Comments Add Comment

विप्लव बन्द : उपत्यकामा आंशिक प्रभाव, राजमार्ग सुनसान

१३ जेठ, काठमाडौं । प्रहरीको गोलीबाट भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरेको ज्यान गएको विरोधमा प्रतिबन्धित विप्लव समूहले सोमबार आह्वान गरेको बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव परेको छ । उपत्यकाबाहिरका जिल्लाहरुमा भने उपत्यकाको तुलनामा बढी प्रभाव देखिएको छ ।

आइतबार उपत्यकामा श्रृंखलाबद्ध बम विस्फोटपछि सरकारले सुरक्षा व्यवस्था मजबुत पारेको भन्दै सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरे पनि बन्दको त्रास उपत्यकामा देखिएको छ । अन्य दिनभन्दा आज निकै कम सवारी साधन चलेका छन् । निजी सवारी साधनहरु सडकमा केही बाक्लो देखिए पनि सार्वजनिक गाडीहरु कम चलेका छन् ।

निर्वाध रुपमा सवारी नचल्दा बिहानैदेखि जनजीवन प्रभावित भएको छ ।  सीमित मात्रामा चलेका सवारी साधनमा कोचिएर यात्रा गर्न यात्रुहरु बाध्य भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, उपत्यकाको सवारी आवागमन सोमबार बिहानैदेखि केही प्रभावित भएको छ । सडकमा सवारी गुडिरहेका भए पनि अन्य दिनभन्दा आज बिहानैदेखि कम सवारी चलेको महाशाखाको भनाइ छ ।

काठमाडौंबाट उपत्यका बाहिर जाने सवारी साधन बन्दको मारमा परेका छन् । त्रासले पृथ्वी, अरनिकोलगायतका राजमार्ग सुनसान जस्तै बनेका छन् । महाशाखाका अनुसार, उपत्यकाका नाकाबाट कुनै पनि सवारी बाहिरिएका छैनन् ।

यद्यपि, रात्रि बस भने उपत्यकाबाट बाहिरिएका थिए । पृथ्वी राजमार्गलगायतका विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु भेटिएपछि स्कर्टिङ गरेर रात्रिबसलाई गन्तव्यतर्फ पुर्‍याएको प्रहरीले जनाएको छ ।

बन्दको प्रभाव उपत्यकाका शैक्षिक संस्थाहरुमा पनि परेको छ । कलेजहरुका कक्षाहरु भएका छैनन् भने विद्यालयहरुले पनि बालबालिकालाई विद्यालय नपठाउन अभिभावकहरुलाई सूचित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment