Comments Add Comment

कांग्रेसको जागरण अभियान आजबाट, वर–पिपल रोपेर उद्घाटन, १२ भाषामा जागरण गीत

२५ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान सुरु गर्न लागेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका गलत काम–कारबाहीलाई जनतामाफ लैजान र पार्टी संगठनलाई थप सुदृढीकरण गर्न आजबाट जागरण अभियान सुरु गरिएको जानकारी दिए ।

अभियानमार्फत पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे छलफल गर्ने उद्देश्य पनि कांग्रेसले राखेको छ ।

यसअघि कांग्रेसले वैशाख ११ बाट जागरण अभियान सुरु गर्ने तय गरेको थियो । तर पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएपछि निर्धारित कार्यक्रम स्थगित भएको थियो ।

‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान ३ चरणमा १ वर्षभरि देशभर चल्ने कांग्रेसले जनाएको छ । आजबाट सुरु हुने पहिलो चरणको अभियान १ महिना चल्नेछ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, पहिलो चरणअन्तर्गत ७७ जिल्लामा अभियान सञ्चालन हुनेछ । दोस्रोमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रोमा चरणमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने कांग्रेसको योजना छ ।

जागरण अभियानका लागि कांग्रेसले नेताहरुलाई ७७ वटै जिल्लामा खटाएको छ । सम्पादन गर्नुपर्ने कामबारे जिम्मेवारीपत्र दिएर कांग्रेसले केन्द्रीय नेताहरुलाई जिल्ला पठाएको हो । कार्यक्रमलाई सफल पार्न कांग्रेसले भातृसंगठनहरुलाई पनि जिल्लामा परिचालन गरेको जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार, देशभर एउटै मोडलमा जागरण अभियान कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रम उद्घाटन पनि कांग्रेसले नयाँ तरिकाले गर्दैछ । समी र बर–पिपलमध्ये १ विरुवा रोपेर कार्यक्रम उदघाटन गर्न सबै जिल्लामा कांग्रेसले सर्कुलर गरेको छ । त्यस्तै, जागरण अभियानमा बजाउन जागरण गीत तयार पारिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लेखेको गीत नेवारी, मैथिली, राई, भोजपुरीलगायतका १२ भाषामा तयार पारिएको हो ।

अभियानमा ३ वक्ताले आफ्नो धारणा राख्नेछन् । सबै कार्यक्रममा महिला वक्ता अनिवार्य गरिएको कांग्रेसले जनाएको छ ।

काठमाडौंकाे हकमा मध्याह्न १२ः३० मा जागरण अभियानको उद्घाटन हुँदैछ । जसको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment