
२० जेठ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले यातना दिएर घाइते बनाएको बताएको छ ।
पत्रकारलाई गाली गरेको आरोपमा जेठ १५ गते सुर्खेतको खुलामञ्चबाट पक्राउ परेका शाहीलाई प्रहरीले हिरासमा किटपिट गरी घाइते बनाएको खुलेको आयोगको दावी छ । प्रारम्भिक अनुगमनका क्रममा प्रहरीको कुटाइबाट शाहीको खुट्टामा चोट लागेको र उनलाई पक्राउ विनपूर्जी पक्राउ गरेको पाइएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
साथै, शाहीको प्रभावकारी स्वास्थ्य उपचार गर्न र घरपरिवारलाई भेटघाटको व्यवस्था मिलान आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । यातना दिएको उजुरी परेपछि आयोगले १७ गते घटनाको अनुगमन गरेको थियो ।
शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
ज्ञानेन्द्रले वैशाख १८ गते सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित नभएको भन्दै एक अन्तर्वार्तामा पत्रकारलाई गाली गरेका थिए । पत्रकारलाई तथानाम गाली गरेको भन्दै पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले शाहीविरूद्ध उजुरी गरेपछि प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो ।
तर, कर्णाली प्रदेश प्रहरी कार्यालयले भने सोमबार पत्रकार सम्मेलन गरी शाहीलाई हिरासतमै नराखेको दावी गरेको छ ।
प्रतिक्रिया 4