Comments Add Comment

जनमुक्ति पार्टीले भ्रटाचारविरुद्ध अभियान चलाउने

१३ जेठ, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।

भ्रष्टाचारविरुद्ध तीन बुँदे माग राख्दै जनमुक्तिले यही जेठ १५ गतेदेखि सातै प्रदेशमा अभियान सञ्चालन गर्ने भएको हो ।

भ्रष्टाचारलाई देशद्रोहसरहको अपराध घोषणा गरी भ्रष्टाचार गर्नेलाई कम्तीमा आजीवन जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्ने कानूनी व्यवस्था हुनुपर्ने पार्टीका महासचिव केशव सूर्यवंशीले सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

भ्रष्टाचार सम्बन्धी मुद्दाको छिटोछरितो ढंगले टुंगो लगाउने सम्पूर्ण अधिकारसहितको स्वायत्त विशेष अदालतको संवैधानिक व्यवस्था गर्न र पञ्चायती व्यवस्थादेखि हालसम्मका भ्रष्टाचार प्रकरणमा र उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिबारे स्वतन्त्र ढंगले छानबिन गर्न शक्तिशाली नागरिक आयोग गठन गर्न पनि जनमुक्ति पार्टीले माग गरेको छ ।

भ्रष्टाचारविरुद्ध कडा कानून निर्माणमा सरकारलाई दवाव दिन सातवटै प्रदेशमा हस्ताक्षर संकलनसमेत गरिने उनले बताए ।

भ्रष्टाचार नियन्त्रणलगायत विभिन्न विषयमा पार्टीले गत असोज २५ गते सरकारलाई ३९ बुँदे ज्ञापनपत्र बुझाए पनि सरकारले बेवास्ता गरेको महासचिव सूर्यवंशीले बताए ।

पार्टीले आफ्नो तर्फबाट देशभरका नव धनाढ्य र अस्वभाविक ढंगले सम्पत्ति आर्जन गरेका व्यक्तिको तथ्यांक संकलन गरी सार्वजनिक गर्नेसमेत उनले बताए ।

केपी ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको बरु भ्रष्टाचारी र तस्करलाई संरक्षण गर्न लागिपरेको पार्टीको ठहर रहेको महासचिव सूर्यवंशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment