Comments Add Comment

गुजरातको ट्युसन सेन्टरमा आगलागी हुँदा २० विद्यार्थीको मृत्यु, २० गम्भीर

११ जेठ, काठमाडौं । विद्यार्थीहरुले खचाखच भरिएको भारतको एक ट्युसन सेन्टरमा शुक्रबार आगलागी हुँदा कम्तीमा २० विद्यार्थीको ज्यान गएको छ । २० विद्यार्थी गम्भीर घाइते छन् ।

गुजरात राज्यको सुरत शहरको एक ट्युसन सेन्टरमा पढाइ भइरहेका बेला आगलागी भएको हो । ज्यान गुमाउने अधिकांश किशोर–किशोरी छन् ।

माथिल्लो तलामा रहेको भवनमा एक्कासि आगो फैलिएपछि केही विद्यार्थी त्यसमै जलेका थिए । आगोबाट जोगिन केही विद्यार्थी भवनको माथिल्लो तलाबाटै हामफालेका थिए । त्यसबाट कतिपयको ज्यान जानुको साथै केही घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

‘आगोमा जलेर तथा हामफालर धेरै विद्यार्थीले ज्यान गुमाएका छन्’, सुरतका स्थानीय सरकारी अधिकारी दीपक सप्तलीले एएफपीसँग भनेका छन् ।

घटनामा २० विद्यार्थी गम्भीर घाइते छन् । उनीहरुको गुजरातका विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

भवनको छतमा राखिएका सामग्रीबाट आगो फैलिएको हुनसक्ने अनुमान सरकारी अधिकारीहरुले गरेका छन् । तर, प्रष्ट कारण खुलिसकेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगमा जुट्न स्थानीय अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment