Comments Add Comment

म पारिश्रमिकको डिमान्ड गर्दिनँँ: पल शाह

थुप्रै म्युजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक हुन्, पल शाह । धेरै म्युजिक भिडियोमा अभिनय गरेका पललाई म्युजिक भिडियोबाट नै धेरैले चिनिसकेका थिए । उनले धेरै सफल म्युजिक भिडियोमा काम गरेका छन् ।
म्यूजिक भिडियोमा सफल हुँदै गर्दा उनलाई निर्देशक विकासराज आचार्यले ‘नाई नभन्नु ल ४’ मार्फत ठूलो चलचित्रको हिरो बनाए । यो चलचित्र सफल भयो । उनी अभिनत ‘म यस्तो गीत गाउँछु’ पनि बक्स अफिसमा हिट भयो । तर, ‘जोनी जेन्टलम्यान’ले भने खराब व्यापार गर्यो । उनी अभिनित अर्को चलचित्र ‘शत्रु गते’ले राम्रो नाफा कमायो । तर, चलचित्र सफलताको जस पलले पाएनन् । कारण, त्यहाँ अन्य थुप्रै कलाकारहरुको अभिनय थियो ।

अहिले पल शाह लामो समयको ग्यापपछि पुन पर्दामा देखिने तयारीमा छन् । उनी अभिनित चलचित्र ‘वीर बिक्रम २’ जेठको ३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्र र उनको करिअरसँग सम्बन्धित रहेर अनलाइनखबरका लागि दिप्सन लुइटेलले पलसँग कुराकानी गरेका छन्ः

तपाईले चलचित्रमा १४ महिना ग्याप गर्नुभयो, किन यति लामो ग्यापमा बस्न मन लागेको ?
मैले ग्याप गर्छु भनेर ग्याप भएको हैन । यो १४ महिनाको समयमा मैले सोचेको जस्तो चलचित्र नै पाइनँ । अन्तिम अवस्थामा ‘वीर बिक्रम २’ पनि नआएको भए अझ धेरै ग्याप हुन सक्थ्यो ।

‘वीर बिक्रम २’ मा पनि आकाश श्रेष्ठले छोडेपछि अन्तिम अवस्थामा सुटिङ सुरु हुनै लाग्दा जोडिनु भएको थियो । किन यति छिटो निर्णय लिनुभयो ?
म राम्रो टिमको पर्खाइमा थिए । ग्याप पनि लामो भइसकेको थियो । त्यहीबेला ‘वीर बिक्रम २’ बाट अफर आयो । राम्रो टीम र राम्रो विषयबस्तु पाएकाले ‘ओके’ गरेँ ।

किन भयो त ग्याप ?
मैले काम गर्दा ‘छ्या’ भन्ने नहोस् भन्ने थियो । मेरो दर्शकको लागि पनि केही नयाँ काम देखाउँ भनेर चलचित्र रोज्न थालेँ । भनेजस्तो चलचित्र नपाउँदा ग्याप भएको हो ।

यो १४ महिनामा पललाई कसैले अफर गरेनन् पनि भन्छन् नि ?
त्यो हैन । अफर आएका थिए । तर, चित्त बुझ्ने कुनै पनि आएनन् । म भर्खर करिअरमा माथि चढ्नका लागि भर्याङ बनाइरहेको छु । त्यसमा म्युजिक भिडियो वा चलचित्रले इट्टा थपिरेका छन् । एउटा इट्टा बिग्रियो भने त मलाई ठुलो असर गर्छ । त्यसैले पनि बरु २ वर्ष कुर्छु नराम्रो चलचित्र गर्दिन भन्ने नै थियो । अफर नआएको होइन ।

पल शाहले पाएको स्टारको ट्याग म्युजिक भिडियोबाट हो वा चलचित्रबाट ?
यसमा दुबैको ठुलो भूमिका छ । सुरुवाती जग म्युजिक भिडियोले बसाइदियो । त्यहाँबाट केही जमातले मलाई चिन्नुभएको छ । पछि चलचित्रबाट नै चिन्नेहरु धेरै हुनुहुन्छ । त्यसैले यी दुबैलाई म मान्छु ।

तपाईले अहिलेसम्म चलचित्र सफलताको क्रेडिट लिन पाउनुभएको छैन । यसमा के भन्नुहुन्छ ?
यसमा आ(आफ्नो तर्क हुन्छ । तर, मेरो हकमा म मेरो दर्शकले दिनुभएको प्रतिक्रियाबाट खुशी छु । मलाई थाहा छ कि, मेरो कुन चलचित्रबाट कति दर्शक बढ्नु भएको छ, कति दर्शकले मलाई कुरिरहनु भएको छ भन्ने । अब क्रेडिट पाउने वा नपाउने भन्ने आ(आफ्नो सोचाइ हो ।

तपाईको म्युजिक भिडियो पनि लगातार आइरहेको छ । यसले तपाईको चलचित्र यात्रामा असर गरेको छ कि छैन ?
म्युजिक भिडियो आएर चलचित्रलाई असर गरेको छैन । मेरो हकमा भन्ने हो भने म्यूजिक भिडियोको दर्शक नै चलचित्र हेर्न आउनु भएको छ । मैले नराम्रो काम गरे भने त्यसले पक्कै असर गर्ला । तर, मैले छ्या भन्ने भिडियो गरेको छैन । राम्रो टिम र राम्रो गीत भए गर्दा केही असर गर्दैन होला जस्तो लाग्छ ।

दर्शक भिडियो र चलचित्रमा कन्फ्युज भइरहेका छन् जस्तो लाग्दैन् ?
त्यस्तो त हुँदैन । हामी आफै कन्फ्युज भएका मात्रै हौँ । दर्शकले म्युजिक भिडियो र चलचित्र भनेर राम्रोसँग छुट्याउन सक्नुहुन्छ ।

तपाईले पछिल्लो समय चलचित्र छनोट गर्दा अरुलाई सोधेर मात्र गर्नुहुन्छ रे । के तपाई आफू निर्णय लिन नसक्ने हो ?
मेले अरुलाई सोधेर मात्र चलचित्रमा काम गर्छु भन्ने कुरा एकदमै सत्य हो । यस्तो जो कोहीले पनि गर्नुपर्छ जस्तो लाग्छ । किनभने, एक जनाले गरेको निर्णय गलत पनि हुन सक्छ । टिमले गरेको निर्णय त पक्कै गलत हुन्न । त्यसैले मैले टिममा सोध्ने गर्छु । टिममा मात्र हैन मैले पहिला काम गरेका निर्देशकहरुसँग पनि सल्लाह लिन्छु । ‘वीर बिक्रम २’ गरु कि नगरु भनेर मैले प्रदीप भट्टराई दाईलाई पनि सोधेको थिएँ ।

निर्णय तपाईको लागु हुन्न भन्ने सुनिन्छ ?
त्यस्तो होइन । अरुको सल्लाहा सुनेपनि निर्णय त मेरो नै हो ।

यो अवस्थामा तपाई एक्लैले पूर्ण चलचित्रको लगानी बचाइदिन सक्छु भन्ने आँट गर्न सक्नुहुन्छ ?
चलचित्र भनेको टिमवर्क हो । त्यसमा मेरो मात्र हात हुन्नँ । राम्रो टीम भएन भने त मलाई मात्र हैन सबैलाई गाह्रो छ । अब मैले मात्र गर्छु भनेर को(एक्टरहरु नयाँ पर्नुभयो भने त जो कोहीलाई गाह्रो छ ।

पारिश्रमिक कसरी डिमान्ड गर्नुहुन्छ ?
मैले डिमान्ड गर्दिनँ । उहाँहरुले नै मेरो मार्केट हेरेर यति दिन्छु भन्नुहुन्छ । त्यसमा दुई पक्ष बसेर सल्लाह गरेर पक्का गर्छौ । जसले गर्दा निर्माता र कलाकार दुबैलाई मार नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment