+
+
Shares

विदेशबाट फर्केर ४० कटेसी रमाउने सपना भताभुङ्ग !

टोपराज शर्मा टोपराज शर्मा
२०७६ वैशाख २७ गते ८:४६

२७ वैशाख, बुटवल । ‘सुन साइली, परदेशबाट म आउँंला, चालीस कटेसी रमाउँला…!

गायक हेमन्त रानाले गाएको यो चर्चित गीतले भन्न खोजेजस्तै कपिलवस्तु बीरपुरका कृष्ण भुसाल पनि १५ वर्ष लामो वैदेशिक रोजगारी त्यागेर परिवारसँगै रमाउने मीठो सपना देख्दै घर फर्के । तर, घरमा उनले सोचेजस्तो रमाउने वातावरण भित्रभित्रै बिग्रिसकेको थियो ।

कृष्णले विदेशमा पसीना बगाएर मासिक ८० देखि एक लाख २० हजारसम्म कमाउँथे । सबै जोड्दा १५ वर्षमा झण्डै ५० लाख रुपैयाँ कमाए । यो पैसाले बुद्धभूमि नगरपालिका १ वीरपुरमा एकतले पक्की घर बनाए । गोरुसिंगे हाइवेमै ०६८ सालमा १० लाख मूल्यमा ८ धुर घडेरी श्रीमतीका नाममा किन्न रकम पठाए । १२ लाखमा एउटा टिप्पर खरिद गर्न पनि रकम दिए । किराना पसल पनि सञ्चालन गर्न दिए ।

भुसालले श्रीमतीमाथि पूरै विश्वास गरे । नगर्ने कुरा पनि भएन । कमाएको पैसा खुरुखुरु पठाए । विदेशमा लामो समय दुःख गरेर बाँकी जीवन सुखसयलका साथ जीवन बिताउने गरी घर फर्केका ४३ वर्षीय कृष्ण अहिले घरवारविहीन र शरणार्थीजस्तै जीवन बिताउँदैछन् ।

कृष्णसँग ३४ वर्षिया श्रीमती लक्ष्मी टाढिएकी मात्र छैनन् उल्टै उनैबाट मुद्दा खेपेर अदालतमा तारेख धाउन विवश छन् । एक छोरा र एक छोरी पनि पराई जस्ता बनेका छन् ।

सोझो स्वभावका कृष्ण अहिले आफन्तकोमा खाने र घरबाहिरै रात बिताउन वाध्य छन् । उनीमाथि श्रीमतीको भनाइमा लागेर आफ्नै छोराले ज्यान मार्ने धम्की दिएका छन् । श्रीमतीका पुरुष साथीहरुबाट पनि धम्की आउने गरेको कृष्ण बताउँछन् ।

अर्घाखाँची गोखुंगामा जन्मे÷हुर्केका कृष्णको परिवार ०३९ सालमा कपिलवस्तुको वीरपुरमा झरेको थियो । सामान्य आर्थिक अवस्थाका उनले ०५७ सालमा वीरपुरकै लक्ष्मीसँग मागी विवाह गरेका थिए ।

उनी ०७३ सालसम्म साउदी अरबमा गाडी ड्राइभरको जागिर गरेर ३ वर्षअघि घर फर्के । यद्यपि कहिले वर्ष दिनमा त कहिले दुई वर्षमा उनी फर आउने जाने गरिरहन्थे । जब कृष्ण परिवारसँगै रमाउँदै बांकी जीवन बिताउने सपना साँचेर सधैका लागि घर फर्के, उनको यो मीठो सपनामा उनकै श्रीमतीले चीसो पानी खन्याइदिइन् ।

१५ वर्षसम्म श्रीमानले कमाएर पठाएको पैसामा रमाएकी लक्ष्मीलाई कृष्ण विदेश नजाने गरी घर बस्न आएको भित्री मनदेखि मन परेको थिएन । घर फर्केको डेढ वर्ष नबित्दै लक्ष्मीले कृष्णलाई फेरि विदेश पठाउन बल गरिन् । तर, उनले मानेनन् । विदेश जान नमानेकै कारण लक्ष्मीले कृष्णविरुद्ध जिल्ला अदालत कपिलवस्तुमा गत असार २९ गते मानाचामल, अंश र घरेलु हिंसाको मुद्दा हालेर आफूलाई उल्टो दुःख दिएको कृष्ण बताउँछन् ।

‘मैले कमाएको सम्पत्ति पनि हडप्ने र मबाट अलग हुने उपायस्वरुप मुद्दा हालियो’ कृष्णले दुखेसो पोख्दै भने, ‘श्रीमती र छोराछोरीका लागि खाडीमा यत्रो दुःखकष्ट गरेें, कमाएको सबै पैसा आँखा चिम्लेर विश्वास गरेर दिएँ अहिले यो नियति भोग्नुपर्‍यो ।’

कृष्णले पठाएको रकमले लक्ष्मीले टिप्पर किनिन् । ज्योतिषीलाई हेराउँदा आफूलाई फलाम अशुभ हुन्छ भनेकाले प्रमोद पोखरेलका नाममा टिप्पर किनेको उनले कृष्णलाई बताउँदै आएकी थिइन् । अहिले कृष्ण बाँकी जीवन कसरी बिताउने भन्ने पिरलोमा छन् । ‘घर छ तर छोराले पनि आमाकै पक्षमा लागेर धम्की दिन्छ, डरले घरमा बस्ने अवस्था छैन, कहिले कसकोमा, कहिले कसकोमा बस्दै आएको छु,’ कृष्ण भन्छन्, ‘कमाएर पठाएको हिसाब गर्दा झण्डै ३० लाख रुपैयाँं हिनामिना भएको छ, तर उल्टै ८ लाख ऋण देखाइएको छ ।’

कृष्णसँग सम्बन्धविच्छेद गरेकी लक्ष्मी भुसालले भने श्रीमानले मदिरा सेवन गरेर कुटपिट गर्ने गरेकाले हिंसा सहन नसकेर डिभोर्स मागेको बताइकी छिन् ।

स्थानीय अगुवा महिला चुराकुमारी थापा भने कृष्ण भुसाल निकै सोझो स्वभावको भएको र उनले घरेलु हिंसा गरेको कसैलाई थाहा नभएको बताउँछिन् ।

थापा भन्छिन् ‘यो सबै कृष्णको सोझोपनको फाइदा उठाइएको हो । लामो समय विदेश बस्दाको परिणाम पनि हो ।’

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?