Comments Add Comment

अमेरिकाद्वारा उत्तर कोरियाली समुद्री जहाज नियन्त्रणमा

२७ वैशाख, काठमाडौं । अमेरिकाले उत्तर कोरियाको एक मालबाहक समुद्री कार्गो जहाज नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय नियम उल्लंघनको आरोपमा अमेरिकाले कोइला बोक्न प्रयोग गरिँदै आएको वाइज अनेष्ट नाम दिइएको उत्तर कोरियाली समुद्री जहाज नियन्त्रणमा लिएको हो ।

अमेरिकी न्याय विभागले उत्तर कोरियाको समुद्री जहाजले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेकाले नियन्त्रणमा लिनुपरेको बताएको छ ।

संयुक्त राष्ट्रसंघले कोइला निर्यात गर्न उत्तर कोरियालाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धका बाबजुद उत्तर कोरियाले कोइला निर्यातको प्रयास गरेकाले नियन्त्रणमा लिएको अमेरिकी भनाइ छ ।

उत्तर कोरियाको कोइलाको बजार चीनलगायतका देश हुन् । जहाँ कोइला बिक्री गरेर उत्तर कोरियाले परमाणु कार्यक्रममा लगानी गर्ने गरेको दाबी अमेरिका तथा संयुक्त राष्ट्र संघको छ ।

यसअघि सन् २०१८ मा पनि उत्तर कोरियाको यो जहाज इन्डोनेसियामा नियन्त्रणमा लिइएको थियो । बीबीसीका अनुसार, यो जहाज कोइला तथा ठूला मेसिनरी उपकरण बोक्नमा प्रयोग हुँदै आएको थियो ।

उत्तर कोरियाले भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

परमाणु निःशस्त्रीकरणलाई लिएर अमेरिका–उत्तर कोरियाबीच शिखरवार्ता भएका छन् । गत फेव्रुअरीमा मात्रै पनि उत्तर कोरियाली नेता किम जोङ ऊन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको थियो । यद्यपि, वार्ता विना कुनै सहमति टुंगिएको थियो ।

शिखर वार्तामा ठोस सहमति नभए पनि प्रयास भइरहेका छन् । परमाणु कार्यक्रमसम्बन्धी अवरुद्ध वार्तालाई अगाडि बढाउन अहिले पनि अमेरिकी उच्च दूत दक्षिण कोरियाको सोलमा छन् ।  तर, यहीबीच अमेरिकाले उत्तर कोरियाको समुद्री जहाज नियन्त्रण लिएपछि सम्बन्ध थप चिसिने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment