Comments Add Comment

अष्ट्रियामा नेपाली समुदायलाई उपराष्ट्रपतिको आग्रह : नेपालको प्रचार गरिदिनू

१५ जेठ, भियना । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको राजधानी भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

स्थानीय समय अनुसार मंगलबार राति आयोजित समारोहमा उपस्थित भएर उपराष्ट्रपतिले अष्ट्रिया र नजिकका यूरोपियन मुलुकमा बसोबास गर्ने नेपाली समुदायसँग अन्तरक्रिया गरे ।

उपराष्ट्रपति पुनले नेपाल स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको उल्लेख गर्दै नेपालको समृद्धिको यात्रामा विदेशमा बसोबास गर्ने नेपाली समुदायले योगदान दिनुपर्ने बताए ।

उनले विदेशमा बस्दा कमाएको पूँजी, सिकेको सीपलाई नेपालको विकास प्रक्रियामा प्रयोग गर्नुपर्ने बताए । उपराष्ट्रपति पुनले नेपालमा आएको राजनीतिक परिवर्तनप्रति गौरव गर्न विदेशमा रहेका नेपाली समुदायलाई आग्रह गरे ।

उनले नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको बताउँदै त्यसबारे प्रचारप्रसार गर्न भियनास्थित नेपाली समुदायलाई आग्रहसमेत गरे ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विदेशमा बस्ने हरेक नेपाली नेपालको दूत भएको बताए ।

उनले नेपाल समृद्धिको मार्गमा बढेको बताउँदै अघिल्लो वर्ष आधार वर्ष भएको बताए । ‘हामीले भनेका छौँ कि अघिल्लो वर्ष आधार वर्ष बन्यो, संरचना बन्यो, अब विकास र समृद्धिको यात्रालाई गति पकड्ने छ,’ उनले भने ।

कार्यक्रममा अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुबेदीले भियनामा दूतावास स्थापनापछि अष्ट्रिया र नेपालको कुटनीतिक सम्बन्ध विस्तार भएको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, अष्ट्रियाका अध्यक्ष जीवनजंग कुँवरले विदेशमा रहेको नेपालीहरुले विभिन्न कठिनाइ भोगिरहेको र सकेसम्म स्वदेश र्फकन चाहिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment