Comments Add Comment

भरतपुरमा कुलमानको निर्देशन – विमानस्थल वरपरका तार हटाउनु

१३ जेठ, चितवन । हेटौंडाबाट आइतबार राति चितवन आएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यतालिका सोमबार बुटवल जाने थियो । तर, उनी विप्लवको बन्दका कारण भरतपुरम रोकिए ।

बन्दका कारण भरतपुरमा रोकिएका कुलमानले समयको सदुपयोग गरे । भरतपुरका समस्याहरूका बारेमा जानकारी लिए । समस्याको तत्काल समाधानका लागि निर्देशनसमेत दिएका छन् ।

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतो कार्यालयकै कामले हेटौंडामा रहेकोले कुलमानले भरतपुर महानगरपालिकामा पुगेर मेयर रेनु दाहालसँग समस्याबारे जानकारी लिएका छन् ।

भरतपुर विमानस्थलको दक्षिण पूर्व क्षेत्रमा रहेका विजुलीका तार र पोल नसार्दा हवाई दुर्घटनाको जोखिम बढेको जानकारी पाए लगत्तै कार्यकारी निर्देशक घिसिङले वितरण केन्द्रका प्रमुख सुरेश महतोलाई फोन गरेर तत्काल तार अण्डरग्राउण्ड गर्न निर्देशन दिए ।

पहिला नै गर्न भनिएको काम अहिलेसम्म पनि नभएको भन्दैं कुलमानले केन्द्रका प्रमुख महतोसँग असन्तुष्टि पोखे । विद्युत प्राधिकरणका पोल र तारका कारण भरतपुर विमानस्थलमा विमान अवतरणमा जोखिम हुँदै आएको छ ।

पटकपटक भरतपुर विमानस्थलले विजुलीका पोल र तार हटाउन अनुरोध गरे पनि यहाँको वितरण केन्द्रले बजेट नभएको भन्दैं आनाकानी गदैं आएको छ ।

भरतपुर विमानस्थलका प्रमुख पवन गौत्तमले पनि कुलमानलाई पोल र तार हटाइदिन आग्रह गरेका थिए ।

कुलमानले तत्काल तार हटाएर त्यसको जानकारी गराउन भरतपुर वितरण केन्द्रका प्रमुख महतोलाई निर्देशन दिएका छन् ।

हेटौडामा रहेका वितरण केन्द्रमा प्रमुख महतोले तार अण्डरग्राउण्ड गर्ने काम तत्कालै थालिने अनलाइनखबरसँग बताए ।

वाइपासका पोल सार्न निर्देशन

भरतपुरको आँपटारीदेखि केन्द्रीय बस टर्मिनलसम्म सडक विस्तारको काम सुरु भएको धेरै भैसक्यो । तर, पनि विद्युत कार्यालयले सडकमा रहेका पोल नसार्दा काम अघि बढ्न सकेको छैन ।

सडक विभागले पोल सार्न ७० लाख रकम विद्युत प्राधिकरणलाई दिएको छ । प्राधिकरणले सडकका केही पोल सो रकम खर्च गरेर सारे पनि बाँकी पोल सार्न रकम नपुगेको भन्दैं काम रोकिएको छ ।

करिब ४ किलोमिटर सडकखण्डमा पर्ने विद्युतका ७० प्रतिशत पोल सारीसकिएको छ । अन्य पोल सार्ने काम रोकिदा त्यसको मार सडक बिस्तार र रूख कटानमा परिरहेको छ ।

विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले वितरण केन्द्रमा प्रमुख सुरेश महतोलाई तत्काल पोल सार्न निर्देशन दिएका छन् ।

प्रमुख कार्यकारी निर्देशक कुलमानको निर्देशन पाएका वितरण केन्द्रमा प्रमुख सुरेश महतोले पर्सीबाट नै पोल सार्ने काम अघि बढाउने जानकारी दिए ।

कार्यकारी निर्देशक घिसिङले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा विद्युत ट्रान्र्सर्फमर राखेर कामलाई सहज बनाइदिन आग्रह गरेका छन् ।

पश्चिम चितवनका विभिन्न स्थानमा पटकपटक लाइन जाने समस्याका बारेमा पनि कुलमानले जानकारी लिएका छन् । उनले सो क्षेत्रका कर्मचारीहरुलाई समस्याको तत्काल समाधान गर्न निर्देशन दिए ।

कुलमानलाई चितवनका सवै क्षेत्रमा विधुत पुर्‍याउन चाहेको बताउँदै यसलाई दु्रत गतिमा अघि बढाउने र स्रोत साधानको अभाव हुन नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment