Comments Add Comment

हुवावेसँग गुगलको सम्बन्ध विच्छेद, यी हुन् जान्नैपर्ने १० तथ्य

अमेरिकासँग चलिरहेको तनाबका बीच चिनिया कम्पनी हुवावेले अहिलेसम्मकै ठूलो मध्येको एक धक्का बेहोर्नु परेको छ ।

गतहप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हुवावेलाई व्यापारको कालोसूचिमा राख्यो । त्यसरी कालो सूचिमा राखेपछि अमेरिकी कम्पनीहरुलाई हुवावेसँग व्यवसायिक सम्बन्ध तोड्नुपर्ने अवस्था आएको छ । अन्ततः इन्टरनेट जाएन्ट गुगलले हुवावेसँगको सहकार्य तोड्ने निर्णय गरेको छ ।

यो सँगै अब हुवावेका डिभाइसहरुमा गुगलको एन्ड्रोइड अपरेटिङ्ग सिस्टमको अपडेटमा पहुँच प्राप्त हुनेछैन । गुगलले हुवावेसँग तोडेको सम्बन्धको अर्थ के होला ? यसले हुवावे स्मार्टफोन प्रयोगकर्ता तथा स्वयं हुवावे र एप्पल कम्पनीलाई कस्तो असर पर्ला ? यी हुन् जान्नैपर्ने केही तथ्यहरुः

· हुवावेमाथि एन्ड्रोइड प्रतिबन्ध : के–के समेटिन्छ ? गुगलले हुवावेसँगको सबै खाले व्यवसाय निलम्बित गरेको छ । यसको अर्थ हार्डवेयर, सफ्टवेयर तथा प्राविधिक सेवा लगायतका क्षेत्रमा हुवावे र गुगलबीच भएका अहिलेसम्मका सबैखाले सहकार्य रोकिने छन् ।

· इन्टेल र क्वालकोमबाट पनि धक्का : चिप निर्माता अमेरिकी कम्पनीहरु क्वालकोम तथा ब्रोडकोम र इन्टेल लगायतले पनि हुवावेसँगको व्यवसायिक सम्बन्ध तोडेको घोषणा गरेका छन् । उनीहरुले तत्कालै देखि लागू हुनेगरी व्यवसायिक सम्बन्ध तोडिएको बताएका हुन् ।

· हुवावेका पूराना प्रयोगकर्ता भने चिन्तित हुनु पर्दैन । हुवावे तथा यसको भगिनी ब्राण्ड हनरका स्मार्टफोन प्रयोग गरिरहेका पूराना प्रयोगकर्ताले भने गुगलको यो कदमबाट चिन्तित हुनुपर्ने छैन । किनकी पूराना हुवावे प्रयोगकर्ताका लागि गुगलले गुगल प्ले स्टोर तथा गुगल एपहरुमाथिको पहुँचलाई निरन्तरता दिनेछ ।

· अब हुवावेका स्मार्टफोन किन्नेलाई के हुन्छ ? वास्तवमा नयाँ हुवावे स्मार्टफोन किन्नेले चाहीँ गुगल प्ले स्टोर तथा जिमेल, युट्युब तथा गुगल म्याप लगायतका गुगलका कुनैपनि एपहरु प्रयोग गर्न पाउने छैनन् ।

· भविष्यमा हुवावेमा एन्ड्रोइड प्रयोग होला कि नहोला ? यो पनि चासोको विषय हो । यद्यपि वास्तविकता के हो भने अहिले पनि हुवावेले एन्ड्रोइडको पब्लिक भर्सन प्रयोग गर्न पाउँदछ । तथापि उसले गुगलको सुरक्षित तथा आधिकारिक एप तथा सर्भिसमा भने पहुँच पाउने छैन ।

· हुवावे स्मार्टफोनमा एन्ड्रोइड अपडेट हुन्छ त ? हो, विद्यमान हुवावे प्रयोगकर्ताले एन्ड्रोइड अपडेट प्राप्त गरिरहनेछन् । गुगल प्रवक्ताका अनुसार विद्यमान हुवावे डिभाइसका एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले प्रोटेक्ट नामक सेवा उपलब्ध रहिरहनेछ ।

· सामसुङका लागि खुसीको खबर ः हुवावेमाथि गुगलको यो बन्देज हुवावेको प्रतिस्पर्धी सामसुङका लागि खुसीको खबर हुन सक्दछ । गुगलको पछिल्लो कदमले हुवावेको विश्वव्यापी बजारमा बिक्रिमा कमी आउनेछ । अहिले हुवावे सामसुङ पछिको विश्वको दोश्रो ठूलो स्मार्टफोन कम्पनी हो ।

· अनर ब्राण्डका स्मार्टफोनमा के होला ? हुवावेको भगिनी ब्राण्ड हनर पनि गुगलको पछिल्लो कदमले प्रभावित हुनेछ । अनरका सबै फोन एन्ड्रोइड अपरेटिंग सिस्टमबाट चल्ने गरेका छन् ।

· तर, एप्पललाई हुने छैन फाइदा । किनकी चीनमा अहिले एप्पल तथा समग्र अमेरिकी ब्राण्डका विरुद्धमा आवाज उठिरहेको छ । यसले चीनमा आइफोनको बिक्रिमा कमी ल्याउनेछ । चीन एप्पलको सबैभन्दा ठूलो बजार हो । अहिले चीनको सोसल मिडिया विबोमा अमेरिका विरोधी तथा एप्पल विरोधी आवाजहरुको बाढि आइरहेको छ ।

· अरु चिनिया स्मार्टफोन ब्राण्डको हविगत के हुन्छ ? तत्कालका लागि हुवावे मात्र अमेरिकाको कालोसूचिमा परेको चिनिया स्मार्टफोन ब्राण्डको रुपमा रहेको छ । यसले अमेरिकी बजारमा भर्खरै पाइला चालिरहेका चिनिया स्मार्टफोन ब्राण्डहरु वनप्लस तथा भिभो तत्कालका लागि कुनै असर पर्नेछैन । तर अमेरिका र चीनबीचको व्यापार युद्ध बढ्दै जाँदा सबैखाले चिनिया ब्राण्डहरुले अमेरिकी प्रतिबन्ध खेप्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment