Comments Add Comment

रविन्द्रको योजना–‘आफ्नै भवन र राजनीति मुक्त कलाकार संघ’

चलचित्र कलाकार संघले, जेठ २५ गते नयाँ नेतृत्व चयन गर्दैछ । यस भन्दा अगाडि हुन लागेको साधारण सभामा उजुरी परेपछि स्थगित भएको थियो । यसपटक भने, कलाकार संघको साधारण सभा हुने पक्का जस्तै छ । यसपटक, चलचित्र कलाकार संघको निर्वाचनले फेरि माहोल तताएको छ । अध्यक्ष रामकेशर बोगटीको दुर्घटनामा परेर निधन भएपछि कलाकार संघले नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

तर, बिडम्बना नै भन्नुपर्छ कलाकार संघ र यसको निर्वाचनप्रति धेरै कलाकारलाई चासो नै छैन । चलचित्रमा भन्दा राजनीतिमा रमाउनेहरुलाई यसको निर्वाचनले छोएको छ । अधिकांश कलाकार निर्वाचनमा खासै उत्साहित छैनन् । यतिमात्र होइन, चलचित्र कलाकार संघप्रति नै पछिल्लो समयमा कलाकारको उत्साह देखिदैन । बायोडाटा बनाउनका लागि मात्र धेरै कलाकार संघमा पुग्ने गरेका छन् ।

संघले आयोजना गर्ने विभिन्न खालका कार्यक्रममा कलाकारको न्यून उपस्थिती यसको उदाहरण हो । यसैले, कलाकार संघको नयाँ नेतृृत्वले कलाकारहरुको आकर्षण संघप्रति बढाउन आवश्यक छ । यो पटक संघको निर्वाचनका लागि कलाकार रविन्द्र खड्का र सरिता लामिछानेको भिडन्त हुँदैछ । कतिपयले यो भिडन्तलाई राजनीतिक आस्थाको भिडन्तको रुपमा हेरेका छन् भने कतिपयले इगोको । तर, दुबै अध्यक्ष कलाकार संघलाई राजनीतिबाट मुक्त राख्ने प्रतिवद्धता व्यक्त गर्छन् ।

चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका कलाकार रविन्द्र खड्काले आफ्नो एजेन्डा र उम्मेदवारीको बिषयमा यसो भनेः

मैले चलचित्र कलाकार संघमा उम्मेदवारी दिनुको कारण, मेरो आवश्यकता महशुश गरेर हो । म सर्वसम्मत गरेर जानुपर्छ भन्ने पक्षमा थिएँ । तर, यहाँ त नेकपालाई २ वटा, कांग्रेसलाई ३ वटा पदको कुरा पो आयो । म कलाकार संघमा राजनीति छिर्न हुँदैन भन्ने मान्यता राख्छु । यहीकारणले नै मैले उम्मेदवारी दिएको हुँ ।

रामकेशर बोगटीजीले भवन निर्माणलाई जोड दिनुभएको थियो । यसका लागि ५०–५५ लाख पनि जम्मा भैसकेको छ । मेरो मुख्य एजेन्डा नै भवन निर्माण हो । हामी कलाकार यही क्षेत्रमा आफ्नो उमेर बिताउँछौ । तर, भोली चलचित्र क्षेत्र छाडेपछि औषधी गर्न अरुको हात माग्नुपर्ने अवस्था छ । अब, यस्तो अवस्था आउनुहुदैन भन्ने मेरो मान्यता हो । हिजो, संस्थापक अध्यक्ष हुँदा मैले केही एजेन्डा लिएको थिएँ, तर त्यो बेलामा पुरा गर्न सकिनँ । आज मेरो सम्बन्ध कार्यान्वयन तहमा रहेका मानिसहरुसँग पनि छ । यसैले अहिले काम गर्न सहज हुन्छ भन्ने लागेको छ ।

म कलाकार संघमा हुँदा नै कलाकारको हाउजिङ हुनुपर्छ भन्ने योजनामा थिए । तर, मेरो कार्यकाल सकियो र काम गर्न पाइनँ । अब, कलाकारहरु बृद्ध भएपछि डेराको जिन्दगीबाट आफ्नै घर पाउनुपर्छ भन्ने योजना मेरो छ । कलाकार संघमा अहिले अनुशासनको पनि कमी छ । कलाकारविच समन्वय नै छैन । यसका लागि कलाकार संघले समन्वय गर्न सक्नुपथ्र्यो, त्यो सकेको छैन । जुनियरले सिनियरलाई वास्ता नै गर्न सकेका छैनन् । संघप्रति पनि कलाकारको माया घटेको छ । यो बिषयमा कदम चाल्न आवश्यक छ ।

म कलाकार संघमा कुनै पनि पार्टीको झन्डा राख्न हुँदैन भन्ने मान्यता राख्छु । मैले यति लामो समय यो क्षेत्रमा बिताउँदा पनि अरु व्यवसाय गरिनँ । चलचित्र क्षेत्रकै हक र हितका लागि काम गरेको छु । आज पनि म समाजसेवामा नै समर्पित छु । कतिपयले मलाई राजनीति गर्न लागेको भन्ने आरोप पनि लगाएका छन् । तर, म कलाकार संघको अध्यक्ष भएर संघलाई राजनीति मुक्त गर्न आएको हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment