Comments Add Comment

काँटै घट्ना अपडेट : द्रोपतीका श्रीमानको पनि मृत्यु

१२ जेठ, दार्चुला । अज्ञात समूहको कुटपिटबाट घाइते भएका ७० वर्षीय वीरभान महराको पनि मृत्यु भएको छ । महाकाली नगरपालिका-३ काँटैस्थित पसलमा सुतिरहेका द्रोपती, वीरभान र उनीहरुका १२ वर्षीय नातिलाई सुतेको बेला शनिबार राति अज्ञात समूहले आक्रमण गरेको थियो ।

वीरभानकी श्रीमती द्रोपतीको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते वीरभानको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता हिक्मतबहादुर बोहराले बताए । घाइते भएका नाति लोकेशलाई भने उपचारका लागि धनगढी रेफर गरिएको छ ।

बंगाबगड-दल्लेख सडक छेउमा पसल थापेर बस्दै आएका महरा परिवारमाथि आक्रमण गर्ने समूहले द्रोपतीले लगाएको गहनासमेत लिएको बताइएको छ ।

घट्नाको थप अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी प्रबक्ता बोहराले बताए । ‘धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको छ, साँझसम्म कुकुर आइपुग्छ, तबसम्म शव उठाइदैन,’ उनले भने ।

तालिम प्राप्त कुकुर मगाएर घटनाको अनुसन्धान गरिने र घटनाको अनुसन्धानका लागि उक्त कुुकुरले सहयोग गर्ने प्रहरीको भनाइ छ ।

अनुसन्धानका लागि भन्दै द्रोपतीको शव उठाइएको छैन भने उपचारका क्रममा मृत्यु भएका बीरभानको शवको पोष्टमार्टन पनि भोलि नै गरिने प्रहरी प्रबक्ता बोहराले बताए ।

केही व्यक्तिलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइएको छ । तर, प्रहरीले अनुसन्धानका क्रममा भएको भन्दै उनीहरुको नाम खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment