएको छ । हामीले उक्त कारबाहीको तीब्र शब्दमा विरोध र भर्त्सना गर्दछौं । र अहिले भारतद्वारा त्यसका विरुद्ध भएको कारबाहीबाट कैयौं निर्दोष महिला, बालकालिका र जनताको हत्या भएको छ । निर्दोष जनताको हत्या हुने गरी भारतद्वारा गरिएको उक्त कारबाहीलाई न्यायसंगतत मान्न सकिन्न र हामीले त्यस प्रकारको कारबाहीको विरोध गर्दछौं,’ जनमोर्चाले भनेको छ ।

पहलगाम आक्रमणपछि भारतद्वारा पाकिस्तानका विभिन्न स्थानहरूमा सैनिक आक्रमण गरिएको विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै जनमोर्चाले दुवै देश बिचको युद्धले ती देशहरूमा गम्भीर क्षति पुर्‍याउने र त्यसको प्रभाव पूरै दक्षिण एसिया र विश्वमा पनि पर्ने चेतावनी दिएको छ ।

विज्ञप्तिमा जनमोर्चाले कश्मीरका जनताले लामो समयदेखि जनमत संग्रहद्वारा आफ्नो भाग्यको फैसला गर्ने आत्मनिर्णयको अधिकारका लागि संघर्ष गर्दै आएको भन्दै त्यस सम्बन्धमा भारत र पाकिस्तानले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सम्झौता गरे तर पछि भारतले सम्झौता अस्वीकार गरी काश्मिरमा अधिकार जमाएकोले त्यहाँ अशान्तिको अवस्था रहेको जिकिर गरेको छ ।

कश्मीरका जनताको अधिकारको संघर्षको सम्मान गर्ने जनाउँदै जनमोर्चाले उनीहरूले उठाउँदै आएको न्यायपूर्ण मागको समस्या समाधान गर्ने तर्फ कदम उठाउनु सबैभन्दा राम्रो हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?