Comments Add Comment

छापामा आज : नीति तथा कार्यक्रममाथि छलफल गर्न नेकपा सांसदलाई रोक

उपेन्द्रलाई कार्यकारी अध्यक्ष स्वीकार्न बाबुराम तयार

२२ वैशाख, काठमाडौं । सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रम र फोरम–नयाँ शक्ति एकताको विषय आजका सबैजसो दैनिक पत्रिकाहरुको प्राथमिकतामा परेको छ । त्यस्तै, सार्वजनिक जग्गा दुरुपयोग, शेर्पा समूदायको घट्दो हिमाल प्रेम, संसद्को बेथितिलगायत विषयलाई पनि आजका दैनिक पत्रिकाहरुले स्थान दिएका छन् ।

अन्नपूर्णले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन नेकपाले आफ्ना सांसदहरुलाई रोक लगाएको लेखेको छ ।

नेकपाको शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममा प्रयोग भएका भाषा र तथ्यंकबारे छलफल गर्न पाउनुपर्ने माग गरेका थिए । संसद्मा उठेका प्रश्नको जवाफ सरकारका तर्फबाट दिनुपर्ने माग उनीहरुको थियो । तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङले समय अभाव देखाउँदै छलफलमा रोक लगाएको समाचारमा उल्लेख छ ।

राष्ट्रपतिबाट शुक्रबार संसद् बैठकमा प्रयुक्त ‘मेरो सरकार’ पदावली प्रयोगको प्रधानमन्त्री ओलीले बचाउ गरेका छन् । अन्नपूर्णका अनुसार, ओलीले सरकार राष्ट्रपतिको भएको भन्दै अध्ययन नपुगेर आलोचना भएको प्रतिक्रिया दिएका छन् ।
नेपाली सेनाले सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको अर्को खबर पनि अन्नपूर्णमा छ ।

सार्वजनिक जग्गा अतिक्रमणको विषयलाई कान्तिपुरले आज मुख्य समाचारका रुपमा प्रस्तुत गरेको छ । कान्तिपुरका अनुसार, अदालतले नै खोलाको जग्गा व्यक्तिको नाममा दर्ता गराएको छ । भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि–१६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको हो । भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दायाँबायाँको १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा ललितपुर इमाडोलका ज्ञानबहादुर थापाका नाममा छुट दर्ता गरिदिन भूमिसुधार कार्यालय भक्तपुरलाई आदेश दिएको समाचारमा उल्लेख छ ।

त्यस्तै, फोरम–नयाँ शक्ति एकता सोमबार हुन लागेकोलाई पनि कान्तिपुरले प्राथमिकताका साथ कभरेज गरेको छ । समाचार अनुसार, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले उपेन्द्र यादवलाई पार्टीको कार्यकारी अध्यक्ष स्वीकार्ने भएका छन् । पार्टीमा शक्तिशाली संघीय परिषद् बनाउने र त्यसको अध्यक्षमा भट्टराई रहने कान्तिपुरको समाचारमा लेखिएको छ ।

नागरिकले भेरी–बबई डाइभर्सन नमूना बन्न लागेको लेखेको छ । फोरन–नयाँ शक्ति एकता र राष्ट्रपतिले प्रयोग गरेको पदावलीबारे प्रधानमन्त्रीले दिएको स्पष्टीकरणलाई पनि नागरिकले छापेको छ ।

नयाँ पत्रिकाले नेपालको जनसंख्याभन्दा पनि धेरै जमिनका टुक्रा रहेको लेखेको छ । समाचचार अनुसार २ करोड ९० लाख जनसंख्या भएको नेपालको भूमि तीन करोड ६३ लाख टुक्रामा कित्ताकाट भएको छ ।

चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुझ्दै आएको सप्रमाण नयाँ पत्रिकाले छापेको छ ।

गोरखापत्रले सडक छिट्टै भत्कनुको कारण खोजेको छ भने आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकमा हिमालसँग शेर्पा टाढिएकोबारे एक खोजमूलक सामग्री छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment