+
+

नेपालका कम्युनिस्ट पनि इतिहास बन्न सक्छन् : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते १८:००

१७ जेठ, बुटवल । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार अग्नि परीक्षामा रहेको बताएका छन् ।

संसारभरिबाट कम्युनिस्टहरु बढारिएको र भारतमा हालै सम्पन्न चुनावमा बीउ पनि नरहेको उदाहरण दिदै यादवले भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार र विभेदमा परेकालाई न्याय दिन नसके नेपालमा पनि कम्युनिस्ट इतिहासमै सीमित हुने दावी गरे ।

‘संसारभरी कम्युनिस्ट बढारिए, भारतमा पनि बीउसमेत रहेन,’ भैरहवामा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै यादवले भने, ‘अब नेपालमा पनि कम्युनिस्टको अग्नि परीक्षा शुरु भएको छ,परीक्षामा पास भए टिक्लान् नभए इतिहासको पात्र हुन्छन् ।’

अध्यक्ष यादवले संविधान संशोधन गर्ने बेला आइसकेको भन्दै नभए यथास्थितिमा मुलुक अघि नबढ्ने चेतावनी दिए । ‘हाम्रो पार्टी संविधान संशोधन र विभेदमा परेका वर्ग समुदायलाई न्याय दिने शर्तमा सरकारमा सहभागी भएको हो,’ यादवले भने, ‘अहिलेसम्म यी दुई माग सम्बोधन भएका छैनन्, अब बेला आइसकेको छ,नगर्ने हो भने मुलुक अघि बढ्न सक्दैन ।’

प्रधानमन्त्रीले ऐनहरु बनाएर संशोधन गर्ने बताउने गरेको स्मरण गर्दै उपप्रधानमन्त्रीसमेत रहेका यादवले अब प्रधानमन्त्रीले गम्भीर भएर सोच्ने बेला आएको बताए ।
आफ्नो पार्टी संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिने भएकाले त्यो संख्या पुर्‍याउन सरकारमा गएको यादवले स्पष्ट पारे ।

संघीयतालाई बलियो बनाउन र संस्थागत गर्न ठूलो चुनौती रहेको भन्दै उनले प्रदेशहरुलाई राजनीतिक, आर्थिक र साधनस्रोतले सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?