८ वैशाख, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका सुर्खेत संयोजक तथा संघीय परिषद सदस्यसहित २० जनाले राजीनामा दिएका छन् ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकता भएपछि संयोजक प्रचण्ड पोख्रेल र संघीय परिषद सदस्य रवि किरण हमाललगायत २० जना नेता कार्यकर्ताहरुले राजीनामा दिएका हुन् ।
समाजवादी पार्टीका उपाध्यक्षद्वय परशुराम खापुङ र हिसिला यमीलाई भेटेर उनीहरुले बुधबार राजीनामा पत्र बुझाएका हुन् ।
पार्टी एकता भएपछि केही असहमति राखेर डा. बाबुराम भट्टराईलाई आफूहरुले ६ बुँदे ज्ञापनपत्र बुझाएको तर चित्तबुझ्ने गरी सम्बोधन नभएपछि संयुक्तरुपमा राजीनामा दिएको प्रचण्ड पोख्रेलले बताए ।
उनले समाजवादी पार्टी गैरलोकतान्त्रिक भएको भन्दै गठन लगत्तै प्रदेश संख्या बढाउन माग गरिएकोप्रति सहमत हुन नसकेको बताए ।