Comments Add Comment

मुख्यमन्त्री पृथ्वीसुब्बाको स्पष्टीकरणः फनपार्क पनि ‘इन्जोय जोन’ हो

२१ जेठ, पाेखरा । अव्यवस्थित रुपमा यौनधन्दा चलिरहेकाले त्यसलाई व्यवस्थित गराउन रेडलाइट एरियाको पनि बहस सुरु गर्नुपर्ने बताएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आलोचना चर्कियो । केही समयअघि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सरकारले इन्जोय जोन बनाउन लागेको र त्यहाँ यौन कर्मदेखि अन्य मनोरञ्जनात्मक गतिविधि हुने अभिव्यक्ति दिए ।

त्यतिमात्र होइन इन्जोय जोनको डीपीआर तयारी भइरहेको र प्रहरीसमेत छिर्न नपाउने गरी इन्जोय जोन बनाउने मन्त्री लम्सालले अभिव्यक्ति दिएपछि देशभर यो विषय भाइरल बन्यो । पर्यटनमन्त्री लम्साल र गण्डकी प्रदेशमाथि नै विभिन्न आलोचना र प्रश्न आउन थाल्यो । कहिले रेडलाइट एरिया त कहिले इन्जोय जोन बनाउन कुरा गरेको भन्दै संसदमै सरकारमाथि सांसदले प्रश्न उठाए ।

यस विषयमा सांसदहरुले जवाफ नै मागेपछि सोमबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङषले इन्जोय जोनका विषयमा स्पष्टीकरण दिएका छन् । मुख्यमन्त्री गुरुङ भन्छन्, ‘इन्जोय जोन भन्नेबित्तिकै नकरात्मक नसोचौं । त्यहाँ कानुनविपरीतका गतिविधि हुँदैनन् ।’

प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले इन्जोय जोनलगायतका विषयमा संसदमा जवाफ मागेका थिए । सरकारले जवाफ नदिएसम्म संसद् चल्न नदिने भन्दै आइतबार कांग्रेसले संसद नै अवरोध गरेको थियो । सोमबार मुख्यमन्त्री गुरुङले इन्जोय जोनमा कानुन वर्जित कुनै पनि कुरा नहुने प्रष्ट पारे ।

उनले इन्जोय जोनका प्रदेश सरकारले ९ करोड रुपैयाँ छुट्याएको कुरा असत्य भएको बताए । ‘उक्त रकम प्रदेशका मुख्य प्राथमिकताका योजना विशेषज्ञ अस्पताल, विश्वविद्यालय, सम्मेलन केन्द्र लगायतको सम्भाव्यता अध्ययन र डीपीआरका लागि छुट्याइएको हो,’ मुख्यमन्त्री गुरुङले भने ।

मुख्यमन्त्री गुरुङले इन्जोय जोन बनाउने तयारी सरकारले गरिरहेको कुरा भने स्वीकारे । तर, त्यहाँ कानुनले बर्जित गरेका कुनै पनि गतिविधि नहुने उनले स्पष्ट पारे ।

‘इन्जोय जोन भन्नेबित्तिकै हामी नकारात्मक पाटोलाई मात्रै हेर्दारहेछौं, के फनपार्क बनाउनु इन्जोय जोन होइन ? स्तरीय रेस्टुरेन्ट बनाउनु इन्जोय जोन होइन ?’ उनले भने, ‘पर्यटकलाई चाहिने सुविधा दिनु इन्जोय जोन होइन ?’

उनले पोखराकै आसपासमा पर्यटकलाई चाहिने र उनीहरुले खोज्ने सुविधाहरु एकैठाउँमा निर्माण गर्ने सुनाए । ‘तर कानुनले वर्जित गरेको कुरा त्यहाँ हुँदैन, गाँजाचरेसमात्रै होइन, अरु कुनै पनि कानुनविपरीत कुरा हुँदैन,’ मुख्यमन्त्रीले भने । इन्जोय जोनका नाममा यौन व्यवसाय खुला हुन्छ कि भन्ने शंका उनले मेटाइदिए ।

पर्यटकीय केन्द्र पोखरा लेकसाइडको हल्लनचोकदेखि पामेतिर, सराङकोटदेखि कास्कीकोटसम्म, कुभिन्डेदेखि मट्टिखानसम्म, ढिकीडाँडादेखि गल्र्याङसम्म वा रुपादेखि बेगनाससम्म बनाउन सकिने उनको भनाइ थियो ।

बास्केट बजेटलाई पोके बजेट भन्नु संसदीय शब्द नहुने मुख्यमन्त्रीले बताए । यद्यपि, प्रतिपक्षको आलोचना र टिकाटिप्पणीलाई आफूले स्वागत गर्ने उनको भनाइ थियो । ‘जस्तासुकै टिप्पणी आए पनि त्यसलाई ग्रहण गर्ने, आलोचनालाई मनन गर्ने, सुझावहरुलाई ग्रहण गर्ने गर्छु,’ उनले भने, ‘आलोचना नसुन्ने अधिनायकवादी हुन्छ ।’

कालीगण्डकी डाइभर्सनको प्रतिकार

मुख्यमन्त्री गुरुङले कालीगण्डकी डाइभर्सनको विपक्षमा सिंगो गण्डकी प्रदेश रहेको प्रष्ट्याए । केन्द्रिकृत सरकारको पालाको योजना गण्डकी प्रदेशलाई नसोधी बजेटमा राखिएको रहेछ, त्यसलाई हामी कार्यान्वयन हुन दिँदैनौं,’ उनले भने, ‘कुनै नेताको अहम् पूरा गर्न हामी सहादत हुनुपरेको छैन ।’ नदी डाइभर्सन गरिए कालीगण्डकी किनारको अहिलेको हरियाली पनि हराउने मुख्यमन्त्रीले बताए । देवघाट जस्तो पवित्र धार्मिकस्थलको अस्तित्व संकटमा पर्ने उनको भनाइ थियो ।

‘रुपन्देही र कपिलवस्तु सुख्खा भएर नेपालमा अनिकाल पर्छ भने छाडौंला, तर त्यस्तो हुँदैन’, उनले भने, ‘प्रदेश ५ कै तिनाउ व्यवस्थापन गरे हुन्छ, आफ्नै प्रदेशको राप्ती नदी डाइभर्सन गरे हुन्छ, अर्काको सम्पतिमा किन आँखा लगाउने ?’

मुख्यमन्त्री गुरुङले गुडफेथ राखेर काम गर्दा केही गल्ती कमजोरी भएको भए सच्याउन आफू तयारै रहेको सुनाए । ‘काम गर्नेबाटै गल्ती हुने हो, गल्ती गरेका हुन सक्छौं, हाम्रो गणतन्त्रविरुद्ध, हाम्रो संघीयताविरुद्ध गल्ती गरेका छौं भने सच्च्याउन प्रतिबद्ध छौं’, उनले भने, ‘ब्रह्मा, विष्णु, महेश्वरबाट त गल्ती हुन्छ, यो पृथ्वीसुब्बा गुरुङबाट पनि हुनसक्छ तर इन्टेन्सनल्ली गल्ती भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment