Comments Add Comment

केजरीवाललाई मत सर्वेक्षणको नतिजा निराशाजनक

७ जेठ, काठमाडौं । दिल्लीमा लोकसभाका सबै सात सिट जित्ने दाबी गर्दै आएका अरविन्द केजरीवालका लागि मत सर्वेक्षणको नतिजा निराशाजनक देखिएको छ । मत सर्वेक्षण भन्छ, केजरीवाल नेतृत्वको आम आदमी पार्टीले दिल्लीका सातवटै सिट गुमाउने छ र सबै सिट भारतीय जनता पार्टी (भाजपा)ले जित्ने छ ।

सन् २०१४ को लोकसभा चुनावमा पनि सातवटै सिट भाजपाले जितेको थियो ।

आजतकको मत सर्वेक्षण अनुसार सन् २०१९ को लोकसभा चुनावमा पनि भाजपाले दिल्लीमा क्लिनस्वीप गर्नेछ र आम आदमी पार्टीले खातासमेत खोल्न सक्ने छैन ।

यद्यपि लोकसभा चुनावको मतगणना मे २३ तारिखबाट सुरु हुने छ । यदि यो मत सर्वेक्षणअनुसारकै नतिजा आएमा आम आदामीलाई लगातार दोस्रो पटक ठूलो झट्का लाग्ने छ । किनभने आम आदमी पार्टीले एक सिट पनि हासिल नगरेको सन् २०१४ पछिको यो दोस्रो लोकसभा चुनाव हुनेछ । दुई वर्ष अगाडि भएको दिल्ली नगर निगमको चुनावमा पनि अरविन्द केजरीवाल नेतृत्वको सत्तारुढ पार्टी आम आदमीले हार व्यहोरेको थियो ।

यी तिनै अरविन्द केजरीवाल हुन् जसले सन् २०१५ मा भएको विधानसभा चुनावमा आफ्नो नयाँ पार्टी आम आदमीलाई प्रचण्ड बहुमतले जिताएका थिए । विधानसभाका ७० मध्ये ६७ सिट आम आदमीले जितेको थियो । यो नतिजासँगै केजरीवाल दिल्लीको मुख्यमन्त्रीसमेत बने ।

विधानसभामा एक नयाँ पार्टीको राजनीतिक उभारले सबैलाई आश्चर्यमा पारेको थियो । सन् २०१५ को विधानसभा चुनाव यसकारण पनि विशेष थियो कि सन् २०१४ मा आएको मोदीको उभारलाई आम आदमीले भारतको केन्द्रीय राजधानी दिल्लीमै फेल बनाइदिएको थियो ।

सन् २०१९ को लोकसभा चुनावको मत सर्वेक्षणले भने अब केजरीवालको जादू चल्न छाडेको संकेत देखाएको छ । यद्यपि आम आदमी पार्टीले भने यो मत सर्वेक्षण भ्रामक रहेको टिप्पणी गरेको छ ।

आम आदमी पार्टीका नेता सन्जय सिंहले भनेका छन्, ‘मत सर्वेक्षणका नतिजा गलत हुन्छन् । मत सर्वेक्षण गर्नेहरुले पैसा लिएर पार्टीका सिट घटाउने-बढाउने गर्छन् । सन् २०१४ मा पनि आम आदमीले एउटा पनि सिट नजित्ने मत सर्वेक्षणको नतिजामा देखाइएको थियो । तर हामीले सबैलाई आश्चर्यमा पार्‍यौं । हो, अहिले हाम्रा भोटर केही घटेका छन्, तर सातवटै सिट हाम्रा हुनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment