८ जेठ, काठमाडौं । नेपालले एकदिवसीय मान्यता पाए पनि घरेलुको संरचना लथालिंग छ । क्रिकेट संघको निलम्बन कहिले हट्छ कुनै टुंगो छैन । एकाध फ्रेन्चाइज लिग र आईसीसीको तालिकाअनुसारको खेल खेलेर बस्नुबाहेक अरु विकल्प छैन ।
त्यस्तो बेला राष्ट्रिय केलकुद परिषद् (राखेप) ले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता गर्दैछ । त्यसैले होला यसअघि दुई संस्करण नलेखेका राष्ट्रिय टोलीका कप्तान पारस खड्का पनि यो पटक खेल्दैछन् ।
तर, खेलहरु हुने मुलपानी क्रिकेट मैदानको अवस्था भने दयनीय देखिएको छ ।
प्रतियोगिताको १० गते मुलपानीमा नै भब्य उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसको दुई दिन अघि पुग्दा एकदिवसीय मान्यता प्राप्त खेलाडीहरुले यस्तै मैदानमा खेल्ने हुन् भन्ने प्रश्न जो कोहीलाई उठ्छ । यतिसम्म कि मैदानभित्र घर छ, जहाँ फुलमाया लामाको परिवार बस्छ ।
बुधबार हामी पुग्दा माथिल्लो मैदानमा स्कुले विद्यार्थीहरु खेलिरहेका थिए भने तल्लो मैदानमा १०–११ जना कामदार पिच निर्माणमा जुटिरहेका थिए । लामो समयदेखि निर्माणाधीन रहेको यो मैदानमा एकातर्फ खुला प्याराफिट बनिसकेको छ ।
मैदानको अवस्था पनि कामचलाउ नै छ । तर, त्यसबाहेक सबथोक राम्रो छैन । बाँकी छाडौं, पिचसमेत अझै तयार भइसकेको छैन ।
मैदानभित्रै घर !
रंगशाला परिसरमा पर्ने ५२ आना जग्गा विभिन्न ब्यक्तिको नाममा छ । २ वटा घर बनेका छन्, जसमध्ये एउटा त मैदानभित्रै पर्छ । पिचबाट घरको दूरी मुश्किलले ५०/५५ यार्ड छ । जबकी पिचबाट बाउन्ड्रीको दुरी नै ६८ यार्ड भएको राम्रो मानिन्छ ।
पिच निर्माणमा जुटिरहेका क्युरेटर अजयबहादुर पाण्डे भने घरले असर नपर्ने दाबी गर्छन् । भन्छन्, ‘घर मैदानभित्रै परे पनि बाउन्ड्री बाहिर छ । मैदानमै भेटिएका राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा भने मैदानमै घर हुनु दुर्भाग्यपूर्ण मान्छन् ।
मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान लामो समय नबन्नुमा एउटा करण थियो, जग्गाको मुआब्जा । मैदानको बिचभाग मै करिब ५२ आना जग्गा व्यक्ति नाममा भएपछि निर्माण जिम्मा लिएको राष्ट्रिय खेलकुद परिषद्लाई मुख्य टाउको दुखाईको विषय बनेको थियो ।
राखेपका तत्कालिन सदस्यसचिव युवराज लामाकै पालामा यो रंगशालाको कार्य अघि बढेको थियो । त्यसबेला नै जग्गाको मुआब्जामा विवाद देखिए पनि यसतर्फ राखेप गम्भीर भएन । तर विवाद साम्य भइहाल्छ भन्ने राखेपको मनस्थितिविपरीत जग्गाधनीले आफ्नो भूमिमा घर ठड्याए, त्यो पनि एउटा होइन, दुईवटा ।
राखेपले २०७१ साल माघमा पहिलो चरणको टेन्डर आह्वान गरेर निर्माण सुरु गर्यो। रंगशालाको प्याराफिट र मैदान बन्दै थियो, विवाद पनि दिन प्रतिदिन चुलिँदै थियो । मैदानकै भागमा पर्ने करिब ५२ आनाको जग्गाको मुआब्जा विवाद चर्किएपछि विवाद समाधानतर्फ राखेप लाग्यो । राखेपले जग्गाको पैसा दिने भने पनि जग्गाधनीले जग्गाको बदला जग्गा नै पाउनुपर्ने अडान राखे ।
राखेपले मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरकै कुनै भागमा जग्गाको बदला जग्गा दिने निर्णय गर्दै युवा तथा खेलकुद मन्त्रालयमा पठाएको फाइल लामो समयपछि मन्त्रिपरिषद्मा गएर पारित भयो । अब विवाद समाधान उन्मुख भएको छ ।
जग्गाधनीले अर्को स्थानको लालपूर्जा पनि पाइसकेका छन् तर राखेपले स्थानान्तरण नगर्दा प्रधानमन्त्री कपलाई नै यो घरले गिज्याएको छ । जग्गाधनी फुलमाया लामा भन्छिन्, ‘हामीले सट्टाभर्ना जग्गाको लालपुर्जा पायौं । तर सरकारले अझै स्थानान्तरण गरेको छैन ।’
पिचको हालत पनि उस्तै
मुलपानीको तल्लो मैदानमा प्रतियोगिताको दुई दिनअघि सम्म पिच तयार भएको छैन । बुधबारबाट लाडेर लगाएर माटो पेल्न थालिएको छ । भोलि पिचमा रहेको दुबो काटिनेछ । तर, पर्सि उद्घाटनको दिनसम्ममा पनि पिचमा स्पाइक आउनेमा शंका छ ।
मुलपानीकै माथिल्लो मैदानमा रहेको पिच पाकिस्तानी क्यूरेटरले बनाएका थिए ।
तर, तल्लो मैदानमा त्यसरी काम नै भएको छैन । प्रधानमन्त्री कपका खेलहरु गर्ने भनेर हतारहतार काम गरिएको छ । एक साताको तयारीले गुणस्तरीय पिच बन्छ ? यहाँ प्रशस्त शंका गर्ने ठाउँछ ।
क्युरेटर पाण्डेल भने भने पिच निर्माणमा कुनै शंका नरहेको बताउँछन् । ‘बिहीबारभित्र हामी हस्तान्तरण गरिसक्छांै,’ उनले थपे, ‘केही ठाउँमा दुबो उम्रिएको छैन तर, यसले खेलाडीलाई असर पार्दैन । प्रतियोगितालाई मध्यनजर गर्दै पिच खेल्न योग्य बनाएका छौं ।’
तर, पिच निर्माणमा सानो कमजोरी हुँदा खेललाई कति असर गर्छ भन्ने धनगढी प्रमियर लिगको पछिल्लो संस्करणलाई हेरे पुग्छ ।
डीपीएलले पछिल्लो संस्करण ड्रिम फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलमा खेलायो । झण्डै दुई महिना लगाएर तयार पारेको ड्रिम फाप्लाको पिच गुणस्तरीय भएन । प्रतियोगिता मध्यम स्तरको रहे पनि पिच र मैदानकै कारण खेलाडीलाई निकै सकस भयो ।
यो त भयो मैदानभित्र रहेको घर र पिचको कुरा । यसबाहेक मैदानमा प्लेयर बक्सदेखि शौचालयसम्म कुनै पनि पूर्वाधार तयार भएको छैन । आउट फिल्ड पनि त्यति राम्रो हुन सकेको छैन ।
किन यति मरिहत्ते ?
पिच तयार भइसकेको छैन, मैदान परिसरमै घर छ, अरु पूर्वाधार पनि छैन । केही मिटरको दुरीमा माथिल्लो मैदान पनि छ । यसले स्वभाविक प्रश्न उठ्छ, तयार नै नभएको मैदानमा एकदिवसीय मान्यता प्राप्त खेलाडीहरुलाई किन खेलाइँदैछ ?
यसलाई राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वसँग जोडेर हेर्नु उपयुक्त हुन्छ । सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल सकिन लागेको छ । एकपछि अर्को विवादमा फसेका विष्टको कार्यकाल असार दोस्रो साता सकिँदैछ ।
हालै मात्र जसोतसो आठौं राष्ट्रिय खेदकुद प्रतियोगिता सम्पन्न गरेका विष्ट अब प्रधानमन्त्री कप क्रिकेटसँगै मुलपानीको दुबै मैदान आफ्नो पालामा बनाएको ‘दर्ज’ मात्र गराउन चाहँदैनन्, फेरि सदस्य सचिवमा दाबेदारी बलियो बनाउन गर्न चाहन्छन् । तर, तयार नै नभएको मैदानमा खेलाउँदाको मूल्य भने खेलाडीले चुकाउनु पर्ने हुनसक्छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4