Comments Add Comment

सैनामैनामा ६ सय बढीलाई लालपूर्जा वितरण

१२ जेठ, बुटवल । सैनामैना नगरपालिकाले गाउँ ब्लकमा रहेका जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण शुरु गरेको छ ।

नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा लालपुर्जा वितरण शुरु गरेको हो । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्याल, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, नगर प्रमुख चित्रबहादुर कार्की, नापी विभागका महानिर्देशक प्रकाश जोशीले संयुक्त रुपमा लालपुर्जा वितरण गरेका थिए ।

आइतबार मात्रै करिब चार सय ६५ लालपुर्जा वितरण गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । गाउँ ब्लकमा रहेका विभिन्न वडाका १७ वटा ब्लकमा आइतबारदेखि सुरु भएको लालपुर्जा वितरणको कामलाई निरन्तरता दिइने र आगामी दिनमा पनि जारी रहने उनको भनाइ छ ।

साविकका पर्रोहा र सालझण्डी गाविस अन्तर्गत रहेका विभिन्न १७ वटा ब्लकका गाउँब्लकको समस्यामा रहेका समुदायलाई आइतबार एकैसाथ लालपुर्जा वितरण गरिएको हो ।

२०२३ सालमा तत्कालिन सरकारले एकसरो नापी गर्ने क्रममा छुटेका यहाँका गाउँब्लकका सयौं कित्ताहरुको लालपुर्जा छैन । सोही ब्लकका लागि सैनामैनाले लालपूर्जा वितरण गरेको हो ।

यहाँका सोरौली, पर्रोहा, चेथरी, सेरुवा, बक्सड, सदवोरा, कुस्मा, खलनपारा, बनकटवा, उत्तर दोगहरा, खखनपुर, रन्यौरा, विचौवापुर, उत्तर बरौली थता फच्कापुर र भच्कैया गाउँका चार सय ६४ लालपुर्जा वितरण गरिएको हो ।

पहिले नापी गर्दा गाउँ वस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ । घर वनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई सरकारले आईतवारदेखि पुर्जा वितरण गर्न सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए ।

लालपुर्जा वितरण गर्दै भूमिसुधार, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले आगामी चार वर्षभित्रमा सवै सुकुम्वासीहरुलाई जग्गाको मालिक बनाउने बताइन् । ।

नेकपाका महासचिव विष्णु पौडेलले सरकारले जनताका चाहना अनुसारको विकासका काम गरिरहेको भन्दै जनताले अव तीन वर्षभित्रमा विकासको अनुभूति गर्ने विश्वास व्यक्त गरे । सरकारले सुकुम्बासी समस्या समाधान गर्ने अठोट गरिसकेको र त्यसको पहिलो अभ्यास स्वरुप रुपन्देहीको सैनामैनाबाट जनतालाई जग्गाको मालिक वनाउने प्रक्रिया सुरु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment