Comments Add Comment

बजेटमा रेलमार्गलाई ९ अर्ब छुट्याइँदै

१४ जेठ, काठमाडौं । रेलमार्गका लागि सरकारले अघिल्लो वर्षभन्दा दोब्बर बजेट विनियोजनको तयारी गरेको छ । विभिन्न रेलमार्गहरु निर्माणका लागि करिब ९ अर्ब बजेट विनियोजन गर्न लागेको स्रोतले बतायो ।

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा बजेटमा रेलका लागि जग्गा अधिग्रहण लगायतका कामका लागि बजेट छुट्याइन लागेको हो । पूर्वपश्चिमसहित अन्य रेलमार्गलाई प्राथमिकतामा राखेर बजेट आउने अर्थ मन्त्रालयका एक अधिकारीले बताए । गत वर्ष रेलका लागि ४ अर्ब ५० करोड छुट्याइएको थियो ।

रेल विभागले झण्डै २० अर्ब मागेको थियो । पूर्व–पश्चिम रेलमार्गमा पर्ने सबै जग्गा एकैपटक अधिग्रहण गर्ने गरी बजेट माग गरिएको थियो । अर्थले मागको करिब आधा बजेट दिन लागेको हो । सरकारले चीन तथा भारतलाई रेलमार्गले जोड्ने महत्वकांक्षी आयोजना अघि बढाउनसमेत यही रकम उपयोग गर्नेछ ।

रक्सौल–काठमाडौं र केरुङ–काठमाडौं जोड्ने रेल अनुदानमा बनाइदिन नेपालले भारत र चीनसामू प्रस्ताव गरेको छ । दुबै अन्तरदेशीय रेलमार्गलाई अघि बढाउन डीपीआर तयार गर्न यसै वर्षको बजेटले आवश्यक रकम व्यवस्था गर्नेछ ।

यस्तै काठमाडौं–लुम्बनी र काठमाडौं–पोखरा जोड्ने रेल, काठमाडौंमा मोनो वा मेट्रो रेल पनि सरकारको प्राथमिकतामा छ ।बजेटमा जनकपुर–जयनगर र जोगबनी–बिराटनगर ब्रोडगेज रेलमार्गमा रेल चलाउने गरी रकम विनियोजन हुँदैछ । दुबै रेलमार्गका लागि नयाँ रेल किनिनेछ ।

पूर्व–पश्चिम रेलमार्गमा अहिले बर्दिबास–सिमरा खण्डको एक भागमा ३० किलोमिटरको रेल्वे ट्रयाक निर्माण भइरहेको छ । अब सिमरासम्मको रेल्वे खण्डको ट्रयाक खोल्ने तयारी छ ।

पहिलो चरणमा महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्म ट्रयाक खोल्ने काम भइरहेको छ । पर्याप्त बजेट नहुँदा यो खण्डमा कामको गति सुस्त छ ।

सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रुटलाई ९ खण्डमा विभाजन गरेको छ । मूल खण्डहरु ९४५ किलोमिटरको भए पनि पोखरा–काठमाडौं, काठमाडौं–वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने १ हजार ३ सय ७६ किलोमिटर हुनेछ ।

बुटवलदेखि गड्डाचौकीसम्म ४२१ किलोमिटरको डीपीआर तयार भइसकेको छ । नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर बनिसकेको छ भने इनरुवादेखि काँकडभिट्टा खण्डको डीपीआर तयार भइसकेको छ । निजगढ–इनरुवा खण्डमा त निर्माणको काम नै सुरु भएको छ ।

हाल निजगढ–हेटौैंडा–चितवन खण्डको डीपीआर तयार गरिँदैछ । यो काम सकिएपछि पूर्वापश्चिम रेलमार्गको मुख्य खण्डको डीपीआर तयार हुनेछ ।

पूर्वपश्चिम रेलमार्गको निर्माणको प्रक्रिया सन् २००८ मै सुरु भएको थियो । तर, रेलमार्ग निर्माणको कार्यले अझै गति लिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment