Comments Add Comment

प्रदेश ५ को नीति तथा कार्यक्रम बहुमतले पारित

१३ जेठ, बुटवल । प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभा वैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ५ बुँदे संशोधन प्रस्ताव अस्वीकृत गरेपछि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

कांग्रेसले नीति तथा कार्यक्रम नै प्रभावकारी नभएको भन्दै बुँदा नं १ देखि १ सय ६७ सम्मका विभिन्न शब्द परिमार्जन गर्नुपर्ने मागसहित ५ बुँदे संशोधन प्रस्ताव दर्ता गराएको थियो । प्रदेश सभा वैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र हमालले संशोधन प्रस्ताव पेश गरेपछि संसद वैठक केही घण्टाका लागि स्थगित भएको थियो ।

साँझ शुरु भएको वैठकमा सभामुख पूर्णबहादुर घर्तीले कांग्रेसको संशोधन प्रस्ताव निर्र्णयार्थ प्रस्तुत गरेकामा वहुमतले अस्वीकृत भएको हो ।

कांग्रेसले समग्र नीति तथा कार्यक्रममा राजनीतिक आन्दोलन भनिएकामा २००७ सालदेखि ०६२÷६३ सालको जनआन्दोलनसम्मका विभिन्न आन्दोलन उल्लेख गर्नुपर्ने, संघले प्रदेश सरकारको भूमिका नै कमजोर पार्न खोजेकोमा प्रदेश सरकार निरीह रूपमा प्रस्तुत भएकाले अधिकार लिन अग्रसर हुनुपर्ने, महिला, जनजाति, मधेस, मुस्लिमलगायतका विभिन्न वर्गको हितमा नीति कार्यक्रम नरहेको, खेलकुद विकासबारेमा ठोस रुपमा उल्लेख नभएकोले संशोधन गर्नुपर्ने मागसहित संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

सिंगारपटार गर्न सकिन्छ : मुख्यमन्त्री

बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रम सग्लो मान्छेसरह पूर्ण रहेको दावी गरे ।

उनले नीति तथा कार्यक्रम सग्लो मान्छेले सभ्य पोशाक लगाए सरह रहेको भन्दै सिंगारपटार गर्न बाँकी छ भने सांसदहरुको सुझावका आधारमा गर्न सकिने बताए । मुख्यमन्त्री पोखरेलले प्रमुख प्रतिपक्षीले विरोधका लागि विरोध गर्नुको औचित्य नभएको बताए ।

प्रदेशसभाको चौथो अधिवेशन अन्तर्गत अर्को वैठक मंगलबार दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment