Comments Add Comment

पलेँटीमा फेरि शान्ति ठटाल

८ जेठ, काठमाडौं । यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी श्रृङ्खला’का लागि दार्जिलिङबाट संगीतकार शान्ति ठटाल आफ्नो टीमका साथ काठमाडौ आइपुगेकी छिन् । उनले गान्तोकका आफ्ना दुई गायिका बिमला सेन्चुरी प्रधान र अञ्जली प्रधानलाई साथमा ल्याएकी छिन् ।

शान्ति ठटाल नेपाली संगीतका सबै विधामा क्रियाशील सफल संगीतकार हुन् । उनले फुटकर गीत बाहेक काव्य(संगीत अथवा क्यान्टटा, गीति नाटक, चलचित्र लगायत विविध विधामा सफलता प्राप्त गरेकी छिन् ।

सन् २००५ मा थालिएको पलेँटीको मञ्चमा शान्ति ठटालले यस अघि पनि पटक पटक सिर्जना प्रस्तुत गर्दै आएकी छिन् । उनले सन् २००६ को पलेँटी मार्फत् आफ्नो जीवनकै पहिलो एकल गायन प्रस्तुत गरेकी थिइन् ।

‘पलेँटीमार्फत् शान्ति दिदीसँग संगत गर्न पाउनु संगीत महाविद्यालयमा पढ्नु जत्तिकै हो । उहाँको सृजनशीलताले सँधै क्रियाशील हुन प्रेरित गर्छ । आठ दशक पार गरिसक्नु भएको शान्ति दिदीको सृजनात्मक सक्रियता देख्दा साँच्चै लोभ लाग्छ’ पलेँटी संयोजक आभासले भने ।

यही महिनाको १७ गते शुरु हुने शान्ति ठटालसँगको पलेँटी ३ दिनसम्म चल्ने छ । पलेँटी शान्ति ठटालसँगको सांगीतिक यात्रामा आधारित हुनेछ ।

पलेँटी निम्ति गीत छनोट गरिरहेकी संगीतकार ठटाललाई यसपालीको आगमनका बारे सोध्दा भनिन् ‘म यसभन्दा पहिले पनि धेरै खेप पलेँटी कार्यक्रममा संलग्न भइसकेकी हुँ । तर म जति खेप यहाँ आउँछु हरेकखेप नयाँ सांगीतिक उर्जा भेट्छु । आफ्नो उमेर पनि बिर्सन्छु । जाँगर बढ्छ । पलेँटी त मलाई आफ्नै घरको बैठक जस्तो पो लाग्छ ।’

कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा आयोजना हुने पलेँटीमा शान्ति ठटाल र उनको टीमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment