Comments Add Comment

सप्तरीका जनप्रतिनिधिद्वारा सुरक्षा माग

४ जेठ, सप्तरी । सप्तरीका जनप्रतिनिधिहरुले आफूहरु असुरक्षित महसुस गर्न थालेको भन्दै प्रदेश र संघीय सरकारसँग सुरक्षा माग गरेका छन् ।

जनप्रतिनिधिहरुले बलान-बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोटको निन्दा गरेका छन् । घटनापछि नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरुले शनिबार संयुक्त पत्रकार सम्मेलन गरी सुरक्षाको वातावरण बनाइदिन माग गरेका छन् ।

जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादवले घट्नाको भत्र्सना गर्दै दोषीलाई कार्वाहीको माग गरे ।उनले सुरक्षा व्यवस्था कमजोर भएकै कारण यस्तो घटनाहरु भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘जनताहरुको कामका लागि जतिखेर पनि हिँड्ने गरेको छु, यस्तो अवस्थामा कसरी हिँड्न सकिन्छ ?’ राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले भने, ‘सुरक्षाको वातावरण बनाइदिनु जरुरी छ ।’

तिलाठी-कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जनप्रतिनिधिले गल्ती गरेको नाममा परिवारलाई लक्षित गर्दै बम बिष्फोट गराउनु दुःखद भएको बताए ।

रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले यस्ता घटनाले आफूहरुको मनोवल गिर्ने बताए । ‘राम्रो काम गरेपनि विपक्षीहरु पछि लागेकै छन्, अख्तियार र अदालतमा पत्र पठाउँदा पठाउँदा हैरान भएको छु’ अध्यक्ष यादवले भने, ‘अब सुरक्षा पनि नभए कसरी काम गर्ने ?’

तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज बहरखेर यादवले जनप्रतिनिधिको सुरक्षालाई प्रदेश र संघीय सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

भ्रष्टाचार भएको छैन

पत्रकार सम्मेलनमा बलान-बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा -क्रान्तिकारी) ले भ्रष्टाचार गरेको भनी लगाएको आरोप निराधार भएको बताए । ‘बलान-बिहुल सप्तरीको सबैभन्दा पीछडिएको गाउँपालिका हो’ उनले भने, ‘पछिल्लो दुई बर्षमा कति कामहरु भएको छ, त्यो नहेरिकन र जनतासँग कुरा समेत नगरिकन भ्रष्टाचारको आरोप लगाउनु ठीक होइन् ।’

आफ्नो गाउँपालिकामा हालै भएको महालेखा परीक्षणका क्रममा थोरै मात्र बेरुजु भएको र सम्पूर्ण योजनाहरुको काम भएको सुनाउँदै सत्य-तथ्य नबुझी भ्रष्टाचारको आरोप लगाउँदै घरमा बिष्फोट गराउनु आफूहरुको मनोबल कमजोर गर्न खोज्नु भएको बताए ।

शुक्रबार राति १२ बजेतिर बलान-बिहुल गाउँपालिका २ स्थित अध्यक्ष दयानन्द गोइतको घरमा कुकर बम बिष्फोट भएको थियो । बिष्फोटबाट घरका सम्पूर्ण सामानमा क्षति पुगेको छ भने अध्यक्ष दयानन्दका काका श्याम गोइत बमको छर्रा लागेर घाइते भएका छन् ।

बिष्फोटको जिम्मेबारी जयकृष्ण गोइत नेतृत्वको समूहले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment