Comments Add Comment

गौरी, करिश्मा र रेखालाई साथमा राख्दै सरिताको प्रश्न–‘म गैह्र कलाकार कसरी ?’

जेठको २५ गते हुन लागेको चलचित्र कलाकार संघको साधारण सभामा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी कलाकार सरिता लामिछानेले आफ्नो एजेन्डा र गुनासो पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेकी छिन् । सरिताको पत्रकार सम्मेलनमा नायिकात्रय गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित थिए । तिनै जना नायिकाले महिला नेतृलाई साथ दिन आग्रह गरे ।

पत्रकार सम्मेलनमा सरिताले आफ्नो एजेन्डा भन्दा बढी आफूले उम्मेदवारी दिएपछि भोगेको पीडा प्रस्तुत गरिन् । २५ बर्ष भन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेपनि आफूलाई गैह्र कलाकारको आरोप लगाइएको बिषयमा उनले मन दुखेको बताइन् । सरिताको प्रश्न थियो–‘नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि मैले धेरै किसिमका धाकधम्की र वेइजती सहिरहनु परेको छ । अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।’

उनले आफूलाई गैह्र कलाकार भन्नेहरुलाई नै प्रश्न सोध्दै भनिन्–‘तीन बर्ष महासचिव म के हैसियतले भएँ ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ, म ती मुद्दावालाहरुलाई सोध्न चाहन्छु ।’

उनले चुनावमा हार वा जीत हुने भन्दै आफ्नो प्रतिस्पर्धा गर्न पाउने अधिकार कसैले पनि खोस्न नपाउने बताइन् । यस्तै, आफ्नो एजेन्डा सार्वजनिक गर्दै सरिताले चलचित्र कलाकार संघको आफ्नै भवन निर्माण गर्ने बताइन् । उनले भनिन्–‘मलाई भोलीका दिनमा काम नै गर्न दिइएन भने म पत्रकारहरुको अगाडि नै आएर माफी माग्नेछु । तर, मैले काम गर्ने वातावरण पाएको खण्डमा चलचित्र संघको आफ्नै भवन हुनेछ ।’

यस्तै, उनले चलचित्र क्षेत्रमा नयाँ र पुराना कलाकारलाई मिलाएर लैजाने पनि बताइन् । सरिताले कलाकारहरुका लागि पेन्सनको पहल गर्ने समेत एजेन्डा अगाडि सारेकी छिन् । सरितालाई साथ दिनका लागि आएकी नायिका गौरी मल्लले चलचित्र कलाकार संघमा यस्तो अवस्था आउनु आफैमा दुखद कुरा भएको बताइन् ।

नायिका करिश्मा मानन्धरले महिलो नेतृत्व कलाकार संघमा आउन लागेको भन्दै सबैलाई साथ दिन आग्रह गरिन् । उनले भनिन्–‘सरिता लामिछाने कलाकार हुन् या होइनन् भनेर कसैले भनिराख्न पर्दैन । कोही व्यक्ति म कुनै संस्थाको नेतृत्व गर्छु भनेर आउँछ भने त्यसमा साथ दिन पर्छ । यो मैले पनि गर्न सकिनँ र अहिलेका कलाकारले पनि गर्न सक्दैनन् ।’

नायिका रेखा थापाले चलचित्र क्षेत्रमा महिलामाथि विभेद भएको भन्दै यसका लागि महिला नेतृत्व आउनपर्ने बताइन् । जेठ २५ गते आयोजना हुन लागेको चलचित्र कलाकार संघको निर्वाचनमा सरिताको प्रत्याशी उम्मेदवारको रुपमा कलाकार रविन्द्र खड्का छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment