Comments Add Comment

बच्चालाई सोशल मिडियामा कति ‘भाइरल’ बनाउने ?

तपाईंले देख्नुभएकै होला, अहिले सोशल मिडियामा कतिपय बालबालिकाको भिडियोले उधुम मच्याएको छ । बच्चाहरु हाँसेको, खेलेको, खाएको, गाएको, उफ्रेको, नाचेको, रोएको, लडेको भिडियोमा कैद गरिन्छ । त्यसलाई सोशल मिडियाबाट सबैसामु साझेदार गरिन्छ । यहीमध्येका कतिपय भिडियो ‘भाइरल’ भइदिन्छ । ‘नेम र फेम’ कमाउने छुटै प्लेटर्फम पनि हो यो । अतः नाम र चर्चाका लागि अहिले धेरैले यस्तै काइदा अपनाउने गरेका छन् ।

के तपाईं पनि आफ्ना बच्चाको यस्तै भिडियो बनाउन चाहनुहुन्छ ? भिडियोलाई सामाजिक सञ्जालबाट साझेदार गर्न चाहनुहुन्छ ? बच्चालाई ‘भाइरल’ बनाउन चाहनुहुन्छ ? त्यसो हो भने तपाईंले एकपटक मनन गर्नैपर्छ कि आखिर यसबाट तपाईंलाई के लाभ मिल्छ ? कुन उदेश्यले तपाईं यावत् कुरा गरिरहनुभएको छ ?

हुन त अहिले हामी डिजिटल युगमा हुर्किरहेका छौ । जीवनलाई समय सुहाउँदो बनाउनुपर्छ पनि । हामी पछि हुर्किरहेका साना बालबच्चालाई डिजिटल युगमै अभ्यस्त गराउन पनि हामीले यस्तो काम गरिरहेका छौ होला । यसबाट हामीमध्ये कतिलाई फाइदा पनि मिलेकै होला । तर, यसको सीमा र सर्तहरु पनि ख्याल गर्ने कि ?

सकारात्मक पक्ष

हामीले अहिले जसरी आफ्ना बालबच्चाको भिडियो बनाउने, सामाजिक सञ्जालमा साझेदार गरिदिने काम गरिरेका छौ, त्यसले के राम्रो गर्छ त ? प्रथमत हामी यसको सकारात्मक पक्षतर्फ लागौं ।

जब हामी बच्चालाई नाच्न, गाउन, चित्र कोर्न, उफ्रिन, रमाउन, खेल्न लगाएर त्यसको भिडियो बनाइदिन्छौ, त्यसबाट उनीहरु थप हौसिन सक्छ । आफ्नो कला, रचनालाई थप उजागर गर्न सक्छ । अर्थात यो एक साना बच्चाको प्रतिभा उजागर गरिदिने मेलो पनि बन्न सक्छ ।

बच्चामा भएको कला वा रचनात्मक क्षमता देखाउने र त्यसलाई मलजल गर्ने माध्याम पनि हो यो । उनीहरु जे जान्दछ, जे गर्न चाहन्छ, जे कुरामा रुची राख्छ, त्यही गर्न लगाएर भिडियो बनाइदिनुको फाइदा उनीहरुलाई त्यसबाट थप हौसला मिल्छ । उनीहरु उत्साहित हुन्छन् । आफ्नो कला, शिल्प देखाउन थाल्छन् ।

यसले उनीहरुको रचनात्मक क्षमता विकासमा केही न केही सघाउ पुर्‍याउँछ । भिडियो बनाएर साझेदार गरिसकेपछि अनेक किसिमको प्रतिक्रिया आउँछ । त्यसले उनलाई प्रेरणा मिल्नका साथै आफ्नो कमजोरी पनि थाहा हुन्छ । किनभने सबैले सकारात्मक प्रतिक्रिया मात्र दिइरहेका हुँदैनन्, कतिपयले गल्ती कमजोरी पनि खुट्याइरहेका हुन्छन् ।

सानै उमेरमा बच्चालाई सबैको सामु उभिएर कला देखाउन लगाउँदा त्यसले उनीहरुको आत्म मनोवल बढ्छ । भोलिका दिनमा उनीहरु कमजोर हुँदैनन् । कतिपय कुरालाई सहज रुपमा झेल्न र धान्न सक्ने क्षमता विकास हुन्छ ।

तर, ख्याल गर्नुपर्ने कुरा

तपाईं/हामी चाहन्छौ, आफ्नो बच्चा प्रतिभाशाली भएको । आफ्नो बच्चालाई सबैले चिनेको । आफ्नो बच्चा प्रख्यात भएको ।

हामीभित्रको यही आकंक्षाले गर्दा बच्चालाई नाच्न, गाउन, खेल्न, उफ्रिन, अभिनय गर्न लगाएर हामी त्यसको भिडियो बनाइदिन्छौ । सामाजिक सञ्जालमा साझेदार गरिदिन्छौ । राम्रै तालमेल मिलेमा यस्ता भिडियो धेरैको सम्पर्कमा पुग्छ । मनोरञ्जन लिन्छन् । सबैले हेर्छन् । चिन्छन् ।

यहाँसम्म त ठिक छ । हाम्रो उदेश्य पुरा भयो ।

तर, ति अवोध बच्चाले स्वतस्फूर्त केही कला वा आफ्नो खुबी प्रस्तुत गरिरहेका छन् कि, हामीले जबरजस्ती गराइरहेका छौ ?

तपाईं/हामीले गंभिरतापूर्वक मनन गर्नैपर्ने कुरा चाहि यही हो । बच्चासँग केही न केही क्षमता छ । उसले त्यसलाई देखाउन चाहन्छ । अब हामी सहयोगी बन्न सक्छौ । कतिपय बच्चासँग आफ्नै किसिमको खुवी छ । त्यसलाई उनीहरु देखाउन असहज मान्छन् । हामीले उनीहरुको त्यस्ता खुबी चिनेर त्यसलाई उजागर गर्ने मेलोमेसो मिलाइदिन्छौ । यी सही तरिका हुन् ।

तर, गलत तरिका भनेको हामी आमाबुवाको इच्छा र आकंक्षा पुरा गर्न बच्चालाई माध्याम बनाउन सही हुन्न । धेरैजसो अवस्थामा चाहि यस्तै भएको हुन्छ । मनोविज्ञहरु के भन्छन् भने, कतिपय व्यक्तिले आफ्नो जीवनमा पुरा गर्न नसकेको इच्छा छोराछोरीमाथि लाद्ने गर्छन् ।

जस्तो कुनै एक व्यक्ति डाक्टर बन्न चाहन्थे । सकेनन् । उनी आफ्ना छोराछोरीलाई डाक्टर बनाउन चाहन्छन् । कुनै व्यक्ति कलाकार बन्न चाहन्थे । सकेनन् । उनी आफ्ना छोराछोरीलाई कलाकार बनाउन चाहन्छन् । यो चाहना बेठिक होइन, यदि छोराछोरीमा पनि त्यस्तै गुण र रुची छ भने । तर, आफ्नो बालबच्चाको रुची, इच्छा, आकंक्षा, खुबी नबुझी उनीहरुलाई आफ्नो उदेश्य अनुरुप नचाउनु चाहि गलत मात्र होइन, घातक पनि हो ।

के देखिन्छ भने कलिला बच्चालाई नाच्न लगाइन्छ । अभिनय गर्न लगाइन्छ । गाउन लगाइन्छ । त्यसको भिडियो कैद गरेर साझेदार गरिन्छ । यसरी सार्वजनिक हुने सामाग्रीमा धेरैजसो बच्चाको हर्कत वा अवोधपन हेरेर मनोरञ्जन लिइरहेका हुन्छन् । यो भनेको सर्कसमा बाँदर नाचेर लिइने मनोरञ्जन जस्तै हो ।

बाँदरलाई थाहा हुँदैन कि, म नाच्दैछु । मैले स्टन्ट देखाउँदैछु । उसले त अरुको आदेश पालना गरेको हो । यसरी आदेश पालना गरिरहँदा त्यसबाट अरुले मनोरञ्जन लिन्छ भन्ने पनि उनलाई हेक्का हुँदैन ।

कलिला एवं अवोध बालबच्चा, जसलाई आफुलाई के गराइदैछ र किन गराइदैछ भन्ने थाहा छैन, उनीहरुलाई आमाबुवाले अनेकन कुरा गर्न लगाएर त्यसलाई सार्वजनिक गर्दा भोलिका दिनमा कुनै समस्या पो पर्छ कि ?

हाम्रो इच्छा त बच्चाको कला उजागर गरिदिने होला । बच्चालाई सबैको अगाडि चिनाउने होला । तर, भोलि बच्चाले आफ्नै जीवन बाँच्नुपर्ने हुन्छ । त्यसबेला उनलाई कतिपय आफ्नो गोपनियता भंग भएको मन नपर्न सक्छ । तर, आफुले थाहा नपाई भर्चुअल संसारमा आफ्ना सबै कुरा उदांगो भइसकेको छ भने त्यसले केही असर पक्कै गर्छ ।

सबैजनालाई नेम र फेम कमाउने रहर हुँदैन । आज नै चर्चा कमाएर, भाइरल भएर भोलिका दिनमा निजी जीवन बाँच्न पनि गाह्रो हुन्छ । व्यक्तिगत कुराहरु आफैसँग समेट्न गाह्रो हुन्छ । त्यसैले हामी आमाबुवाले बच्चालाई ‘भाइरल’ बनाउने चक्करमा के गरिरहेका छौ ? एकपटक मनन गर्नैपर्छ ।

हामीले आफ्नो इच्छा र आकंक्षाको भारी पो उनको थाप्लोमा बोकाउँदैछौ कि ?

हामीले उनको हर्कत, अवोधपनलाई ‘ठट्टा’को विषय पो बनाउँदैछौ कि ?

हामीले उनको बालापान पो खोसिदिएका छौ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment