Comments Add Comment

किसानलाई निःशुल्क धानको बिउ

७ जेठ, बुटवल । खेतीमा आकर्षित गरेर उत्पादकत्व वृद्धि गर्न बुटवलका कृषकलाई निःशुल्क धानको बिउ वितरण गरिएको छ ।

बुटवल-१७ स्थित मोतीपुरमा रहेकाे सिम्रिक कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा उपमहानगरपालिकाले २ सय १ किसानलाई विभिन्न प्रकारका धानको बिउ वितरण गरिएकाे हो ।

प्रत्येक किसानलाई ७ किलोग्रामका दरले करिब तीन लाख ४६ हजार एक सय १८ रुपैयाँ बराबरको धानको बिउ निःशुल्क वितरण गरिएको उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले बताइन् ।

यसअघि बुटवल उपमहानगरपालिकाले किसानको धान धितो राखेर सहुलियत ऋण दिने कार्यक्रम पनि सञ्चालनमा ल्याएको थियो । व्यावसायिक रुपमा खेती गरिरहेका र मूल पेशा कृषि भएका किसानहरुलाई लक्षित गरेर निःशुल्क धानको बिउ वितरण गर्ने अभियान सञ्चालन गरिएको उपप्रमुख आचार्यले बताइन् । उपमहानगरपालिकाले उत्पादकत्व बढाउने र अन्य कृषकहरुलाई पनि आकर्षित गर्ने उद्देश्य राखेको छ ।

हाल यहाँका २ सय १० विगाह क्षेत्रफलमा धान खेती हुँदै आएकाे छ ।

सहकारीमा किसानहरुलाई भेला गराई सावा, सब–१, राम, राधा–४, चैते–५ जस्ता धानका बिउहरु उपलव्ध गराइएको सहकारीका अध्यक्ष गणेशबहादुर गाहाले जानकारी दिए । सहकारीमा आवद्ध कृषकलाई बुटवल उपमहानगरपालिकाको सहकार्यमा धान र तरकारी खेती सम्बन्धी तालिमसमेत सञ्चालन गरिएको सिम्रिक सहकारीका व्यवस्थापक खिमानन्द पाण्डेले बताए ।

बुटवल उपमहानगरले कृषि क्षेत्रमा आकर्षित गर्न किसानलाई उत्पादनका आधारमा प्रोत्साहन रकम उपलव्ध गराउन शुरु गरेको छ । प्रति किसान अधिकतम ३० हजार रुपैयांसम्म प्रोत्साहन रकम दिने गरी बुटवलका १९ वटै वडाहरुमा यो कार्यक्रम सञ्चालन हुनेछ । अरुको जग्गा भाडामा लिएर कृषि व्यवसाय गर्नेलाई र उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम दिइने उपमहानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत भीमनाथ शर्माले जानकारी दिए । यो कार्यक्रमअन्तर्गत छनौट भएका ३७ जना किसानलाई उनीहरुको वडामै पुगेर दुई लाख ९० हजार बराबरको रकम उत्पादनका आधारमा वितरण गर्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment