Comments Add Comment

डडेल्धुरामा सुत्केरीलाई दूधदही खान दिइँदैन

२९ वैशाख, डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका क्षेत्र भित्रै सुत्केरी महिलालाई गाईभैंसीको दूध नदिइने गरेको पाइएको छ ।

सुत्केरी महिलालाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा समाजमा विद्यमान छ ।

अमरगढी नगरपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको ३ दिने पोषण तालिममा सहभागी भएका स्वास्थ्यकर्मीले सदरमुकाममै सुत्केरीले पोषणयुक्त खानेकुरा अन्र्तगत दूधदही नपाउने गरेको बताएका हुन् ।

सुत्केरी महिलाका लागि अत्यावश्यक पोषणयुक्त खानेकुरा उनीहरुले नपाएको सहत्रलिङ स्वास्थ्य चौकी राइकी अनमी तुलसी भट्टले बताइन् ।

‘हामीले सुत्केरीलाई पोषणयुक्त खानेकुरा खुवाउनु भनेर सम्झाइबुझाइ गरेर पठाउँछौं तर घरमा गएर उनीहरुले त्यसो गर्दैनन्,’ अर्की भुमीराज स्वास्थ्य चौकीकी अनमी शान्ति भट्टले बताइन् ।

पोषणयुक्त खानेकुरा मात्र नभइ सुत्केरीलाई सुरक्षित आवासबाट समेत बञ्चित गरिएको सहत्रलिङ स्वास्थ्य चौकी राइकी अर्की अनमी चित्रा मालीले बताइन् ।

सुत्केरी महिलालाई पोषणयुक्त खानेकुराबाट बञ्चित गर्दा बालबालिकामा कुपोषण देखिने अमरगढी स्वास्थ्य शाखाका प्रमुख लोकराज पनेरुले बताएका छन् । महिला सुत्केरी हुँदा झन बढी मात्रामा पोषिलो खानेकुरा आवश्यक पर्ने उनको भनाइ छ ।

डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाका २६ जना बालबालिकामा कडा कुपोषण देखिएको एक तथ्याङ्कले देखाएको छ ।

नगरपालिको पछिल्लो तथ्याङ्कअनुसार नगरपालिकाभित्र रहेका ५ वर्षमुनिका २ हजार ४ जना बालबालिकामध्ये २६ जनामा कडा शीघ्र कुपोषण देखिएको छ भने २३५ बालबालिकामा मध्ये शीघ्र कुपोषण देखिएको अमरगढी स्वास्थ्य शाखा प्रमुख पनेरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment