Comments Add Comment

पुनर्स्थापनाका लागि छनौट भएको स्थानप्रति बुढिगण्डकी प्रभावितको असन्तुष्टि

७ जेठ, गोरखा । बुढिगण्डकी आयोजनाका बिस्थापितलाई पुनर्स्थापना गराउन छनोट भएका सम्भावित क्षेत्रप्रति आयोजना प्रभावितले असन्तुष्टि जनाएका छन् ।

भीमसेन थापा गाउँपालिका–८ घाटवेशीका आयोजना बिस्थापितहरुले मंगलवार सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । वडाध्यक्ष बासु थापाको नेतृत्वमा आएको टोलीले साविकको बोर्लाङ गाविस–७ महादेवटारको टाउकेस्वाँरा क्षेत्रमा पुनस्र्थापना गराउन माग गरेका छन् ।

घाटवेशीका आयोजना प्रभावितलाई साविकको वोर्लाङ गाविस–३ मा पुनर्स्थपना गराउन सो क्षेत्रको जग्गा किनबेचमा मालपोत कार्यालयबाट रोक लगाइएको प्रति उनीहरु असन्तुष्ट छन् । उक्त ठाउँ पायक नपर्ने उनीहरुले बताए ।

आयोजना अन्तरगतको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पनस्र्थापना इकाइले पुनस्र्थापनाका लागि सम्भावित ठाउँको जग्गा अधिग्रहणको प्रक्रिया शुरु गर्दै किनबेचमा रोक लगाएको छ । साविकको नाम्जुङ१ र २ को ३२, वोर्लाङको ६ सय २४ र दर्वुङको ९६ कित्ता जग्गा रोक्का गरिएको छ । त्यस्तै साविकको धावा–६ को १११ र आरुटार तथा आरुचनौटेको ५२ कित्ता जग्गाको कारोबारमा रोक लगाइएको इकाइ प्रमुख कृष्ण कार्कीले बताए । गत वैशाख २२ गतेको बैठकले निर्णय गर्दै उक्त क्षेत्रको जग्गा किनवेचमा रोक लगाउन जिल्ला मालपोत कार्यालयलाइ पत्राचार गरेको उनले जानकारी दिए ।

तर स्थानीय प्रभावितसँग आवश्यक सल्लाह नगरी जग्गा रोक्का गरेको भन्दै आयोजना विस्थापितहरु आक्रोशित छन् । ‘जग्गा रोक्का गर्दा पक्षपात भयो,’ बुढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले भने, ‘धादिङमा नगर्ने गोरखामा मात्र गर्ने, फेरि आधिकारिक रुपमा हामीलाई थाहा पनि भएन ।’ प्रभावितसँग सल्लाह नगरी एकलौटी रुपमा गरिएको निर्णय आफूहरुलाइ मान्य नहुने उनले बताए ।

घाटवेशीका आयोजना प्रभावित नवराज ढकालले भूमाफियासँग मिलेर जग्गा रोक्कामा चलखेल भएको आरोप लगाए । ‘पुनस्र्थापनाका लागि ठाउँ उपयुक्त छ कि छैन भनेर आवश्यक सल्लाह नै नगरी हचुवाको भरमा जग्गा रोक्का गर्‍यो, यसप्रति हाम्रो आपत्ति छ,’ उनले भने ।

प्रभावितको समस्या वेवास्ता गर्दे आयोजनाले पेलेर अघि बढ्न खोजेको उनले आरोप लगाए । डुवान प्रभावितलाई फरक दृष्टिकोणले हेरेमा आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् । उनीहरुले मंगलबार सिउरेनटारको इकाइ कार्यालयमा पनि ज्ञापनपत्र बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment