Comments Add Comment

भोजपुर गोलीकाण्ड : बाबु सत्तापक्षमा, छोरो राज्यबाट मारिए

मुम्बईबाट फर्केको तीन सातापछि गोलीको शिकार भए तीर्थ

९ जेठ, भोजपुर । मंगलबार दिउँसो भोजपुर र खोटाङ्ग जिल्लाको सीमावर्ती क्षेत्र टेम्केमैयुङ्ग गाउँपालिका वडा नं. २ को धोद्रे जङ्गलमा प्रहरीको गोली लागेर घाइते भएका तीर्थ घिमिरेको उपचारका क्रममा मृत्यु भयो । उनको धरानस्थित घोपा क्याम्पमा बुधबार विहान ३ बजे मृत्यु भएको हो ।

तिघ्रामा गोली लागेको भनिएका तीर्थको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

‘घटनास्थलबाट गाडी बाटोसम्म ल्याउन समय लाग्यो, राति सडक अवरुद्ध हुँदा समयमा उपचारका लागि सुविधासम्पन्न ठाउँमा पु¥याउन सकिएन’ भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले अनलाइनखबरसँग भने ।

पञ्चायतकालमा बाबु सत्ता पक्षमा लागेको अवस्थामा पनि छोराछोरी विद्रोही बन्थे र जेलनेल भोग्थे । भोजपुरको यो घटनामा पनि विप्लव समूहको कार्यकर्ता भएको आरोपमा छोरो मारिए पनि उनका पिता चाहिँ सत्तापक्षीय नेकपाका कार्यकर्ता रहेको बुझिएको छ ।

विप्लवमा लागेको थाहा थिएन !

परिवारका सदस्यले बताएअनुसार तीर्थ घिमिरे कुनै पार्टीमा लागेको उनीहरुलाई थाहा नै थिएन । घटना सुनेपछि आफूहरु छाँगाबाट खसेझैं भएको बताउँदै बुवा रिमानाथ घिमिरेले गत मंगलबारदेखि छोरासँग आफ्नो सम्पर्क नभएको बताए ।

‘समाचारमा आएजस्तो नाम ठेगाना मिले पनि उमेर नमिल्दासम्म विश्वास थिएन, तर पछि अस्पतालमा बुझ्दा यकिन भयो ’ तीर्थका काका ललित घिमिरेले अनलाइनखबरसँग भने ।

२५ वर्षीय तीर्थका श्रीमती र तीनवर्षका एक छोरा छन् । परिवारका ४ सन्तानमध्ये कान्छा छोरा रहेका तीर्थले सन्त सावित्रा मावि सोमबारेमा १० कक्षासम्मको पढाइ सकेर खाँदबारीमा १२ कक्षासम्म पढेका हुन् ।

तीर्थ झण्डै ५ वर्षदेखि भारतको मुम्बईमा काकाकाकीसँग बसेर काम गर्दै कमाउँदै आएका थिए । उतै बसेर काम गर्ने र वर्षमा १÷२ पटक घर आउने उनी तीन साताअघि मात्रै गाउँमा आएको परिवार स्रोतको भनाइ छ ।

आफन्तका अनुसार उनी केही दिनअघि आफन्तकहाँ जान्छु भनेर घरबाट निस्केका थिए । स्थानीयका अनुसार तीर्थको यसअघिको राजनीतिक पृष्ठभूमि त्यस्तो केही देखिँदैन ।

विप्लव नेतृत्वका नेताले भने तीर्थ आफ्नो पार्टीको संगठित सदस्य भएको दाबी गरेका छन् । सगरमाथा ब्युरोका एक नेता शैलेशले अनलाइनखबरसँग भने, ‘केही दिन घर पुगेर आउने भनेर विदामा गएका हुन्, तर बाटोमै प्रहरीले पक्राउ गरी मुठभेडका नाममा यातना दिएर हत्या गरेको छ ।’

तीर्थका बाबु रिमानाथ घिमिरे भने पूर्वनेकपा माओवादीका वडा कमिटी सदस्य हुन् । उनी अहिले पनि नेपाल कम्युनिष्ट पार्टीका संगठित सदस्य रहेको नेकपाका षडानन्न नगर कमिटीका इञ्चार्ज मुकुन्द राईले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment