+
+
Shares

नेपाल–भारतको संयुक्त टोलीद्वारा खाँडो नदीको निरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते १७:५१

१३ जेठ, सप्तरी । खाँडो नदीको बहाब निकासका निम्ति नेपाल र भारतीय प्राविधिकको टोलीले सोमबार संयुक्त रुपमा अनुगमन गरेको छ ।

स्पष्ट धार नरहेको खाँडो नदीलाई नियन्त्रण गर्नका लागि दुबै देशका अधिकारीले निरीषण गरेको खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख बिष्णुदेव यादवले जानकारी दिए ।

नेपालको तर्फबाट जलस्रोत तथा सिञ्चाई विभागका महानिर्देशक सरिता दबाडी र उपमहानिर्देशक प्रदीपकुमार थापासहितका अधिकारी एवं भारतको तर्फबाट गंगा नदी नियन्त्रण अधिकारी सिकेएन दासको नेतृत्वमा आएका अधिकारीहरुले खाँडो नदीको अनुगमन गरेका हुन् ।

खाँडो नदीका कारण नेपालतर्फको जोखिममा रहेका ठाउँ, बहाब सिधा बनाउने ठाउँहरुको अनुगमन गरिएको खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख यादवले बताए ।

उनले अनुगमन गरिएका कुराहरु दुबै देशका अधिकारीहरुको काठमाडौंमा बस्ने बैठकमा राखेर समस्या समाधानको बिषयमा छलफल गरिने यादवको भनाइ छ ।

चुरेबाट बहाब हुने खाँडो नदीको मुहान नै थुन्ने गरी भारतीय पक्षले एकतर्फी रुपमा थुन्दा सप्तरीको धेरै गाउँ डुबानमा पर्दै आएको छ । तीन वर्षअघि भारतीय पक्षले सप्तरीको तिलाठी नजिकै सीमा नाकामा खाँडो नदीको मुहान थुन्ने गरी बाँध नै बनाउन शुरु गरेपछि नेपाली र भारतीय जनताबीच विवाद भएको थियो । विवादले कुटपिटको रुप लिँदा दुबैतर्फका सर्वसाधारण घाइते भएका थिए ।

खाँडो खोलाको नियन्त्रण र व्यवस्थापन गर्ने सहमति अनुसार भारत सरकारले चार बर्षअघि नै खाँडो खोला नियन्त्रण गर्न विस्तृत योजना प्रतिवेदन (डीपीआर) निर्माण गर्ने जनाएको थियो । सन् २०१५ को जनवरीमा पटनामा भएको बैठकमा नेपालका खाँडो खोलाको नियन्त्रण र व्यवस्थापन गर्ने सहमतिअनुसार भारत सरकारले यस्तो सहमति गरे पनि हालसम्म चासो देखाउन सकेको छैन ।

सोमबारको अनुगमनका क्रममा भारतीय पक्षले अब चाँडै डीपीआर तयार पारिने जनाएको छ । भारतीय अधिकारीले नेपालमा सञ्चालित लालबकैया, बाग्मती र कमला योजनाको काममा लागेका कारण खाँडो नदीको डीपीआर तयार पार्न नसकिएको जनाउँदै अब चाँडै तयार गरी आगामी बर्षसम्म नदी नियन्त्रणको काम सक्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?