Comments Add Comment

सावधान ! तपाईं असुरक्षित पो हुनुहुन्छ कि ?

जमना बद्लिएको छ । साथै मान्छेको नियत पनि । त्यसैले हिजोको दिनमा तपाईं जति निर्धक्क र ढुक्क हुनुहुन्थ्यो, आज अरु सचेत र सर्तक हुनेबेला आएको छ ।

किन होला ?

किनभने तपाईंमाथि थाहै नपाई अरुले कुकृत्य गर्न सक्छन् । तपाईंमाथि थाहै नपाई भावनात्मक खेलबाड हुनसक्छ । तपाईं थाहै नपाई मजाकको पात्र बन्न सक्नुहुन्छ ।

कहाँ छ खतरा ?

कुनै सपिङ मल वा सामान्य पसल, जहाँको पनि हुनसक्छ । ट्रायल रुम तपाईंको लागि असुरक्षित हुनसक्छ । अरुले प्रयोग गर्ने वा सार्वजनिक शौचालय, जहाँ तपाईं गोप्य नरहन पनि सक्नुहुनेछ । तपाईंको गोपनियता बाहिरिन सक्छ ।

त्यती मात्र होइन, कुनै शारीरिक परीक्षणका लागि तपाईं क्लिनिकमा जानुहुन्छ भने त्यहाँ पनि पूर्णत सुरक्षित हुनुहुन्छ भन्ने छैन । कतिपय शारीरिक परीक्षणको बेला तपाईंमाथि दूव्र्यवहार हुनसक्छ ।

सार्वजनिक यातायात, सार्वजनिक पार्क, होटल-लज, यी सबै कुरामा तपाईंले आफ्नो गोपनियताका लागि विशेष सर्तकता अपनाउनैपर्छ । नभए तपाईंको नितान्त व्यक्तिगत कुरा बाहिरिन सक्छ ।

कसरी हुनसक्छ गोपनियता भंग ?

मानौ तपाईं कुनै पसलमा लताकपडा किनमेलका लागि जानुहुन्छ । कपडा लिएर ट्रायल रुममा प्रवेश गर्नुहुन्छ । लुगा फेर्नुहुन्छ । नयाँ लुगाले कस्तो देखिन्छ ? आफैलाई नियाल्नुहुन्छ । हो, यतिबेला तपाईं सर्तक रहनुपर्छ ।

जहाँ तपाईं सुरक्षित र गोप्य ठानेर बेपर्वाह लुगाफाटो बदल्नुहुन्छ, त्यो दृश्य कुनै कुनाबाट कैद भइरहेको हुनसक्छ । तपाईंलाई थाहै छ, ट्रायल रुममा नदेख्ने गरी कुनै किसिमको हिडन क्यामेरा राख्न सक्छ भनेर जनचेतनामूलक श्रव्यदृश्य सामाग्रीहरु आउने गर्छन् । खासमा ट्रायल रुममा सर्तकता अपनाउनैपर्छ । त्यहाँ ‘हिडन क्यामेरा’ जोडिएको हुनसक्छ । खासगरी युवती/महिलाहरुको भिडियो रेकर्ड गर्ने खतरा रहन्छ ।

त्यसैले जब लताकपडा फेर्नका लागि कुनै ट्रायल रुममा प्रवेश गर्नुहुन्छ, त्यहाँ कति सुरक्षित छ ? नियाल्नुहोस् । चाहे कुनै ठूलो सपिङ मलमा पुग्नुहोस् वा सानोतिनो पसलमा नै, तपाईं पूर्णत सुरक्षित हुनुहुन्न । त्यसैले आफु ढुक्क भइसकेपछि मात्र लुगाफाटो बदल्नुपर्छ ।

प्रविधिको सहजताले गर्दा अहिले यसैको माध्याम अपनाएर अनेकौ कर्तुत गर्नेहरु सलबलाईरहेका हुन्छन् । तपाईंले जुन स्थानलाई गोप्य र सुरक्षित ठान्नुहुन्छ, त्यहाँबाट तपाईंको गोप्य भिडियो बाहिरिने भय रहन्छ ।

तपाईंले सर्तकता अपनाउनुपर्ने अर्को मूख्य ठाउँ हो, सार्वजनिक शौचालय । किनमेलमा गएको बेला, कार्यलयको कामकाजमा, यात्रामा वा कुनै काम विशेषले घरबाहिर रहेको बेला हामी सार्वजनिक शौचालय प्रयोग गर्छौ ।

शहरमा यस्ता थुप्रै सार्वजनिक शौचालय छन्, जहाँ सशुल्क वा निशुल्क शौच क्रिया गर्न सकिन्छ । तर, यसरी सार्वजनिक शौचालय प्रयोग गर्दा सावधानी भने अपनाउनुपर्छ । सार्वजनिक शौचालयबाट पनि तपाईंको गोपनियता बाहिरिन सक्छ ।

तपाईंले कुनै होटल, लजमा पार्टनरसँग अन्तरंग पल विताइरहनुभएको छ भने अरु बढी सर्तक हुनुपर्छ । होटल, लज वा यस्तै स्थानहरुमा तपाईंमाथि गोप्या क्यामेराले निगरानी गरिरहेको हुनसक्छ । त्यसैले आफु कस्तो लजमा, कस्तो कोठामा अन्तरंग पल साटिरहेको छु ? धैर्यतापूर्वक नियाल्नुहोस् । भोलिका दिनमा तपाईंले मानसिक तनाव झेल्न नपरोस् ।

यसैगरी सार्वजनिक स्थानमा हिँडिरहेको बेला, सार्वजनिक स्थानमा बसिरहेकै बेला तपाईंमाथि कुनै नियतले दृश्यांकन पो गरिदैछ कि ? सर्तक हुनुपर्छ । किनभने यो तपाईं निजत्वको कुरा हो । तपाईं आफ्नो व्यक्तिगत कुरालाई सार्वजनिक गर्न पक्कै रुचाउनुहुन्न । यस्तो अवस्थामा कसैले थाहै नपाई तपाईंको भिडियो रेकर्ड गरेर सार्वजनिक गरिदियो भने ?

सानो असावधानीले

खासगरी युवती, महिलाहरुको सानोतिनो असावधानीले ठूलो समस्या निम्तन सक्छ । तपाईंको त्यस्ता दृश्य/फोटो सार्वजनिक हुनसक्छ, जो तपाईंले गोप्य राख्न रुचाउनुहुन्छ । तपाईंले पहिरन बदल्दै गर्दा, शौच क्रिया गरिरहेको, कुनै सार्वजनिक स्थानमा बेपर्वाह बसिरहेको कुनैपनि किसिमको दृश्य/फोटो सार्वजनिक हुनसक्छ ।

अहिले यस्ता दृश्य/फोटो विभिन्न माध्यामबाट सजिलै फैलन सक्छ । त्यसलाई रोक्ने बलियो र भरपर्दो संयन्त्र हामीसँग छैन । त्यसैले हामी लाचार हुनुपर्ने वाध्यता आइलाग्छ ।

हुन त यस्तो कृत्य गर्नु अपराध हो । यस्ता कृत्य गरेको पाइएमा वा प्रमाणित भएमा दोषीले उम्कन पाउँदैन । उनीहरुलाई दण्ड, जरिवाना हुन्छ । तर, यतिबेलासम्म ढिला भइसकेको पनि हुनसक्छ । तपाईंको गोप्य सामाग्री सर्वत्र फैलिइसकेको हुनसक्छ । त्यसैले दोषी भेटिएमा कारवाही गर्ने भन्दा पनि मूख्य कुरा चाहि तपाईंले यी स्थानहरुमा सावधानी अपनाउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment