Comments Add Comment

जुनियरलाई डीआइजी बनाइएको भन्दै प्रहरीमा असन्तुष्टि

२६ वैशाख, काठमाडौं । मन्त्रिपरिषदले वैशाख १९ गते नेपाल प्रहरीमा रिक्त रहेको डीआइजी पदमा एसएसपी विश्वराज पोखरेललाई बढुवाको निर्णय गरेपछि वरिष्ठ प्रहरी अधिकृतहरुमा असन्तुष्टि देखापरेको छ ।

नेपाल प्रहरीमा आधा दर्जन एसएसपीहरु रहँदाल्रहँदै राजनीतिक आधारमा कनिष्टलाई डीआइजी बनाइएको गुनासो असन्तुष्ट एसएसपीहरुको छ ।

एउटा टोलीले आफ्नो वरीयताबमोजिमको पदोन्नति नपाउँदै तल्लो टोलीबाट एकैचोटि विश्वराज पोखरेललाई बढुवा गरिँदा फौजी संगठनको चेन अफ कमाण्ड बिथोलिएको भन्दै अधिकांश प्रहरी अधिकृतहरु निराश भएका हुन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको टोलीले नेपाल प्रहरीमा ०४६ माघ २९ गते इन्स्पेक्टर पदबाट भर्ना भएर सेवा प्रारम्भ गरेको थियो ।

खनालभन्दा पछि ०४९ बैशाख १९ गते भर्ना भएका केही अधिकृतहरु डीआईजी पदमा कार्यरत छन् भने केहीचाहिँ अझैसम्म एसएसपी नै छन् । तर, ती सिनियर एसएसपीहरुभन्दा ११ महिनापछि भर्ना भएका पोखरेललाई डीआईजी बनाइएको असन्तुष्टहरुको तर्क छ ।

२०४९ वैशाख १९ मा भर्ना भएको टोलीबाट अहिले शैलेस थापा क्षेत्री, निरजबहादुर शाही, हरिबहादुर पाल र प्रद्युम्नकुमार कार्कीसहितका अधिकृतहरु डीआईजी पदमा कार्यरत छन् ।

तर, ०४९ मै भर्ना भएको यही टोलीका गणेशबहादुर ऐर, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, रामकृपाल साह, प्रकाश अधिकारी, शेखर कोइराला, वीरेन्द्रकुमार बस्यालसहित झण्डै एक दर्जन अधिकृतहरु अहिले पनि एसएसपी पदमै कार्यरत छन् ।

डीआईजी सिफारिस भएका पोखरेल ०४९ चैत ११ मा इन्स्पेक्टर पदमा नियुक्त भएका हुन् । उनीसँगै उत्तमराज सुवेदी, अरुणकुमार बीसी, धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, दिवेश लोहनीलगायतका प्रहरी अधिकारीहरु पोखरेल भर्ना भएकै मितिमा इन्स्पेक्टर पदमा भर्ना भएका हुन् ।

तर, ११ महिनाअघि भर्ना भएकाहरुलाई एसएसपीमै खुम्च्याएर कनिष्ट मध्येबाट पोखरेललाई डीआइजीमा बढुवा गरिएको गुनासो एसएसपीहरु माझ चल्न थालेको छ ।

समकालीनमा पनि असन्तुष्टि

एउटै ब्याचका इन्स्पेक्टरहरुलाई डीएसपीमा र डीएसपीबाट एसपीमा बढुवा गर्दा विश्वराज पहिलो नम्बर वरीयतामा थिएनन् । तर, एसपीबाट एसएसपीमा बढुवा हुने क्रममा पाँचौं वरीयताका पोखरेललाई एक नम्बरमा पारिएको थियो ।

यसअघि काठमाडौं प्रहरी परिसरमा रहेका बेला दिल्लीस्थित नेपाली दूताबासमा सुरुवा हुँदा पोखरेलले जान नमानेर कमाण्डको अनुशासन उल्लंघन गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

तर, अहिले उनै एसएसपी पोखरेललाई एक्लै बढुवा गरेर भावी आइजीपीका लागि बाटो खोल्ने काम गरिएको गुनासो संगठनभित्र चुलिएको छ ।

राजनीतिक नेतृत्वले आफ्नो स्वार्थमा सुरक्षा निकायको वरीयता बिगार्ने क्रमलाई संगठन प्रमुखका हैसियतले आईजीपीले रोक्नुपर्नेमा उनले त्यसो नगरेको भन्दै संगठनभित्र आईजीपी सर्वेन्द्र खनालसमेत आलोचित बनेका छन् ।

डीआईजीमा बढुवा भएका पोखरेल रक्षामन्त्री ईश्वर पोखरेलका नातेदार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment