२२ वैशाख, काठमाडौं । लामो समयदेखि ओरालो झरिरहेको नेपालको सेयर बजार नयाँ वर्ष लागेसँगै अप्रत्याशितरुपमा रंगीन बन्यो । तीन हप्ताको अवधिमा दुई सय अंकको उछाल आएपछि लगानीकर्ताहरु पुनः जुर्मुराउन थालेका छन् ।
तर, यो उछाल कति दिगो होला त ? सबैको चासो यसैमा छ । तीन हप्ता उकालो चढेको बजार मंगलबारबाट फेरि खस्किन थाल्यो । बजार किन बढ्यो र किन घट्यो भन्ने ‘क्लीयरकट’ उत्तर विश्लेषकसँग पनि छैन । फेरि, नेपालमा सेयर विश्लेषकहरुको भविष्यवाणी पटक-पटक फेल खाएको अवस्था छ ।
त्यसैले अब बजार कुन दिशामा जाला भन्नेमा लगानीकर्ता अन्योलमा परेका छन् । बजार बढ्छ कि भन्ने आशाले उनीहरु आफूसँग भएको सेयर बेच्न हिच्किचाइरहेका छन् भने आरालो लाग्छ कि भन्ने पिरले सेयर खरिद गर्न चाहनेहरु पनि रोकिएको अवस्था छ ।
पछिल्लो तीन हप्तामा लगानीकर्ताको प्रमुख आकर्षण बैंकिङ क्षेत्रमा देखिएको थियो । बजार बढेर ३१ सयको बिन्दुमा पुग्ने भनेर केही लगानीकर्ताहरुले सार्वजनिक रुपमै भविष्यवाणी गर्नु र बैंकहरुको बिग मर्जर हल्ला ब्यापक हुनुले सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
यसै सन्दर्भमा सेयर बजारको वर्तमान अवस्था के हो भनी हामीले यस क्षेत्रमा लामो अनुभव बटुलेका ठूला लगानीकर्ता, सेयर बजारका चिन्तक र विश्लेषकसँग कुराकानी गरेका छौं ।
बजार हिमालको उचाइमा
– अम्बिका प्रसाद पौडेल, सेयर बजारका जानकार
अहिलेको सेयर बजारको गतिलाई प्राकृतिक रुपमा विश्लेषण गरिनु पर्छ । सेयर बजार सधैं बढ्दैन र सधैं घट्दैन पनि । यो एउटै बिन्दुमा बसिरहँदैन पनि ।
करिब एक वर्षदेखि सेयर बजार ११ सय देखि १२ सय बिन्दुको वरिपरी घुमिरहृयो । प्राकृतिक रुपमा बजार कि तल कि माथि जानै पर्दथ्थो । तर पूँजीबजारका सूचकहरुले सेयर बजार तल्लो बिन्दुमा जाने संकेत गरेका थिएनन् । सूचीकृत कम्पनीहरुको कार्यप्रगति विवरण राम्रो आएका छन् । अहिलेको सेयर बजारलाई म हिमालको उचाइ मान्छु ।
उकालो चढ्दै फर्केर फेरि बेसक्याम्पमा झर्दै र फेरि अग्लो शिखरतर्फ लाग्ने सिलसिला बजारमा देखिएको छ । तत्काल ओरालो लागेको बजारको अवस्था भनेको लगानी गर्ने मौका हो । अबको बजारको भविष्य उज्ज्वल छ ।
लगानीकर्ता होसियार भएर लगानी गर्नुपर्छ । अरुको लहैलहैमा लागेर भन्दा पनि कम्पनीको सम्पूर्ण वित्तीय अवस्था बुझेर मात्रै लगानी गर्नु पर्दछ ।
वर्षको तेस्रो त्रैमासिक रिपोर्ट हेर्दा वाणिज्य बैंकहरुमा गरिने लगानी सुरक्षित छ जस्तो मलाई लाग्छ । लगानीकर्ताहरुले पूँजीबजार सुधारका लागि राखेका मागहरु पनि सम्बोधन भएका छन् यसले पनि बजारमा सकारात्मक संकेतहरु देखिन थालेका छन्. ।
करेक्सनको क्रममा छ
– छोटेलाल रौनियार, अध्यक्ष, इन्भेष्टर फोरम
नयाँ वर्षयता दुई सय अंकको वृद्धि देखिएको बजार पुनः करेक्सनको अवस्थामा छ । यो करेक्सन बजार अझै उचालिने संकेत हो । लगातार तीन वर्षसम्म बजार नकारात्मक भई राख्दा पनि लगानीकर्ताले धैर्यता देखाए । देशमा लगानीको वातावरण बढेको छ । आर्थिक वृद्धिको प्रक्षेपण सुखद छ । बैंकको ब्याजदरमा देखिएको प्रतिस्पर्धा केही हदसम्म समाधान भएको छ ।
हकप्रद, बोनस र आईपीओको बाढी, केही हदसम्म खासगरी हकप्रदको बाढी रोकिएको छ । नियमक निकाय अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्से पनि बजारको समस्या समाधान गर्न सकारात्मक देखिएका छन् । केही समस्या समाधान गर्नका लागि नियामक निकाय आफैं लागेका छन् ।
लगानीकर्ताले लामो समयदेखि उठाएको बजार सुधारका मागहरु चरणबद्ध रुपमा समाधान उन्मूख देखिएका छन् । अनलाइन सयर कारोबारको प्राविधिक झण्झट बिस्तारै हटेर गएका छन् । नयाँ वर्ष शुुभारम्भसँगै १ अर्बको कारोबार हुनु भनेको बजारप्रति लगानीकर्ताको विश्वास बढेको भनेर बुझ्नु पर्छ ।
बैंकलाई ब्रोकर लाइसेन्सको कार्यान्वयन पनि भएको छ । यो अझै ब्यापक बनाउन जरुरी देखिन्छ । सरकारको पूँजीगत खर्च बढेको कारणले तरलता अभाव देखिएको छैन । सरकारले अब नीति तथा कार्यक्रम र बजेटमार्फत पूँजीबजार सुधारका लागि काम थाल्नेमा लगानीकर्ता आशावादी छन् । त्यसैले पनि सेयर बजार सकारात्मक छ ।
साना लगानीकर्ता होसियार बन्नुपर्छ
– राधा पोख्रेल, अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ
अहिले बजार बढ्ने सिजन नै हो । बजारमा तरलता अभाव नहुनु, सरकारले पूँतजीगत खर्च बढाउनु, बैंकहरुको ब्याजदरमा प्रतिस्पर्धा नदेखिनु र कम्पनीहरुको तेस्रो त्रैमासिक रिपोर्ट सकारात्मक देखिनु बजार बढ्नुका कारण हुन् । पूँजीबजार सुधारका लागि लगानीकर्ताले उठाएका माग पूरा गर्न सरकारले सकारात्मक पहल थालेकाले पनि बजारमा राम्रा संकेतहरु देखिएका छन् ।
बजार बढ्दो अवस्थामा रहँदा साना लगानीकर्ता भने होसियार बन्नु पर्छ । खासगरी ठूला लगानीकर्ताले हल्ला पिटेर साना लगानीकर्तालाई महंगोमा सेयर किनाउने प्रचलन यहाँ बढ्दो छ ।
अब आउने बजेटले पनि सेयर बजारलाई राम्ररी सम्बोधन गर्छ भन्ने आशा लगानीकर्तामा देखिएको छ । मन्त्रीहरुले पनि आईपीओमा लगानी गरेर सेयर बजारप्रति सकारात्मक धारणा सृजना गरिदिएका छन् ।
लगानीकर्ता परिपक्व बनेका छन्
– ध्रुव तिमल्सिना, कार्यकारी अधिकृत, सिद्धार्थ क्यापिटल
बजार घट्यो या बढ्यो भनेर हेर्नेभन्दा पनि आफ्नो लगानी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा लगानीकर्ताले सोच्ने बेला आएको छ । दोस्रो त्रैमासमा पनि राम्रै प्रगति गरेका बैंकहरु थिए । त्यतिबेला बजार बढेन, तर अहिले फेरि बजार दुई सय अंकले उचालिनु भनेको लगानीकर्ताको मनोबल सेयर बजारमा कस्तो रहेछ भन्ने हो ।
अब बजारमा ओरालो बाटो छैन भन्ने मानसिकता नेपालको शेयर बजारमा देखिएको छ । दुई सय अंकले बढेको बजारमा केही अंकको गिरावट जोखिमको संकेत होइन । तर अझै ओरालो लागेको खण्डमा भने सचेत रहनु पर्छ ।
बैंक नै नेपाली सेयर बजारको मुख्य सूचक रहेका कारण केही नकारात्मक समाचारले पनि बजारमा तत्काल समस्या पारिदिन सक्छ । अहिलेको बजार नियमित प्रक्रिया हो, लगानीकर्ताले राम्रो अध्ययन गरेर लगानी गर्नु पर्ने हुन्छ ।
बजारमा सेयर किन्ने र बेच्नेहरु आशावादी देखिएका कारण पनि बजारमा राम्रो संकेत दखिएकोे छ । लगानीकर्ताहरु बुझेर मात्रै लगानी गर्ने परिपक्व बनेका छन् । यसले बजारको स्थायीत्वलाई संकेत गर्छ । सरकारको नीति तथा कार्यक्रम र बजेटका कुरा लगानीकर्ताले कुरेका छन् ।
केही वर्षदेखि बजारमा नाफा कमाउन नसकिरहेका लगानीकर्ताहरुले दुई सय अंकको उछालमा केही नाफा बुक गर्न चाहेका हुन् जसले गर्दा बजार केही ओरालो लागेको हो ।
सुखद संकेतहरु देखिएका छन्
– डा. चन्द्रमणि अधिकारी, सेयर विश्लेषक
सेयर बजार मनोवैज्ञानिक विषय हो जस्तो लाग्छ । पूँजीबजारबारे जानकार लगानीकर्ताको कमीले गर्दा मानिसहरु पर्ख र हेरको अवस्थामा छन् । सीमित व्यक्ति र समूहको धारणाले बजारलाई प्रभावित बनाइराखेको कुरा सत्य हो ।
बिस्तारै सरकारी संयन्त्र र लगानीकर्ताहरु परिपक्व बन्दै जान थालेका छन् । मोफसलमा बजार बिस्तारको कार्य सुरु भएको छ । अनलाइन कारोबारमा लगानीकर्ता अभ्यस्त बन्दैछन् । सेयर बजारमा सुखद संकेतहरु देखिँदै छन् । तर लगानीकर्ताहरु होसियार भएरै बजारमा अगाडि बढ्नु पर्छ ।