
२० जेठ, लमही । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहारमा यात्रु बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।
चितवनको नारायणगढबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १२६४ नम्बरको बस गएराति करिब सवा बाह्र बजेतिर दुर्घटना भएको हो ।
यात्रुले शौच गर्ने भनेपछि चालकले रिहार नजिकै जंगलमा बस रोकेका थिए । त्यहि बेला बस आफैं गुडेर सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सामान्य घाइतेहरुको लमहीमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई उपचार गर्न बाँकेको नेपालगञ्ज रिफर गरिएको छ । गम्भीर घाइते हुनेमा कैलालीको टिकापुर ८ बस्ने ६५ वर्षीय भागीराम डगौरा, उनकी श्रीमती ६० वर्षीया बेज्या चौधरी, कैलालीकै लम्किचुहा- ६ बस्ने ३५ वर्षीय कृष्ण भण्डारी र डडेल्धुरा अमरगढी २ बस्ने ५० वर्षीय गोपाल सार्की छन् ।
बसमा ४० जना यात्रु थिए ।
प्रतिक्रिया 4