Comments Add Comment

उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमै हात हालाहाल

१ जेठ, काठमाडौं । सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा मन्त्री र कर्मचारीबीच हात हालाहाल भएको छ । उद्योग विभागमा भएको सरुवाको विषयमा मन्त्री यादव र असन्तुष्ट कर्मचारीबीच हात हालाहाल भएको मन्त्रालयका उच्च अधिकारीले जानकारी दिएका छन् ।

उद्योग विभागमा नेकपा निकट कर्मचारी विनोद खड्काको सरुवा गरिएको विषयलाई लिएर नेपाली कांग्रेस निकट कमर्चारीले मन्त्रीसँग विवाद गरेका थिए । त्यस क्रममा मन्त्री यादवको कार्यकक्षमा मन्त्री र कर्मचारीबीच हात हालाहाल भएको हो । कांग्रेस निकट कर्मचारीहरुले शोभाकर रेग्मीलाई वाणिज्य विभागमा सरुवा गराउन चाहेका थिए ।

कांग्रेस निकट कर्मचारीले मन्त्रीले लेनदेनको आधारमा सरुवा गरेको आरोप लगाएका छन् ।

कांग्रेस निकट कर्मचारी युनियनका नेता विश्वबन्धु रेग्मीलाई लामो समयदेखि उद्योग मन्त्रालयमा जिम्मेवारी नदिई राखिएको छ । यसबीचमा मापदण्ड नबनाई नेकपा निकटका कर्मचारीलाई उद्योग विभागमा पदस्थापन गरेर कांग्रेस निकट कर्मचारीलाई पेलिएको आरोप उनीहरुको छ ।

उनीहरुले शुरुमा मन्त्रीका निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लील गाली गर्दै हातपातमा उत्रिएको स्रोतले जनाएको छ । कांग्रेस निकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रीको कार्यकक्षबाहिर निजी सचिवसँग कमर्चारीको वादविवाद भइरहेका बेला मन्त्री यादव बाहिर निस्किएका थिए । होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।

यसैबीच कांग्रेस निकट कर्मचारी युनियनले भने मन्त्रीले आफ्ना नेतामाथि हातपात गरेको आरोप लगाएको छ । युनियनका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले मापदण्ड बिना आर्थिक चलखेलमा कर्मचारी सरुवा गरेको सन्दर्भमा निजी सचिवसँग कुरा गर्न जाँदा मन्त्री बाहिरै आएर आक्रमण गरेको बताए ।

ढोका थुनेर आक्रमण गरेपछि हात हालाहाल भएको र त्यसक्रममा आफ्ना दुईजना साथी घाइते भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment