Comments Add Comment

किन मान्छेले अरुलाई होच्याउँछन् ?

एउटा रमाइलो प्रसंग छ । एक चित्रकारले निकै मेहनतसाथ चित्र तयार गरे । चित्र प्रदर्शनीमा राखियो । सबैले चित्र हेरे । हेर्नेजतिले केही न केही गल्ती-कमजोरी औल्याए । उनीहरुले चित्रको सुन्दर पक्ष हेर्ने भन्दा पनि त्यसको खोट पहिल्याउने काम गरे ।

अर्कोदिन उही चित्रकारले चित्र तयार गरे । प्रदर्शनीमा लानुअघि आगन्तुकलाई आग्रह गरे, ‘यहाँ के-के कुरा मिलेको छैन त्यो तपाईंहरुले सुधार गरिदिनुहोस् ।’

भोलिपल्ट चित्रकारले हेरे, उनको चित्रमा कुनै फेरबदल छैन । सबैले यो त्रुटी छ त भनिदिए । तर, त्यसलाई कसरी सुधार्ने भन्ने कुरा कसैसँग थिएन ।

मान्छेका लागि धेरै सजिलो काम हो, अरुको गल्ती औल्याउने । अरुको कमजोरी खोतल्ने । जबकी त्यसलाई कसरी सुधार गर्ने भन्नेमा मान्छे मौन बस्छ । त्यसैगरी मान्छेले राम्रो भन्दा बढी नराम्रो देख्छ । नरम्रो कुरा नै खोतल्छ । नराम्रो कुरा नै उप्काउँछ । नराम्रो कुरा नै चर्चा गर्छ । त्यहाँ कति राम्रो कुराहरु पनि होलान् । कति सुन्दर चिजहरु पनि होलान् । मान्छेले यस्ता कुरालाई भने बेवास्ता गरिदिन्छ ।

एउटा व्यक्तिले सेतो पेपरमा सानो थोप्ला कालो पोतिदिए । त्यहाँ उपस्थित मान्छेहरुलाई सोधियो, ‘तपाईंले यहाँ के देख्नुभयो ?’

सबैले एउटै जवाफ दिए, ‘कालो बिन्दु ।’

त्यो कालो थोप्लोभन्दा बढी त सेतो वा सफा भाग थियो । तर, मान्छेको आँखा सफा भागमा भन्दा बढी कालोमा गएर केन्दि्रत भयो । उनीहरुले देखे, त्यहाँ कालो थोप्लो नै छ ।

अरुको आङको जुम्रा

तपाईंको गल्ती, कमजोरी एवं त्रुटीबारे चियोचर्चा गरिन्छ । तपाईंले कुनै गल्ती गर्नुभयो भने त्यो कुरा तपाईंका आफन्त, चिनेजानेका, साथीभाई सबैकहाँ फैलन्छ । जबकी कुनै राम्रो काम गर्नुहोस्, त्यसबारे हत्तपत्ती चर्चा हुँदैन ।

जसरी तपाईंको गल्ती-कमजोरीले क्षणभरमै फैलन्छ, उसैगरी तपाईंको प्रगति एवं उन्नतीले व्यापकता पाउँदैन ।

हाम्रो प्रवृत्ति के हुन्छ भने अरुको गल्ती चाडै फेला पार्ने । अरुको गल्ती कमजोरी नै खोज्ने । अरुको गल्ती कमजोरीबारे नै चर्चा गर्ने । मान्छे सर्वगुणी हुँदैनन् । केही न केही दोष हुन्छ । केही कमजोरी हुन्छ । हामी त्यही दोष, कमजोरी केलाउँछौ । जबकी उनको राम्रो गुणको चर्चा गरिदैन ।

अरुले सानो गल्ती गर्नुहुँदैन, हामी बढाईचढाई गरेर त्यसको चर्चा गर्छौ । अरुको केही कमजोरी देख्नुहुँदैन, हामी अरु बढाईचढाई सुनाउन थाल्छौ । हामीलाई अरुको गल्ती, कमजोरी सुनाउन किन रुची लाग्छ ? किन अरुको दोष खोतल्नमा रमाइलो मान्छौ ? किन अरुलाई होच्याउँदा आनन्दित अनुभूत गर्छौ ?

आफैलाई सान्तवना

हामी अरुलाई होच्याएर आफु रमाउँछौ । अरुको कमजोरी केलाएर रमाउँछौ । अरुको दोष खुट्याएर रमाउँछौ ।

हामीमा यस्तो प्रवृत्ति यसकारण विकास हुन्छ कि, जब हामी ग्लानी, कुण्ठा, इष्र्याले खुम्चिएका हुन्छौ । हामी कुष्ठित हुन्छौ । दम्भ र इष्र्याले मुर्मुरिएका हुन्छौ । यही कारण हामी आफैलाई सान्तवना दिन, आफैलाई शान्त तुल्याउन अरुको गल्ती कोट्याउन थाल्छौ ।

अरुलाई होच्याएर हामी आफैलाई सान्तवना दिइरहेका हुन्छौ । किनभने अरुको प्रगति, अरुको उन्तती, अरुको सफलताले हामीमा एक किसिमको ग्लानी, इष्र्या पैदा गरिरहेको हुन्छ ।

किन अरुको गुणगान गाइदैन ?

अरुको गुणगान गर्ने कुरामा हामी निकै कञ्जुस हुन्छौ । अरुको राम्रो पक्षबारे हामी चर्चा गर्न त्यती रुची राख्दैनौ । अरुको प्रगतिको कुरा गर्न हामी त्यती जाँगर देखाउँदैनौ ।

त्यही मान्छेले कुनै सानोतिनो गल्ती गरेमा हामी खोजीखोजी त्यसबारे चर्चा गर्छौ । जबकी त्यही मान्छेले कुनै राम्रो काम गरिरहेको छ भने हामी सकेसम्म अरुले थाहा नपायोस् भनेझै गर्छौ ।

अरुको दुर्गुण हामी कोट्याई-कोट्याई सुनाउँछौ, अरुको सत्गुण भने सकेसम्म ढाकछोप गर्छौ । अरुको गुणगान गर्न गर्नुपर्दा हामी त्यती खुल्दैनौ । भित्रभित्रै खुम्चन्छौ । किन ?

किनभने हामीलाई दम्भ, इष्र्या, प्रतिसोधले यति बलियोसँग थिचेको छ कि, खुलेर अरुको गुणगान गाउनै सक्दैनौ । यस्तै मनोविकारले हामी ग्रस्त छौ ।

तर, सबै मान्छे यस्ता हुँदैनन् । धेरैजसो मान्छे चाहि यस्तै हुन्छन् । जसले आफ्नो मनोविकार हटाएका छन्, उनीहरुले सबैलाई तटस्थ आँखले नै हेर्छन् । जे हो, त्यही देख्छन् । जे छ, त्यही देख्छन् । कसैप्रति उनीहरु पूर्ववत् धारणा बनाउँदैनन् । यस किसिमको निष्पक्ष हेराईले मान्छेको दुर्गुण मात्र देख्दैन, गुण पनि देख्छ । गुण र दुर्गुण केलाउँछ । अरुको खुलेर प्रसंशा गर्छ । अरुको सुन्दर पक्षबारे चर्चा गर्छ । उनीहरुको मनमा इष्र्यभाव हुँदैन । दम्भ हुँदैन । ग्लानी हुँदैन । प्रतिशोध हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

छोरा ! उठ न

Advertisment