Comments Add Comment

१० महिनामै ठडियो दरबार हाइस्कुलको मुख्य भवन

१० जेठ, काठमाडौं । वैशाख २०७२ को विनाशकारी भूकम्पले भत्किएको ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) लामो समय अलपत्र रह्यो ।

तर जब चीनले निर्माण थाल्यो, झण्डै १० महिनामा नै स्कुलको भवन ठडिएको छ ।

१२८ वर्षे इतिहास बोकेको दरबार हाइस्कुल चीनको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण गरिएको हो । सुरुमा रेट्रोफिटिङ कि पुनर्निर्माण गर्ने भन्ने विवादका कारण काम भएको थिएन । तर, पुनर्निर्माण गर्ने निर्णयसँगै चीनले जिम्मा पाएको १० महिनाभित्रै भवन तयार भएको छ ।

अब फिनिसिङको काम मात्र बाँकी छ ।

शुक्रबार चिनियाँ राजदूत हउ यान्छी, नेपाली अधिकारी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले स्कुल पुनर्निर्माणको अवलोकन गरेका छन् ।

चिनियाँ राजदूत हउले कोठा–कोठा घुम्दै पुनर्निर्माणको प्रगति अवलोकन गरेकी थिइन् ।

चार तले नयाँ भवनमा ४६ कोठा छन् । कक्षा कोठामात्रै २२ वटा रहेका विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिए । नयाँ भवनमा आगामी मंसिरबाट पढाइ सुरु गर्ने लक्ष्य रहेको महतोले जानकारी दिए । हाल उक्त विद्यालयका विद्यार्थीहरुलाई अस्थायी रुपमा बाल्मीकि क्याम्पस परिसरमा बनाइएका टहरोभित्र पढाउने गरिएको छ ।

२०७५ साल साउन १८ गतेबाट दरबार हाइस्कुलको निर्माण कार्य सुरु भएको थियो । तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण कार्य सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक महतोले बताए । फिनिसिङको बाँकी काम ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीले चिनियाँ सहयोगप्रति आभार प्रकट गरे ।

कार्यक्रममा चिनियाँ राजदूत हउ यान्छीले नेपालमा भूकम्पले क्षति पुर्‍याएका २५ संरचना पुनर्निर्माणमा चीनले उच्च प्राथमिकता दिएको बताइन् । चीनले जिम्मा लिएका २५ संरचनामध्ये ६ वटामा काम जारी छ । त्यसैमध्येको एउटा दरबार हाइस्कुल पनि हो । उनले दरबार हाइस्कुलको मुख्य भवनको बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्राधिकरणका अधिकारीहरु दरबार हाइस्कुल निर्माण भूकम्पपछिको पुनर्निर्माणकै रोलमोडल परियोजना भएको बताउँछन् । किनकी धेरै परियोजनाको काम समयमा हुँदैन । तर, दरबार हाइस्कुल, वीर अस्पताल र प्रसूति गृहको भवन निर्माण तोकिएको समयभन्दा छिटो भएको छ ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमण गरेर फर्केपछि आफ्ना शाखा सन्तानलाई पढाउने उद्देश्यले विक्रम संवत् १९१० मा स्थापना गरेको विद्यालय नै अहिलेको दरबार हाइस्कुल हो । दरबार हाइस्कुलमा अंग्रेजी पढाउने शिक्षक राणा शासकहरुले बेलायतबाट झिकाउने गरेको इतिहासमा पढ्न पाइन्छ ।

सुरुमा यो स्कुल थापाथली दरबारको आँगनमा खोलिएको थियो । जंगबहादुरपछिका राणा शासकहरुले बिभिन्न स्थानमा यो विद्यालयलाई सारे ।

वि.सं.१९४२ मा रणोद्दीप सिंहको हत्यापछि वीरशमशेर राणाले दरबार हाइस्कुललाई जमलमा सारेका थिए । सुरुमा राणा परिवारले मात्र पढ्न पाउने यो विद्यालयमा वि.सं. १९३३ मा रणोद्दीप सिंहले राणाहरूका सेवामा खटिएका कामदारका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था गरेका थिए ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment