Comments Add Comment

प्रदेशले पनि पदक र विभूषण दिन लागेको भन्दै विरोध

८ जेठ, हेटौंडा । सांसदहरुले सरकारले दिने पदक भ्रष्टाचार र गलत काम गर्नेहरुले पाउने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

बुधबार प्रदेश ३ सरकारले प्रदेश सभामा पेश गरेको ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सांसदहरुले सरकारी विभूषण र पदकको दुरुपयोग हुने गरेको बताएका हुन् ।

प्रदेश सांसद नरोत्तम वैद्यले विभिषण तथा पदकको दुरुपयोग र भ्रष्टाचार लागेका व्यक्तिहरुले पदक तथा विभुषण पाउँदै आएको भन्दै प्रदेशमा यसको आवश्यक नभउको टिप्पणी गरे । प्रदेशसभा सदस्यहरु सुरेन्द्रराज गोसाइ, सीता अधिकारी, विराजभक्त श्रेष्ठ, रमेश पौडेल, गिता वाग्ले, रिता माझी, जीवन डंगोलले आफ्ना कार्यकर्तालाई विभिुषण बाँड्ने नियतले सरकारले विधेयक ल्याएको भन्दै आलोचना गरे ।

सांसद रिना गुरुङले राम्रो काम गर्नेलाई पदक दिनुपर्ने भन्दै विभुषणको सुरुवात टिकौली घटनामा घाइते प्रहरी साहायक निरी कल्पना खड्कालाई दिएर सुरु गर्न सरकारसमक्ष आग्रह गरिन् ।

सत्तापक्ष सांसदले सरकारले ल्याएको विधेयक सान्दर्भिक भएको भन्दै प्रतिपक्षीको खण्डन गरे । नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँलले खराब काम गर्नेलाई दण्डित र असल काम गर्नेलाई सम्मान गर्नुपर्ने लोकतान्त्रिक बिधिअनुसार नै सरकारले विधेयक ल्याएको बताए ।

संसदमा उठेका बिषयहरुमा जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले गलत व्यक्तिलाई विभुषण बाँड्न सरकारले विधेयक नल्याएको बताए ।
प्रदेश सरकारले ल्याएको विधेयकमा ११ वटा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने २२ जनालाई हरेक वर्ष विभूषित गरिने जनाएको छ । प्रदेशस्तरमा ११ विधामा २२ वटा पदक तथा सम्मान प्रदान गरिने विधेयकमा उल्लेख छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको विधेयकमा प्रदेश शान्ति तथा सुरक्षाअन्तर्गत प्रदेश रक्षक, शान्तिमाला र शान्तिदीप, प्रदेश शिक्षा, स्वास्थ्य तथा खेलकुदअन्तर्गत शिक्षातर्फ प्रदेश दीप, स्वास्थ्यतर्फ मृत्युञ्जय र खेलकुदतर्फ प्रदेश सान, प्रदेश कृषि तथा सहकारीअन्तर्गत कृषितर्फ कृषिकिरण र सहकारीतर्फ सहकारी प्रवर्द्धन, प्रदेश उद्योग, पर्यटन विकास तथा वातावरण संरक्षण अन्तर्गत उद्योगतर्फ उद्यमशीलता, पर्यटनतर्फ प्रदेश स्रष्टा र वातावरणतर्फ वातावरण संरक्षण पदक प्रदान गर्ने उल्लेख छ ।

यस्तै प्रदेश पूर्वाधार विकासअन्तर्गत विकाससेवी, प्रदेश सूचना तथा सञ्चारअन्तर्गत प्रदेशदूत, प्रदेश विज्ञान तथा प्रविधिअन्तर्गत विज्ञानतर्फ अन्वेषण, प्रविधितर्फ नवप्रवर्तन, प्रदेश भाषा, कला तथा संस्कृति र साहित्यअन्तर्गत भाषातर्फ सुभाषिक, कलातर्फ कलाकीर्ति, संस्कृतितर्फ संस्कृतदीप र साहित्यतर्फ प्रदेश स्रष्टा पदक दिइने विधेयकमा उल्लेख छ ।

विधेयकमा प्रदेश सार्वजनिक प्रशासन तथा सुशासनअन्तर्गत जनसेवा, विपद् व्यवस्थापनअन्तर्गत विपद्सेवी र समाजसेवा लोककल्याणअन्तर्गत प्रदेश परोपकार पदक दिइने उल्लेख छ ।

सिफारिस गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री अध्यक्ष, प्रदेश सरकारका प्रमुख सचिव सदस्य, प्रदेशमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट समावेशी सिद्धान्तका आधारमा मन्त्रिपरिषद्ले तोकेको एक महिलासहित तीन जना सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्यसचिव रहेको ६ सदस्यीय समिति रहने व्यवस्था गरिएको छ ।

समितिले सिफारिस गरेको व्यक्तिलाई प्रदेश सरकार स्थापना भएको दिन माघ २९ गते पदकसहित सम्मानपत्र प्रदान गरिने विधेयकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment