Comments Add Comment

छापामा आज : मन्त्रालयकै सहमतिमा कतार रोजगारीमा एक्लो सिन्डिकेट

२२ जेठ, काठमाडौं । केन्द्रीय सदस्यको जिम्मेवारीलाई लिएर नेकपामा देखिएको विवाद, प्रदेशको विकास खर्च, कतार रोजगारीमा देखिएको समस्या, सार्वजनिक जग्गा अतिक्रमण आजका दैनिक पत्रिकाको प्राथमिकतामा परेको छ ।

धनुषामा एक किशोरीलाई ३ महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरिएको गम्भीर विषयलाई आज अन्नपूर्णले मुख्य समाचारका रुपमा छापेको छ । धनुषा बटेश्वरकी कक्षा ९ मा अध्ययनरत दलित किशोरीलाई ३ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरिएको हो ।

समाचार अनुसार, बहिनीसँग खेतबाट घर फर्कंदै गरेकी उनलाई मोटरसाइकलमा आएका ३ जनाले गत फागुन ११ गते नशालु पदार्थ सुँघाएर बेहोस बनाएका थिए । किशोरीले दिएको बयानअनुसार उक्त समूहले उनलाई भारतको मझपरपुर पुर्याएको थियो ।

अन्नपूर्णका अनुसार, जेठ ५ गते उनी त्यो चंगुलबाट उम्केर जनकपुर आउन सफल भएकी छन् । अहिले उनी जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेकी छन् । उनी राम्ररी बोल्न र हिँड्न सक्दिनन् ।

कतार रोजगारीमा एकल सिन्डिकेट रहेको अर्को खबर पनि अन्नपूर्णमा छ ।

अन्नपूर्ण लेख्छ– सिन्डिकेट भन्दै श्रम मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी रोकेको छ । त्यसको समाधान ननिस्किँदै मन्त्रालयकै सहमतिमा कतार रोजगारीमा एक्लो सिन्डिकेट सुरु भएको छ ।’

समाचार अनुसार, कतार भिसा सेन्टर नाममा सम्पूर्ण काम बिनाप्रतिस्पर्धा एउटा मात्रै संस्थालाई दिइएको छ । अब कतार जाने कामदारका लागि भिसा र त्यसअघिका प्रक्रियामा १४ हजार रुपैयाँ थप आर्थिक भार पर्नेछ । तर त्यो कसले तिर्ने भन्ने अन्योल छ ।

‘कतार भिसा सेन्टरले थम्ब प्रिन्ट, बायोमेट्रिक डाटा, स्वास्थ्य परीक्षण, करार प्रमाणीकरण, भिसा प्रोसेसलगायतका सबै काम गर्नेछ । मलेसियाका हकमा यस्तै काम गर्दै आएका संस्थालाई गत वर्षको सुरुमा सरकारले धरपकड गरी मुद्दा चलाएको थियो’, अन्नपूर्णले समाचारमा लेखेको छ ।

विप्लवले सोलुखुम्बुमा सञ्चालन गरेको भनिएको तालिम केन्द्र खोज्न प्रहरी परिचालन भएको खबर पनि अन्नपूर्णमा छ । प्रहरीले त्यसको खोजी थाले पनि अहिलेसम्म फेला पार्न नसकेको अन्नपूर्ण समाचारमा लेखिएको छ ।

कान्तिपुरले गुठी कानून संशोधन विधेयकबारे चासो राखेको छ । कान्तिपुरका अनुसार, देवीदेवता तथा गुठीका नाममा रहेका जग्गा संरक्षण गर्ने गरी विधेयक ल्याउनुपर्ने भए पनि ठीक उल्टो गरी ल्याइएको छ । जसले देवीदेवताका नाममा देशभर रहेको ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठीका जग्गा हडप्ने चलखेल बढेको कान्तिपुर समाचारको सार छ ।

परापूर्वकालदेखि चलिखाएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी कानून संशोधन गर्न लागेको भन्दै सरोकारवालाले पनि आपत्ति जनाएका छन् । सरकारले संसदमा दर्ता गराएको गुठीसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्वमा नै मेटिन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

कान्तिपुरले यही समाचारमा जोडेर रुपन्देहीको सियारी गाउँपालिकाले विश्वप्रकाश प्रतिष्ठान नामक गैरसरकारी संस्थालाई सामूदायिक वन दिएको लेखेको छ । त्यस्तै काभ्रेमा जग्गा दलालले सडकै बिक्री गरेको खबर पनि कान्तिपुरमा छ ।

नयाँ पत्रिकाले प्रदेश सरकारको विकास खर्चबारे चियोचर्चो गरेको छ । नयाँ पत्रिकाका अनुसार, प्रदेशको विकास खर्च निराशाजनक छ । आर्थिक वर्षको अन्त्यमा आइपुग्दा प्रदेशहरुले मात्रै १७.०७ प्रतिशत मात्रै विकास खर्च गर्न सकेका छन् । आर्थिक वर्षको नौ महिनामा सबैभन्दा कम कर्णालीमा ७.६७ प्रतिशत खर्च भएको छ । सुदूरपश्चिम प्रदेशले भने सबैभन्दा बढी खर्च गरेको छ । उसले २२.८६ प्रतिशत खर्च गरेको नयाँ पत्रिका समाचारमा उल्लेख छ ।

सरकारका सचिवहरुको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्ष बनाउने प्रस्ताव गरिएकोसम्बन्धी खबर पनि नयाँ पत्रिकामा छ । समाचार अनुसार संसदमा विचाराधीन संघीय निजामती सेवा ऐनको विधेयकमा सचिवको कार्यकाल २ वर्ष घटाउन संशोधन प्रस्ताव आएको हो ।

नागरिकले नारकीय जीवन बिताउन अभिशप्त रोल्पाकी पूर्व माओवादी लडाकुबारे समाचार बनाएको छ । त्यस्तै, नेकपाको सचिवालय बैठकमा शीर्ष नेताहरुबीच केन्द्रीय सदस्यको कार्यविभाजनलाई लिएर विवाद भएको खबर पनि नागरिकले आज छापेको छ । नागरिकका अनुसार माधव नेपालसहितका केही नेता दोहोरो जिम्मेवारीको विपक्षमा उभिएपछि सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

१९ औं वार्षिकोत्सवको अवसरमा ४८ पृष्ठको विशेषांक प्रकाशित गरेको राजधानीले पनि नेकपाका शीर्ष नेताबीच मापदण्डमै विवाद भएकोलाई मुख्य समाचार बनाएको छ ।

गोरखापत्रले भमरा लोप हुँदै जाँदा बालीनालीमा संकट उत्पन्न भएको लेखेको छ भने कारोबारमागौतम बुद्ध विमानस्थलको म्याद थप्न लबिङ भएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment