Comments Add Comment

आजका पत्रपत्रिका : बालुवाटार जग्गा अनुसन्धान गर्ने डीएसपी सरुवा

३१ वैशाख, काठमाडौं । सार्वजनिक जग्गा दुरुपयोग, सहकारीको ठगी, अन्तरजातीय विवाहका कारण गाउँलेले भोग्नुपरेको भुक्तमानलगायतका विषयमा आजका दैनिक पत्रिकाहरु केन्द्रित भएका छन् । त्यस्तै, प्रधानमन्त्रीको कम्बोडिया भ्रमण, संस्कृतिविद् सत्यमोहन जोशीको जन्मोत्सवलाई पनि पत्रपत्रिकाहरुले प्राथमिकतापूर्वक ‘कभरेज’ गरेका छन् ।

संस्कृतिविद् सत्यमोहन जोशीको नगरपरिक्रमाको तस्वीर छापेको कान्तिपुरले बालुवाटार जग्गा अनुसन्धान गर्ने डीएसपी सरुवामा परेको लेखेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको कान्तिपुर समाचारमा उल्लेख छ ।

उनलाई रौतहटको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर पठाइएको हो । त्यहाँ कार्यरत डीएसपी कुमुद् ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली स्थानमा उनलाई पठाइएको बताइएको छ ।

स्रोतको हवाला दिँदै कान्तिपुरले लेखेको छ– अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई व्युरो प्रमुख डीआईजी नीरज शाहीले अनौपचारिक अनुरोध गरेका थिए । व्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्इ भूमिकामा छन् । सरुवाको अधिकार महानिरीक्षकमा निहित भए पनि गम्भीर प्रकृतिको अनुसन्धान प्रभावित हुनेगरी सरुवा गरिएको छ ।’

अन्तरजातीय बिहेपछि मोरङको मुसहर बस्तीले पानी नपाएको अर्को प्रसंग पनि कान्तिपुरको पहिलो पृष्ठमा छ । बूढीगंगा गाउँपालिका–२, सख्मा टोलका मुसहर अन्तरजातीय विवाहकै कारण पानी पाउनबाट वञ्चि भएका हुन् । स्थानीय सनी ऋषिदेव र सिर्जना थापामगरले भागी विवाह गरेपछि थापा परिवारले खानेपानीको सामूहिक ट्युबवेल उखेलेर फालेको कान्तिपुर समाचारमा उल्लेख छ । सहकारीको ठगी, मल अभावलगायतका विषयलाई पनि कान्तिपुरले आज प्राथमिकताका साथ उठाएको छ ।

पशुपतिको जग्गा अतिक्रमणबारे अन्नपूर्णले चासो राखेको छ । समाचार अनुसार पशुपतिको २३१ रोपनी जग्गा गायब भएको छ ।

‘भनिन्छ, पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नो जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा २ सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तो छैन’ अन्नपूर्णले समाचारको लिड लाइनमा लेखेको छ ।

नागरिकमा मालपोतका कारण ललितानिवास जग्गा फर्काउन ढिलाइ भएको खबर छ । मालपोत कार्यालय डिल्लीबजारबाट साविक र अहिले कायम रहेको जग्गाको कित्तानम्बर एकमुष्ठ आइनसकेका कारण फिर्तासम्बन्धी निर्णयमा केही ढिलाइ भएको भूमि व्यवस्था मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई उद्धृत गर्दै नागरिकले समाचार लेखेको छ ।

११ न्यायाधीश बेकामे भएकोदेखि अमेरिकी राजदूतले प्रेस स्वतन्त्रताबारे चासो राखेको सम्मका खबर नागरिकको प्राथमिकतामा परेको छ ।

सरकारी मुखपत्र गोरखापत्रले नेपाल र कम्बोडियाबीच सम्झौता भएको लेखेको छ भने राजधानीले गुठीको बेवारिसे जग्गाबारे सोधीखोजी गरेको छ । कारोबारमा भारतीय चुनावले नेपालमा परेको प्रभाव, बैंकको नाफालगायत विषय उठाएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका पहिलो पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment